प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१७ जना प्रहरी नायव महानिरीक्षकहरु दर्ज्यानी चिन्हबाट सुशोभित

२०७९-०३-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार (मन्त्रीस्तर)को २०७९ असार १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहनुभएको छ । 

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्दै प्राप्त जिम्मेवारीउपरको कार्यसम्पादनमा खरो रूपमा उत्रनुपर्ने बताउनुभयो । साथै उहाँले पदोन्नति पछिका दिनहरू अझ चुनौतीपूर्ण रहेकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रहरी महानिरीक्षक सिंहले संगठनका सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने वाध्यता भएको चर्चा गर्दै पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यावसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । गएको स्थानीय तहको निर्वाचनमा प्रहरीको व्यावसायिकताको कारण प्रहरी धन्यवादको पात्र बनेको उल्लेख गर्दै आउँदा दिनहरूमा समेत थप व्यावसायिक र संवेदनशील भई जिम्मेवारी पूरा गर्न दत्तचित्त हुनुपर्ने उहाँले बताउनुभयो ।

साथै प्रहरी महानिरीक्षक सिंहले मालदिभ्समा आयोजना भएको एसियन जुनियर एण्ड क्याडेट टेवलटेनिस च्याम्पियनसीप २०२२ मा रजत पदक प्राप्त गर्नुभएकी नेपाल पुलिस क्लबमा आवद्ध टेवलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान समेत गर्नुभयो ।   

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले  कर्मको जीवन दिने आमारूपी नेपाल प्रहरी संगठनप्रति सदैव इमानदार, बफादार र पेशागत व्यावसायिक निष्ठा कायम राखी जुनसुकै किसिमको गैर व्यावसायिक आचरण, व्यवहार, हाउभाउ र जीवनशैलीप्रति शून्य सहनशिलता अपनाउँदै सांगठनिक लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।




सम्बन्धित समाचार
सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै आवश्यक रणनीति बनाई प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग
२०८२-०५-२२

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले उक्त निर्देशन दिनुभएको हो ।  प्रहरी महानिरीक्षक खापुङ्गले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन थप संवेदनशीलता अपनाई कार्य गर्नुपर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा समेत थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाह समेतले समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सामूहिक भावना र भातृत्वभावका साथ जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग
२०८२-०५-१९

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले संगठनको दीर्धकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवर्द्धनका लागि नेतृत्व तह देखि तल्लो तह सम्मका कर्मचारीहरूमा सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व आवश्यक रहेको चर्चा गर्दै सांगठनिक सुदृढीकरणका लागि सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावना र भातृत्वभावका साथ आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक खापुङ्गले फौजदारी न्याय प्रणालीको प्रमुख अंगको रूपमा नेपाल प्रहरीले देशव्यापी संजाल मार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका क्रियाकलापहरूमा राज्यको पहिलो प्रतिनिधिको रूपमा उपस्थिति देखाइ आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताउनुभयो ।  नेपाल प्रहरी शान्ति सुरक्षा, अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र राज्यको कानून कार्यान्वयन एवम् नागरिकको सुरक्षा र सेवाको लागि न्यून स्रोत र साधनको उपलब्धतामा पनि सधै अग्रपंक्तिमा खटिँदै आम नागरिकको ढुकढुकीमा बस्न सफल संगठन भएको चर्चा गर्दै आम नागरिकको अपेक्षालाई शिष्ट आचरण एवम् व्यवहारका साथ सम्बोधन गर्दै आम नागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले सामाजिक सञ्जालमा देखिएका आवाञ्छित गतिविधिहरू, वित्तीय अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन, आर्थिक अपराध जस्ता जटिल र संगठित अपराधहरूको अनुसन्धानमा अझ संवेदनशील, विवेकशील र कानूनी रूपमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै यसका लागि दक्ष जनशक्तिको विकास, प्रशिक्षण तथा प्रविधिको व्यवस्थापन आफ्नो प्राथमिकता रहेको बताउनुभयो । प्रहरी कर्मचारीहरूको मुल्याङ्कनमा कार्यसम्पादनको स्तर, व्यावसायिक दक्षता र संगठनप्रतिको वफादारितालाई प्राथमिकता दिई सोही अनुरूप वृत्तिविकास र अवसरको उपलब्धता सुनिश्चित गराउन निरन्तर प्रयासरत रहने एवम् योग्यतामा आधारित पद्धति र निष्पक्ष प्रकृयामा प्रहरी कर्मचारीहरूको वृत्तिविकासको लागि आवश्यक थप मापदण्डहरू निर्माण गर्दै लैजाने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले राष्ट्र र नागरिक सेवामा आफ्नो निजि स्वार्थ र व्यक्तिगत लाभ भन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्नु प्रहरी सेवाको मुल मर्म भएको र संगठनले निर्दिष्ट गरेको अनुशासन र व्यावसायिक प्रहरी कर्मचारीको मर्यादाको सीमाभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरू विरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न कटिवद्ध रहेको उहाँले बताउनुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।    

