प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७९-०५-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मन्त्री रेग्मीले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका "सहचरी" को विमोचन समेत गर्नुभयो । 

उक्त अवसरमा मन्त्री रेग्मीले संघलाई निरन्तर रूपमा सहकार्य गरी विभिन्न समाजसेवामूलक कार्यमा उल्लेखनीय सहयोग पुर्‍याउने राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपालका अध्यक्ष पाण्डव हमाल र सहअध्यक्ष सुवास न्यौपाने, चितवन मेडिकल कलेज भरतपुर चितवनका सिइओ प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्स भरतपुरका डा. सुदिप राज केसी, एभरेष्ट कलेज, प्रिमियर कलेज, कोलम्बस कलेज, काठमाडौं नेशनल कलेज र वेदाज कलेजका संचालक विष्णुहरी पाण्डे तथा लर्ड बुद्ध एकेडेमी फाउन्डेसनका संचालक पंकज जलानलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

 सो अवसरमा मन्त्री रेग्मीले नेपाल प्रहरी श्रीमती संघले आगामी दिनमा समाजको कमजोर असहाय एवं बिपन्न वर्गलाई सहयोग गर्नुको साथै क्षमता अभिवृद्धि एवं महिला सशक्तिकरण लगायतका कार्यलाई सहज तुल्याउन सशक्त र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै मन्त्री रेग्मीले महिलालाई हरेक क्षेत्रमा समान अधिकार दिलाउन सकेमा मात्र समानतामूलक समाज निर्माण गर्न सकिने बताउँदै घरभित्र मात्र नभई कुनै निकायबाट प्रदान हुने सेवाहरूमा पनि महिलाहरूलाई उत्तिनै समान व्यवहार हुनुपर्नेमा जोड दिनुभयो । महिलाविरुद्ध हुने हिंसा तथा भेदभावका गतिविधिलाई नेपाल प्रहरी श्रीमती संघले अझ नजिकबाट निर्‍यालेर हिंसा र भेदभावलाई समाप्त पार्न अझ बढी अग्रसर भएर लाग्न उहाँले आग्रह समेत गर्नुभयो ।     

समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबल टिमलाई पहिचान दिलाउन महत्वपूर्ण योगदानको कदर गर्दै ANFA WOMEN’S ASSOCIATION का अध्यक्ष पेमा डोल्मा लामा तथा फरक रूपमा सक्षम बालबालिकाहरूलाई अर्न्तदृष्टि संस्थामार्फत सेवा पुर्‍याँउदै आएका अर्न्तदृष्टि नेपालका संचालक नन्दा सिंहलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंहले कर्तव्यपालनाको सिलसिलामा अमरत्व प्राप्त गर्नुभएका अमर प्रहरी हवल्दार मनोज कुमार र श्रीमती आरती हमालका सुपुत्र हार्दिक हमाललाई ईलेक्ट्रिक स्कुटर हस्तान्तरण गर्नुभयो । साथै संघकी अध्यक्ष कुसुम लता सिंह र डिएभि कलेजका संचालक अनिल केडियाले ललितपुर थसीखेल बस्ने आदित्य अधिकारीलाई +2 अध्ययनको लागि पूर्ण दिवा छात्रवृत्ति प्रदान गर्नुभयो । 

समारोहमा संघकी अध्यक्ष सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघलाई आजको अवस्थासम्म पुर्‍याउन विभिन्न माध्यमहरुद्वारा सहयोग उपलब्ध गराउनुहुने महानुभावहरु, संघ संस्थाहरु तथा सम्पूर्ण सहयोगीहातहरुप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको निरन्तरताको अपेक्षा रहेको उल्लेख गर्नुभयो । संघलाई थप उर्जामूलक, सेवामूलक र उपलव्धीमूलक बनाई अझ बढी मानव केन्द्रित र विस्तारित सेवा दिँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नेपाल प्रहरी श्रीमती संघकी महासचिव सुनम पोखरेलले स्वागत मन्तव्य तथा संघको वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।  

समारोहमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुली, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व अध्यक्ष एवम् पूर्व पदाधिकारीहरु, नेपाली सेना र सशस्त्र प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको स्वागत कार्यक्रम सम्पन्न
२०८२-०८-२६

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती नबिना खत्री कार्कीलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कार्कीले लागूऔषध प्रयोगकर्ताहरूको मनोबल वृद्धि गर्दै समाजमा पुनर्स्थापना गराउन यस सुधार केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गर्न तथा केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउन केन्द्रका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सरोकारवाला निकायहरू र नागरिक समाजबाट महत्वपूर्ण सुझाव तथा सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी सचिव शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८२-०८-२६

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि २१ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ४ सय ३८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटwww.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी निरीक्षक पदको लागी पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् भने प्रहरी सहायक निरीक्षक पदको लागी पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

मोटरसाइकल आउट राइडर्स तालिम सुरू
२०८२-०८-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको मोटरसाइकल आउट राइडर्स तालिम आइतबारबाट सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले उक्त तालिमको उद्‍घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिई योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अशोक केसीले ३५ कार्य दिनको उक्त तालिममा १ जना प्रहरी सहायक निरीक्षक र २९ जना प्रहरी जवान गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता
२०८२-०८-१४

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता  भएका छन् । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो ।  साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका Lucas Philippe नियुक्त हुनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो ।उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गर्नुभएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८२-०८-०७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।