प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

कास्की, गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यमा गण्डकी प्रदेशस्तरीय एक दिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको छ । उक्त अवसरमा मन्त्री विश्वकर्माले गोष्ठीको उद्‌घाटन गर्दै पछिल्लो समय अपराधका स्वरूप फरक-फरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाई अपराध अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो । 

समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा नेपाल प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास भएमा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । साथै उहाँले गोष्ठीले गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण मुद्दा चल्ने प्रहरी कार्यालयबीच आपसी समन्वय बढाएर अपराध अनुसन्धानमा दक्ष बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

उक्त अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहित राज बाँस्तोलाले गोष्ठीका उपलब्धीलाई कार्यान्वयन गर्न सके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताउनुभयो ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताउनुभयो । 

गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले समेत आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । 

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रूपमा आयोजित उक्त गोष्ठीमा गण्डकी प्रदेश मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ-आफ्नो कार्यालयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा गरिएका नविन प्रयोगहरूको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने अनुसन्धानको विद्यमान अवस्थाको समीक्षा र अनुसन्धान सम्बन्धी नविन कानुनी व्यवस्था र अभ्यास लगाएतका विषयमा सहभागीहरूबीच छलफल भएको थियो । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ
२०७९-०६-११

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुल सहित सर्लाही ईश्वरपुर नगरपालिका-४ बस्ने २६ वर्षीय हिमाल माझीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसका सहचालक हिमालले बसको डिक्कीमा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पदमपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ८० मिलीग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय ललित खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ललितलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७ सय ५० ग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   धनुषा, सबैला नगरपालिका-१० गेरुवाही नहरस्थित सडकबाट अवैध लागूऔषध भाङ करिब १५ किलोग्राम सहित धनौजी गाउँपालिका-२ बस्ने ४२ वर्षीय राम प्रसाद साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरीले साइकलमा सवार राम प्रसादलाई जाँच गर्ने क्रममा उक्त भाङ सहित फेला पारी पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध टिटि ५ हजार १ सय पिस र निटजा केयर ३ हजार ट्याब्लेट सहित भारत घर भई वीरगंज महानगरपालिका-१६ बस्ने २७ वर्षीय ओम प्रकाश महतो लगायत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ई-रिक्सामा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध हातहतियार सहित पक्राउ तथा बरामद
२०७९-०६-११

अर्घाखाँची, भूमिकास्थान नगरपालिका-१ राजिमेबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका-१ ओखटे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल लगायत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लु.६४ प ८९०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दाकावाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । पाँचथर, याङवरक गाउँपालिका-३ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकबाट एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ४ वटा छर्रा र ३ थान टर्चलाईट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नागीथर्पुबाट खटिएको प्रहरीले उक्त मन्दिर नजिक बाटोमा वेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित कार्यालय भवन उद्‍घाटन
२०७९-०६-११

मोरङ, १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित कार्यालय भवनको मंगलबार बिहान उद्‍घाटन भएको छ । भवन उद्‍घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको प्रहरी पहिला आफैमा सुरक्षित हुनुपर्ने भएकोले प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनुभयो । कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने गरी खटिने प्रहरीको गाँस, बास र कपासमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै चौबिसै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र हौसलाका साथ दुरुस्त भई कार्यक्षेत्रमा खटिन प्रेरणा मिल्ने बताउनुभयो । उक्त साँढे २ तले नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।