प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८-१२-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-५ लाटेबोटडाँडा ठेगाना भएका ३३ वर्षीय बज्र सिंह लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ चैत १ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

सम्बन्धित समाचार
हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-२४

मोरङ, आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंक बहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंक बहादुरलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा टंक बहादुरले आपसी झै-झगडा तथा रिसिवीको कारण हसियाको बिड प्रहार गरी टिकामायाको हत्या गरेको खुल्न आएको छ ।  उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-५ घर भएका ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ घर भएका ५४ वर्षीय स्वर्णिम कुमार बाँठा रहेका छन् ।   पक्राउ मध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रूपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिङमाडुण्डुलाई काठमाडौं महानगरपालिका-६ बाट र स्वर्णमलाई दाङ तुलसीपुर उपमहानगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

चेक अनदार मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२४

काठमाडौं, चेक अनादर मुद्दाका २ जना फरार प्रतिवदीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-६ सुदर्शन हाइट बस्ने गोरखा शहिद लखन गाउँपालिका-१ घर भएका ४० वर्षीय रोलक भट्ट र गुल्मी मुसिकोट नगरपालिका-१ घर भएकी २९ वर्षीया कोपिला खत्री रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरको २०८१ वैशाख १८ गते उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रोलक र सोही अदालतको २०८१ भदौ १६ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेकी कोपिलालाई काठमाडौं सुदर्शन हाइटबाट पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ४९ वर्षीय अमित लाल जोशी र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने धादिङ धुनीबेशी नगरपालिका-२ घर भएका ४६ वर्षीय मधुकर लुईटेल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट सोमबार पक्राउ गरेको       हो । साथै सोही मुद्दामा फरार रहेका मधुकरलाई काठमाडौं महानगरपालिका-२७ बाट आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये अमितलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त जनसेवा र मधुकरलाई प्रहरी वृत्त गौशाला पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२३

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी धौलागिरी गाउँपालिका-३ बस्ने ५० वर्षीय दुर्गा नारायण बुढा र ४९ वर्षीय पर्स बहादुर बुढा रहेका छन् ।  जिल्ला अदालत म्याग्दीको २०५९ फागुन २५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका पर्स बहादुर र सोही अदालतको २०६६ असोज २६ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका दुर्गा नारायणलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-१ बाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भएका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-३ घर भएका २९ वर्षीय उत्तम खड्का रहेका छन् ।  पक्राउ मध्ये लामाले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रूपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौं महानगरपालिका-१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट आइतबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।