बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा विधि विज्ञान प्रयोगशाला सञ्चालन
२०८३-०६-२०
- A
- A-
- A+
मकवानपुर, बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापित नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । यो नेपाल प्रहरीको चौथो विधि विज्ञान प्रयोगशाला हो । काठमाडौं, धरान र नेपालगंजमा समेत नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाहरू रहेका छन् । अपराध अनुसन्धानलाई छिटो, छरितो, वैज्ञानिक, विश्वसनीय र प्रमाणमुखी बनाउन उक्त प्रयोगशाला भदौ २२ गते देखि सञ्चालनमा आएको हो ।
यस प्रयोगशालामा लागूऔषध परीक्षणका साथै बायोलोजी, सिरोलोजी र डीएनएका नमुना परीक्षणहरू समेत सुरू गरिएको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै हाल सम्म विभिन्न घटनाबाट संकलित १ सय ५० वटा भन्दा बढी नमुनाहरूको परीक्षण गरिएको छ । भोटेकोशी बाढीसँग सम्बन्धित १५ वटा नमुनाहरूको परीक्षण गरी प्रतिवेदन समेत तयार गरिएको छ । लागूऔषधको हकमा अधिकतम १० दिनभित्र परीक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने कार्यतालिका बनाइएको छ । प्रयोगशालामा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुली तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही जिल्लाहरूबाट शव पहिचान तथा अन्य फरेन्सिक परीक्षणका लागि नमुनाहरू प्राप्त हुन्छन् ।
अपराध अनुसन्धानमा प्रमाणको सुरक्षित व्यवस्थापन तथा वैज्ञानिक परीक्षणसँगै अपराधसँग सम्बन्धित तथ्यको विश्लेषणमा प्रयोगशालाले विशेष भूमिका निर्वाह गर्दछ । वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणले अनुसन्धानलाई थप विश्वसनीय बनाउन तथा अदालतमा बलियो प्रमाण प्रस्तुत गर्ने प्रक्रियामा समेत मद्दत गर्दछ ।