प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट कार्यालय निरीक्षण

२०७९-०३-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको शुक्रबार निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले कार्य विभाग र अपराध अनुसन्धान विभाग तथा मातहत निर्देशनालय, महाशाखा, सशस्त्र प्रहरी गण नम्बर १, केन्द्रीय प्रहरी विशेष कार्यदल, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर लगायतका कार्यालयहरूको निरीक्षण गर्नुभएको हो ।  

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रत्येक कार्यालयको गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिनुभयो । साथै उहाँले प्रत्येक कार्यालयहरूको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनका लागि आवश्यक  सुझाव समेत दिनुभएको थियो । 

निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक सिंहलाई सम्बन्धित विभाग, महाशाखा लगायतमा कार्यरत प्रहरी कर्मचारीहरुले आ-आफ्नो कार्यालयको काम एवं गतिविधिबारे जानकारी गराउनुभएको थियो । 

निरीक्षणका क्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी लगायत वरिष्ठ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । 


सम्बन्धित समाचार
लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ
२०८२-०३-१२

ललितपुर, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।  सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आज शुभारम्भ भएको यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको   थियो । 

मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८२-०३-०८

काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोग पुल्चोक ललितपुरको आयोजनामा “मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया” कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा आइतबार सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले नेपाल प्रहरी शान्ति सुरक्षा अमन चयन कायम गर्ने तथा अपराध अनुसन्धान गर्ने पहिलो निकायको रूपमा रहेको चर्चा गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धन गरी प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताउनुभयो । प्रहरी सेवा समयसापेक्ष र पीडितमैत्री हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।   कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष हरि दत्त जोशी, मधेशी आयोगका कार्यबाहक अध्यक्ष जीवछ साह, थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारू, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सूर्य प्रसाद शर्मा ढुंगेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, मुस्लिम आयोगका सदस्य महोम्मद समशुल हक, आदिवासी जनजाती आयोगका सदस्य रीना राना, राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्की, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारिप्रसाद खरेलले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरी नेपालको संविधान, विभिन्न ऐन कानून, अन्तर्राष्ट्रिय कानून र दस्ताबेजको पूर्ण पालना गर्दै शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न पहिलो पंक्तिमा रहेर अहोरात्र खटिँदै आइरहेको बताउनुभयो । मानव अधिकारको संरक्षण, सम्वर्द्धन र सम्मान सहित अगाडि बढ्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्दै कार्यक्रमबाट प्राप्त सुझावलाई पालना गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले आधारभूत तालिम र विभिन्न अनुशिक्षण तालिमको पाठ्यक्रममा समावेश गरी प्रहरी कर्मचारीहरूलाई समयसापेक्ष मानव अधिकार सम्बन्धी प्रशिक्षण दिँदै आइरहेको बताउनुभयो । साथै भिड व्यवस्थापनमा नेपाल सरकारसँग समन्वय गरेर आधुनिक उपकरण तथा सामग्रीहरूको प्रयोग गर्नुका साथै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्यसम्पादन गरिरहेको उहाँले बताउनुभयो ।   राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्माले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले मानव अधिकार, महिला, दलित र संवेदनशीलवर्ग, समुदायको अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरीले गरेका प्रयासहरूका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रभावकारी समन्वय र सहकार्य, लैंगिक/घरेलु हिंसा र दाइजो प्रथा, छउपडी प्रथा, बाल विवाह, छुवाछुत(जातीय भेदभाव) अन्त्यका लागी सामूहिक पहल, अनुसन्धानका विषयमा पीडित, शंकित वा समुदाय लक्षित व्यक्तिगत सूचनाहरू सम्प्रेषित हुने गरेका, हिरासत कक्ष भित्रको आत्महत्या, जाहरी दर्खास्त दर्ता, अधिकारकर्मी र मिडियाकर्मी माथी आक्रमण लगायतका विषयहरूमा छलफल भएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिवहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

पूर्णव्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-२९

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सम्पादित कार्यले संगठनको साख बढ्ने चर्चा गर्दै पूर्णव्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, लेखा शाखा, सूचना संकलन शाखा लगायत अन्य शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले जटिल र गहन प्रकृतिका अपराधका साथै प्रविधिजन्य अपराधहरू चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै भरपर्दो सूचना संकलन, विश्लेषण, उपलब्ध जनशक्ति तथा स्रोतसाधनहरूको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले ब्यूरोबाट विगतमा भएका सफल अनुसन्धानहरू प्रशंसनीय रहेको चर्चा गर्दै बदलिँदो परिपेक्षमा  अपराध अनुसन्धानको क्षेत्रमा देखिएका जटिलताहरूको सामना गर्न प्रहरी कर्मचारीहरूले आफूलाई परिष्कृत र परिमार्जित गर्दै उच्च समर्पण भाव र सामूहिक भावनाका साथ इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । साथै ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीको वृत्ति विकास र ब्यूरोलाई थप आधुनिकीकरण तथा स्रोतसाधन सम्पन्न बनाउन संगठन सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।   केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुवेर खापुङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले ब्यूरोको पृष्ठभूमि, स्थापनाको उद्देश्य, कार्यनीति, व्यवस्थापन/प्रशासन, नीति निर्देशन कार्यान्वयन, महत्वपूर्ण मुद्दाहरूको अनुसन्धान विवरण, अनुसन्धानको क्रममा देखिएका कानूनी समस्याहरू, जटिल एवम् प्रविधिजन्य अपराधहरू, समस्या तथा चुनौतिहरू, भावी योजना, तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

