नेपाल प्रहरी श्रीमती संघ र उपत्यकास्थित पाँच वटा कलेजबीच सम्झौतापत्रमा हस्ताक्षर
२०७९-०४-०६
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी श्रीमती संघ र काठमाडौंस्थित एभरेष्ट कलेज, प्रिमियर कलेज, कोलम्बस कलेज, काठमाडौं नेशनल कलेज र ललितपुरस्थित वेदास कलेजबीच बहालवाला प्रहरीका परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारीका परिवारका सन्ततीहरूलाई छात्रवृत्ति तथा एकमुष्ट वार्षिक शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र उक्त कलेजहरूका तर्फबाट उक्त कलेजहरूका संचालक बिष्णु हरि पाण्डेले संघको कार्यालय भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै सम्झौतापत्र आदानप्रदान समेत गर्नुभयो ।
कार्यक्रममा संघकी अध्यक्ष सिंहले सेवा नै धर्म भन्ने मूल मन्त्रको आदर्श वाक्यले निर्देशित नेपाल प्रहरी श्रीमती संघले स्थापनाकाल देखिनै आर्थिक रूपमा विपन्न तथा अवसर नपाएका व्यक्ति तथा समुदायमा मानविय सहयोग गर्दै आइरहेको स्मरण गर्नुभयो । साथै उहाँले संघको स्थापनाको उद्देश्यलाई निरन्तरता दिँदै उल्लेखित प्रस्तावलाई सहर्स स्वीकार गरी सम्झौता सम्पन्न हुनु संघ र कलेजहरूको प्रतिष्ठाको निमित्त गौरवको विषय भएको बताउनुभयो ।
संघकी अध्यक्ष सिंहले देशको शान्ति सुरक्षाको अतिरिक्त प्राकृतिक प्रकोप तथा अपराध नियन्त्रणमा आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूको योगदानको उच्च मुल्याङ्कन गरी सम्झौतामार्फत् कलेजहरूले प्रदान गरेको सहयोग अतुलनीय भएको बताउनुभयो । साथै उहाँले कलेजहरूको शैक्षिक सेवा विस्तार तथा योगदानका सत्प्रयासहरू आगामी दिनमा अझै विस्तारित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा उक्त कलेजहरूका संचालक बिष्णु हरि पाण्डेले कलेजहरूमार्फत् समाजमा रहेका विभिन्न तह र तप्कामा सेवाभावले योगदान पुर्याउन पाउँदा गौरव महशुस भएको बताउनुभयो । साथै उहाँले सम्झौतामार्फत् राम्रो कामको थलानी भएको चर्चा गर्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको र सम्झौता अन्तर्गतको सुविधा अति आवश्यक हुनेले प्राप्त गर्न सकेमा सम्झौता सार्थक हुने बताउनुभयो ।
उक्त कलेजहरूमा १०+२ को लागि ५ जनालाई पूर्ण छात्रवृत्ति, Bachelor of Computer Application तर्फ २ जनालाई पूर्ण छात्रवृत्ति, Bachelor of Business Management तर्फ १ जनालाई पूर्ण छात्रवृत्ति तथा १०+२ व्यवस्थापन संकायतर्फ वार्षिक रूपमा ७५ प्रतिशत छुट र विज्ञान संकायतर्फ ७३ प्रतिशत छुट गर्ने गरी दुवै संकायमा जम्मा ५० जनालाई छुट दिने सम्झौतामा उल्लेख गरिएको छ । प्रस्तुत सम्झौता यही साउन १ गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागू हुनेछ ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, विभिन्न कलेजका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।