अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७९-०४-०९
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका-८ घर भएका १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, धनगढीमाई नगरपालिका-६ मोथियाही बस्ने २६ वर्षीया शुसिला कुमारी यादवलाई करिब ३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१६ मिलन चोकस्थित जंगल नजिक बा.६ च ८६६६ नम्बरको पिकअप गाडीबाट करिब ४५ किलोग्राम अवैध लागूऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त स्थानमा गाडी छोडेर चालक फरार भएपछि गाडी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।