प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच सम्झौता-पत्रमा हस्ताक्षर

२०७९-०५-३०

  • A
  • A-
  • A+
Share

    काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरूमा योगाभ्यास गराउने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । 

नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौर र पतंजलि योग समिति नेपालको तर्फबाट सोही समितिका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । सम्झौतापत्रमा हस्ताक्षर हुनुपूर्व पनि नेपाल प्रहरी प्रधान कार्यालय र विभिन्न तालिम प्रदायक कार्यालयहरूले योगाभ्यास गराउँदै आइरहेको चर्चा गर्दै आगामी दिनमा नेपाल प्रहरीले संस्थागत रूपमा योगाभ्यासका लागि प्रहरीबाटै दक्ष जनशक्ति उत्पादन गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा पतंजलि योग समिति नेपालका संरक्षक एवं पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले नेपाल प्रहरी र पतंजलि योग समितिबीचको सहकार्य एवं समन्वयमा विगतमा समेत विभिन्न योगाभ्यास गराउँदै आएको चर्चा गर्दै यो सम्झौता मार्फत आगामी दिनमा प्रहरी कर्मचारीहरू योगाभ्यासमा थप सहभागी हुने उल्लेख गर्नुभयो । 

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौरले शारीरिक, मानसिक र आत्मिकरूपमा स्वस्थ्य हुन योगाभ्यास महत्वपूर्ण हुने भएकोले यस सम्झौतामार्फत प्रहरी कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।    

सम्झौता अनुरूप नेपाल प्रहरी अन्तर्गतका तोकिएका कार्यालयहरू तथा तालिम प्रदायक निकायहरूमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा योग प्रशिक्षक प्रशिक्षण गराउने लक्ष्य रहेको छ । 

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवं पतंजलि योग समिति नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-१६

बैतडी, दोगडाकेदार गाउँपालिका-७ खोचलेक बजार बस्ने ५० वर्षीय वीर सिंह कार्कीलाई अवैध लागूऔषध चरेश १ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कार्कीले संचालन गरेको किराना पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  झापा, विर्तामोड नगरपालिका-५ जात्रुबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित भारत घर भएका २५ वर्षीय दिलसाद रहमान समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले डब्लुबि ७४ बि ए ६७७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ४९ एम्पुल, नुर्फिन १ सय ४६ एम्पुल र फेनारगन १ सय ५० एम्पुल सहित सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय सञ्जु राई समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट करिब १५ केजी अवैध लागूऔषध गाँजा फेला पारी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले बसपार्कस्थित पुरानो नारायणी काउण्टरको बाहिर प्यासेजमा वेवारिसे अवस्थामा रहेको २ वटा झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१०-१६

तेह्रथुम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-६ फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ललितपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा तारुघाट गाउँपालिका-८ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना पक्राउ
२०७९-१०-१६

पर्सा, मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दिपक कुमार पटेल, सोही महानगरपालिका-२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका-१९ बस्ने २२ वर्षीय राज कुमार साह, सोही महानगरपालिका-२५ बस्ने २६ वर्षीय सुशिल कुमार साह, सोही महानगरपालिका-२४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोईरी, पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय संजय चौहान र बहुदरमाई नगरपालिका-९ बस्ने २८ वर्षीय हरिओम गुप्ता रहेका छन् । सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भन्दै प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिई अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-१६

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-९  बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ साउन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, ३ दिन कैद र ३८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।