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८२-०५-१८

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदिप गिरी र टेक बहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण इमानदारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताउनुभयो । कानूनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवम् प्रवर्द्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आम नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल प्रहरीको विधि र पद्धतिलाई अंगिकार गरेर सामूहिक भावना तथा भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गरेको उहाँले बताउनुभयो । संगठनको संस्थागत विकासको लागि आन्तरिक सुदृढीकरण र शुद्धिकरण, प्रहरी कर्मचारीहरूको वृत्तिविकास, कल्याणकारी सेवा सुविधाको विस्तार, प्रहरी कार्यमा प्रविधिको प्रयोग, समयसापेक्ष तालिम तथा नीतिगत सुधार मार्फत संगठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउन आफ्नो प्रयास सदैव केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक दिपक थापाले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीको गरिमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको तथा सेवा निवृत्त पछि पनि व्यावहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी र प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आ-आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।   समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रूपा थापा लगायत संघका पदाधिकारीहरूलाई समेत बिदाइ   गरियो । उहाँहरूलाई श्रीमती भावना श्रेष्ठ खापुङले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो ।    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्माको बिदाइ
२०८२-०५-१३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मालाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मालाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्माले आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा उमेर हदका कारण भदौ १५ गतेबाट सेवा निवृत्त हुन लाग्नु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

अमेरिकी दूतावासद्वारा केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई CODIS & Radian ASAP हस्तान्तरण
२०८२-०५-११

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई Combined DNA index system (CODIS)- DNA Software & Radian Atmospheric Pressure Solids Analysis Probe (ASAP) Mass Spectrometer- Drug Detection Instrument हस्तान्तरण गरिएको  छ । नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा बुधबार आयोजित कार्यक्रमबीच उक्त प्रविधि हस्तान्तरण गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आज हस्तान्तरण भएका आधुनिक उपकरणहरू र प्रविधिहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटो छरितो बनाउनुका साथै वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणहरू समेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । CODIS प्रणालीको सुविधाले फोरेन्सिक डीएनए विश्लेषण क्षमतालाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै Radian ASAP Mass Spectrometer ले लागूऔषधको स्क्रिनिङमा समेत क्षमता अभिवृद्धि हुने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले अमेरिकी दूतावासले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवम् विकासको लागि विगतका वर्षहरूमा विभिन्न परामर्श, तालिमहरू र उपकरणहरू समेत प्रदान गर्दै आइरहेको र यसले गर्दा अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप क्षमतावान एवम् दक्ष फोरेन्सिक विज्ञहरू उत्पादन गर्न मद्दत पुगेको बताउनुभयो । आधुनिक प्रविधिहरूको एकीकरणले नेपाल प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानून कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा नेपालको लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज हस्तान्तरण गरिएको आधुनिक प्रविधिले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवम् हराएका व्यक्तिको पहिचानमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, अमेरिकी राजदुतावासका प्रतिनिधिहरू लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दिपक थापाबाट नवनिर्मित भवनको उद्‌घाटन
२०८२-०५-०९

सुर्खेत, प्रहरी महानिरीक्षक दिपक थापाले इलाका प्रहरी कार्यायल छिन्चु परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन, महिला आवास र भान्सा घरको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा, घरेलु हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताउनुभयो । नयाँ भवन केवल संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको एवम् नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न एवम् घटित अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उल्लेख गर्दै समाजमा देखा परेका विकृति एवम् विसङ्गति नियन्त्रण गर्न तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्न नागरिकसँग समन्वय, सहकार्य एवम् हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. पुष्प राज शाही, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल र Security and Justice Program (SJP) का Senior Project Manager Simon Peter Obrien ले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल ३ करोड ३५ लाख २७ हजार ५ सय २५ रूपैयाँ ९ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।  उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।