प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लुकाई छिपाई अवैध रुपमा लैजान लागेको सुन सहित ५ जना पक्राउ

२०७९-०१-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, लुकाई छिपाई अवैध रुपमा लैजान लागेको २ किलो ३ सय ३२ ग्राम सुन सहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पाँचथर याङवरक गाउँपालिका-४ स्थायी वतन भएका २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका-५ स्थायी वतन भएका २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका-२ स्थायी वतन भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ स्थायी वतन भएका ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरुङ्गा नगरपालिका-४ स्थायी वतन भएका ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन् । 

दुबईबाट काठमाडौं आएको हिमालय एयरको बिमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत सरसफाई गर्न खटिएका भिम कुमारले विमानको शौचालयभित्रबाट फोहरसँगै सुनको विस्कुटहरु बाहिर ल्याई उनीसँगै काम गर्ने सुमनसँग बाँडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने क्रममा भिम कुमारको पर्सभित्र १० थान र सुमनको पर्सभित्र १० थान गरी उक्त तौल बराबरको सुन बरामद भएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले राजेशले भने बमोजिम उक्त कार्य गरेको खुल्न आएपछि राजेशलाई समेत विमानस्थलको आन्तरिक पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । साथै राजेशलाई दुबईमा बस्ने रमेश उप्रेती भन्ने व्यक्तिले सुन पठाउने गरेको र उक्त सुन राजेशले भिम कुमार मार्फत संकलन गरी ट्याक्सी चालक हेम बहादुरलाई जिम्मा लगाउने गरेको खुल्न आएपछि हेम बहादुरलाई समेत विमानस्थल नजिकबाट प्रहरीले पक्राउ गरेको हो । हेम बहादुरले उक्त सुन राजेशबाट लिएर रमेश उप्रेतीले भने बमोजिमको हुलिया भएको व्यक्तिलाई बुझाउने गरेको र सो बापत उनीहरूले केही रकम पाउँदै आएको खुल्न आएको छ । 

            साथै, सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत विमानभित्र सरसफाई गर्ने/गराउने भनी सुपरभाईजरको रुपमा खटिएका ताराकान्त चौधरीको समेत मिलेमतोमा भिम कुमार र सुमनले अनुकूल वातावरण मिलाई गैह्रकानूनी रुपमा सुन चोरी पैठारी गर्दै आएको खुल्न आएको छ । 

उनीहरूलाई बरामद सुन सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

सम्बन्धित समाचार
सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-०३-२०

काठमाडौं, सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाउँ बस्ने चितवन भरतपुर महानगरपालिका-१० घर भएका ३३ वर्षीय गुञ्जन राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा पीडितको तस्विर/भिडियोको साथमा विभिन्न स्ट्याटसहरू पोष्ट गरी चरित्रहत्या हुने कमेन्टहरू समेत गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई ललितपुर बाँडेगाउँबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
२०८२-०३-१९

काठमाडौं, गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर, ललितपुर महानगरपालिका-४ दमकल चोकस्थित एक घर भाडामा लिई SOCIAL SOFTWARE DEVELOPMENT COMPANY PVT.LTD  दर्ता गरी गैर कानूनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप संचालन गरिरहेको र सोको शाखाको रूपमा काठमाडौं महानगरपालिका-१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एप मार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रूपैयाँ, ल्यापटप ७ थान र मोबाइल ५४ थान समेत बरामद गरेको छ । पक्राउ मध्ये ६ जना चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्रा सम्बन्धी मुद्धा दर्ता गरी अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-१९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-१० स्युचाटर बस्ने सिन्धुली दुधौली नगरपालिका-३ घर भएका ३० वर्षीय बिक्रम चौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०८० जेठ २ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद, ६ लाख १० हजार रूपैयाँ जरिवाना र क्षतिपुर्ती बापत २० हजार ४ सय रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-१० स्युचाटारबाट पक्राउ गरेको हो ।   उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललिपतुर महानगरपालिका-२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  प्रभाषले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ एकान्तकुनाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।