उच्च मनोबलका साथ अब्बल र सेवाग्राहीमैत्री सेवामा कटिबद्ध हुनुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण र चुनौतिपूर्ण सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ अब्बल र सेवाग्राहीमैत्री सेवामा कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज भवनमा रहेका शैक्षिक कार्यक्रम स्थानको अवलोकन गर्नुका साथै ईमरजेन्सी डिपार्टमेन्ट, विभिन्न विभागहरू, वार्डहरू, फार्मेसी लगायत विभिन्न यूनिटहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो । सोही अवसरमा उहाँले विरामी उपचार काजमा आएका बिरामीहरूसँग अन्तरक्रिया समेत गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहार र सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँचको वातावरण निर्माण गर्दै कार्यसम्पदान गर्नुपर्न बताउनुभयो । कोभिड-१९ जस्तो महामारी र अन्य विषम परिस्थितिहरूमा विभिन्न कठिनाईहरूको सामना गर्दै निरन्तर रूपमा स्वास्थ्य सेवा प्रवाहमा अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै दूरदराज सम्म फैलिएर नागरिक सेवामा समर्पित नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, आश्रित परिवारजन र आमनागरिकको उपचारमा विगतका कमजोरीहरूलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।    प्रहरी महानिरीक्षक थापाले भौतिक र प्राविधिक रूपमा अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको र त्यसको लागि आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको बताउनुभयो । अस्पतालका सेवाहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न संस्थाहरूसँग भएका समझदारीहरूलाई निरन्तरता दिई सुधारका नयाँ क्षेत्रहरूको पहिचान गरी ठोस योजना बनाएर नेपाल प्रहरी अस्पतालको विकास एवम् बिस्तारमा लाग्न तथा मनसुनजन्य विपद् र अन्य प्रकोपको उद्दारका लागि तयारी हालतमा रहन उहाँले निर्देशन समेत दिनुभयो । अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सोही अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको पृष्ठभूमि, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा तथा सेवाग्राहीहरूको विवरण, उपकरण र नयाँ प्रविधिको प्रयोग, विभिन्न निकायसँगको समन्वय, कल्याण कोष सम्बन्धी जानकारी, कार्यान्वयनमा रहेका नीतिगत निर्णयहरू, कर्मचारी लक्षित कार्यक्रमहरू, समस्या तथा चुनौतिहरू र भावी कार्ययोजना लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दिपक थापाद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण
२०८२-०२-२६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सोमबार निरीक्षण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।  निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई काम गर्नुपर्ने बताउनुभयो । उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप क्रियाशील हुनपर्ने बताउँदै हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी विगतमा देखिएका कमीकमजोरीलाई मनन गर्दै भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।   प्रहरी महानिरीक्षक थापाले संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै सभ्य बोलीवचन, शिष्ट व्यवहार र सामुहिक भावनाका साथ व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो ।   काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमा सोही कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले मानवश्रोत व्यवस्थापन, कार्यालय व्यवस्थापन, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट गरिएका प्रयासहरू, सृजनशील कार्य, समस्या र चुनौतिहरू, आगामी कार्य दिशा/योजनाहरू र तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन
२०८२-०२-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित कार्यक्रमबीच १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन सम्पन्न भएको छ ।   सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नागरिकबाट कुशल प्रहरी अधिकृतको रूपमा संगठन तथा राष्ट्रको लागि महत्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रूपान्तरण गरी व्यावसायिक प्रहरी बनाउने कठिन यस तालिमलाई अनुशासित, मर्यादित, लगनशील र धैर्यवान भई उच्च मनोबलका साथ हासिल गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको बद्लिँदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतिपूर्ण रहेको बताउँदै उहाँले तालिमको अवधिमा सिकाइने ज्ञान सीप र कौशलले व्यावसायिक प्रहरी जीवनमा आइपर्ने जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्न प्रभावकारी हुने चर्चा गर्नुभयो । सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । साथै प्रहरी महानिरीक्षक दिपक थापाले शुक्रबार आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको निरीक्षण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभयो ।  निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित आवास भवन, फिजियोथेरापी कक्ष, इन्डोर क्रिकेट अभ्यास मैदान, शैलुन, नेपाल पुलिस स्टाफ कलेजको कार्यालय भवन, कक्षाकोठा तथा विद्यार्थी अधिकृत व्यारेक, सिनियर प्रहरी अधिकृत मेस, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयको प्रयोगशालाको समेत अवलोकलन गर्नुभयो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रतिष्ठान परिसरमा वृक्षरोपण समेत गर्नुभयो ।