प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

२०७९-०१-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं,  तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हार्दिक बिदाइ गर्नुभएको हो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार प्रकट गर्दै कोभिड-१९ को विषम परिस्थितिमा पनि आम नागरिकको सेवामा सदैव क्रियाशील रही गरेको उच्च  कार्यसम्पादनको प्रशंसा गर्नुभयो ।  संगठनमा सुधार तथा हितको लागि गरिएको प्रयासहरूमा सबैको सहयोग प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनियुक्त प्रहरी महानिरीक्षकले पनि संगठनको श्रीवृद्धिका लागि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो । सेवा निवृत्तपछि पनि संगठनप्रति सदैव सकारात्मक सोच रहने उल्लेख गर्दै संगठन हितको लागि सदैव क्रियाशील हुने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । 

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । उहाँहरूले चालेका रणनीतिक कदमहरूले नेपाल प्रहरीको आधुनिकीकरण, अपराध अनुसन्धानमा बैज्ञानिकीकरण, प्रहरी क्षमताको विकास, प्रशासनिक स्वच्छता, आर्थिक पारदर्शिता, बहालवाला तथा पूर्व र अमर तथा अशक्त प्रहरी एवम् उनीहरुका आश्रित परिवारहरूको कल्याण, इतिहासको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भई नेपाल प्रहरीको संस्थागत विकासमा दूरगामी प्रभाव पार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरुको व्यावसायिकता, नैतिकता, इमानदारिता र अविचलित रूपमा कर्तव्यपथमा लागि रहने क्षमता हाम्रा सामु स्पष्ट रहेको चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले संगठनमा बहाल रहँदा र  सेवा निवृत्त भएपछि पनि संगठनको सफलता र गरिमा हामी सबैको गर्वको बिषय हुने तथा संस्थागत हितका लागि आगामी दिनमा उहाँहरूको सल्लाह र सुझावको अपेक्षा रहने बताउनुभयो । 

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापालाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती कुसुमलता सिंहले सम्मान गर्नुभयो ।  

  प्रहरी महानिरीक्षक थापा क्षेत्रीसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरु समेत गरी १९ जना रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हार्दिक बिदाइ गर्नुभएको थियो ।



सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१७

बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१२ बस्ने ३४ वर्षीय भिम बहादुर तामाङ र १७ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, बिजयनगर गाउँपालिका-१ गुगौलीबाट सोही गाउँपालिका-२ पडेरीया बस्ने २२ वर्षीय राम अजोर यादवलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका राम अजोरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध १ सय २२ ट्याब्लेट नाईट्राभेट र १ सय ३० मिलिग्राम लागूऔषध खैरो हेटोईन जस्तो देखिने पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१७

धनुषा, जनकपुर उपमहानगरपालिका-९ थापा चोकबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु र १ ग्राम ३ सय ७० मिलिग्राम अवैध लागूऔषध चुना जस्तो देखिने पदार्थ सहित सप्तरी खडक नगरपालिका-८ बस्ने २४ वर्षीया रजनी कुमारी चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बोकी केही मानिसहरू हिँडिरहेको सूचानाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीसँगै रहेका सिरहा मिर्चैया नगरपालिका-२ बस्ने ३० वर्षीय मो.आरिफ हुसेनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट ७ ग्राम १ सय ३५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित काभ्रे खानिखोला गाउँपालिका-२ बस्ने २५ वर्षीय कृष्ण थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३-०१-००५ ख ९६५४ नम्बरको हाईसमा सवार उनलाई  जाँच गर्ने क्रममा चुरोटको खाली बट्टाभित्र ल्याएको उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०७९-०३-१७

कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाइडस्थित भर्जु ईन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँ नगद सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी४४८७०८७ यीन यिङ्बो सहित ४ जना रहेका छन् । उक्त होटलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट उनीहरूको ४ थान मोबाईल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाईल फोन समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गर्ने पक्राउ
२०७९-०३-१७

काठमाडौं, सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा मकवानपुर हेडौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई पीडितको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको   हो ।  उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।