प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टलाई निलम्बन गरिएको

२०७९-०१-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने किसिमको कार्य गरेको बुझिन आई प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी/दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम निज उपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णय अनुसार ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्मचारी प्रशासन शाखाले जनाएको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-०८

बाँके, नेपालगंज उपमहानगरपालिका-२० स्थित सडकबाट जानकी गाउँपालिका-६ बस्ने २१ वर्षीय चेत राम सोनीलाई करिब १ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले चेत रामलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, राक्सिराङ गाउँपालिका-५ घिउखानीस्थित सडकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिजय थिङलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ
२०७९-०२-०७

कैलाली, धनगढी उपमहानगरपालिका-२ बयाबेहडीबाट करिब २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय शंकर चौधरी, सोही उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय राजा भगत रहेका छन । शंकास्पद अवस्थामा पदैल हिँडिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय पंकज चौधरीबाट खरिद गरी लाएको खुलेपछि पंकजको घर जाँच गर्दा थप ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।हाल फरार रहका पंकजको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०७९-०२-०६

काठमाडौं, बुढानिलकण्‍ठ नगरपालिका-१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वु लगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र कौडा ६९ थान सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी तारकेश्वर नगरपालिका-५ लोलाङ्ग धितालथोक बस्ने २५ वर्षीया गिता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहाल सहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ६० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ
२०७९-०२-०६

तनहुँ, व्यास नगरपालिका-३ बिसघरे बस्ने ५४ वर्षीय दिल बहादुर सारुलाई फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा उनकै सालो नाता पर्ने सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय बिनोद थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  थापाले एक्कासी फलामको रडले टाउको समेतमा प्रहार गर्दा दिल बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई समाधान अस्पताल दमौली हुदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ
२०७९-०२-०६

तनहुँ, सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुल्न आएपश्चात उनकै पसलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत प्रहरीले बरामद गरेको छ ।  उनी उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।