विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन T2T(TIMURE TO TRIVENI) Operation संचालन
२०८३-०५-२६
- A
- A-
- A+
काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीमा उद्दार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन नेपाल प्रहरीले T2T(TIMURE TO TRIVENI) Operation संचलानमा ल्याएको छ । प्रभावित क्षेत्रहरूमा खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउँदै व्यापक एवम् व्यवस्थित खोजतलास अभियान चलाउन नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रद्वारा सम्बन्धित बाढी प्रभावित जिल्लाहरूमा पत्राचार गरिएको छ ।
T2T अप्रेशनमा खोज तथा उद्दारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डिएनए प्रोफाइलिङ एवम् ट्राफिक व्यवस्थापन जस्ता विषयहरूलाई प्राथमिकता दिई कार्य गर्न नेपाल प्रहरी अग्रसर भई लागि परेको छ ।
बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रका विभिन्न स्थानहरूमा बगाई वा हराई रहेका मानिस जिवित हुनसक्ने संभावनालाई विशेष प्राथमिकतामा राखेर उद्दार तथा खोजी कार्य गर्न पत्राचार गरिएको छ । मृतकको शव वा शरिरका अंग फेला परेको अवस्थामा आवश्यक मुचुल्का लगायतका कानुनी प्रकृयहरू पूरा गरी शवको उचित व्यवस्थापन गर्न, प्रभावित क्षेत्रहरूमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजातहरू फेला परेको अवस्थामा आवश्यक प्रकृयाहरू पूरा गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नेतर्फ समेत परिचालित हुन पत्राचार गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहन्छ, ‘बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ । कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवम् केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ । प्रहरीले T2T अप्रेशन संचालन गरी खोजी कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ ।’
बाढी प्रभावित विभिन्न जिल्लाहरूमा T2T अप्रेशन अन्तर्गत प्रहरी परिचालन
बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रहरूमा T2T अप्रेशन अन्तर्गत प्रहरीले सक्रियता बढाएको छ ।
प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्य, शव संकलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोष्टमार्टम, फोटो मोनिटरमा देखाई शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङको लागि नमुना संकलन, आवश्यक कानुनी प्रकृया पूरा गरी जमिन मुनि शवलाई सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियाताका साथ कार्य गरिरहेको छ । भौगोलिक विकटकताका कारण उद्दारकर्ता एवम् केनाइन समेत पुग्न नसक्ने स्थानहरूमा ड्रोनको प्रयोग गरी खोजी कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउँदै अन्य निकायसँग समन्वय र सहकार्यमा खोज कार्यलाई तीव्रता दिएको छ । अवरोध भएका सडक मार्गहरू खुलाउन एवम् सडक मार्ग नभएका स्थानहरूमा तुईन मार्फत सर्वसाधरणलाई सुरक्षित आवतजावतमा सहजीकरण समेत गरिएको छ ।
प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, आपतकालीन रक्तदान कार्यक्रम संचालन, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ गर्न सामुदायिक प्रहरी क्रियाशील छ ।
बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय समुदाय विषेश गरी युवा, जनप्रतिनिधि, महिला तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै T2T अप्रेशनलाई प्रभावकारी बनाउन विशेष जोड दिइएको छ ।