प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन

२०७९-०१-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका चार जना प्रहरी नायव महानिरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७९ वैशाख ८ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । 

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताउनुभयो । आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई उहाँले निर्देशन दिनुभयो । 

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले संगठनमा आवद्ध सदस्यहरू मार्फत भाइचारा र सहयोगात्मक भावनालाई बढाउँदै संगठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै उत्कृष्ट ढंगले जिम्मेवारी वहन गर्नुपर्ने - निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई
२०८१-०६-०९

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्दै उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिनुभएको हो ।निमित्त प्रहरी महानिरीक्षक राईले आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नागरिकको भरोसा जित्ने गरी कार्य गर्नुपर्ने बताउँदै निष्ठावान, इमानदार एवम् सिर्जनशील भई काम गर्न उहाँले निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी र नेपाल प्रहरी केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । 

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्नुपर्ने - निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई
२०८१-०६-०८

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा मंगलबार ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिनुभएको हो ।निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू संचालन गर्न एवम् आ-आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणको लागि थप सक्रिय भई कार्य गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान
२०८१-०६-०७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ । मित्रराष्ट्र ग्रीसको एथेन्समा U.S Drug Enforcement Administration को आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं International Drug Enforcement Conference मा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुनु हुनेछ ।  उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ । 

भरपर्दो सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुपर्ने - प्रहरी महानिरीक्षक कुँवर
२०८१-०५-३१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै अपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी भरपर्दो सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।    नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण, जनशक्तिको तयारी, श्रोत साधन, असबाबहरूको तयारी, अन्य सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । विशेष गरी चाडपर्वको अवसरमा सवारी दुर्घटना जस्तो दुःखदायी घटना हुन नदिन ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना निर्माण गरी अनिवार्य रूपमा कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले तस्करहरूसँग साठगाँठ कुनै हालतमा स्वीकार्य र क्षम्य नहुने उल्लेख गर्दै चोरी, निकासी पैठारी नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष र प्रभावकारी हुनुपर्ने बताउनुभयो । सीमा क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने उहाँले बताउनुभयो । सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गलाई प्राथमिकतामा राखेर नागरिक सुनुवाइ तथा गुनासो सम्बोधनमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रहरी कर्मचारीहरू सहनशील भई आचरण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
२०८१-०५-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गर्नुभयो । अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा गर्नुभएको अतुलनीय योगदानको उहाँले चर्चा गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवा निवृत्त जीवन पश्चात पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली भदौ २६ गतेबाट सेवा निवृत्त हुन लाग्नु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०५-२३

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इमानदारीता, पारदर्शीता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक शुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउनुका साथै उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।