प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७९-०६-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रम सोही केन्द्रको कार्यालय रानीबारीमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंह एवम् उक्त केन्द्रकी अध्यक्ष श्रीमती कुशुम लता सिंहले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्‍याउनुहुने केन्द्रकी पूर्व अध्यक्ष श्रीमती सिर्जना थापालाई सम्मानपत्र प्रदान तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी सदस्य श्रीमती जुनु श्रेष्ठ र श्रीमती कुसुम अधिकारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो । 

प्रहरी महानिरीक्षक सिंहले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज र केन्द्रले आयोजना गर्ने विविध साँगीतिक कार्यक्रममा सहयोग गर्ने नेपाल प्रहरी संगीत विद्यालय महाराजगञ्जलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०७९’ को विमोचन समेत गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले लागूऔषध दुर्व्यसनीको उपचार र पुनर्स्थापना तथा लागूऔषधविरूद्ध सचेतनामार्फत् सामाजिक सुधार र सामाजिक सेवामा नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो । २०५४ सालमा स्थापना भई १०१ जना महिला सहित ५ हजार ६९८ जना लागूऔषध सेवनकर्तालाई परामर्श र उपचारद्वारा असल नागरिकमा रुपान्तरण गरी नयाँ जीवन दिन यस केन्द्रले तय गरेको सफल यात्राको निम्ति उहाँले समस्त केन्द्र परिवारलाई बधाई दिनुभयो । 

साथै उहाँले लागूऔषध दुरूपयोग एक गम्भीर सामाजिक समस्या रहेको र यसैको कारण समाजमा आपराधिक गतिविधि वृद्धि भई व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदायमा समेत प्रतिकूल असर पारिरहेको चर्चा गर्दै कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताउनुभयो । प्रहरीले लागूऔषध दुर्व्यसन र प्रयोगबाट सिर्जित परिणाम र घटनाक्रमको व्यवस्थापनका लागि लागूऔषध सम्बन्धी जनचेतना जगाउने हेतूले समुदाय-प्रहरी साझेदारी अन्तर्गत विशिष्टिकृत पाठ्यक्रम विकास गरी सक्रियताका साथ विद्यालय र समुदायमा सचेतना कार्यक्रम गरिरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती कुशुम लता सिंहले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष सिंहले हरेक दृष्टिकोणबाट चुनौतिपूर्ण बन्दै गएको लागूऔषध दुर्व्यसनीको समस्या समाधान गर्न लागूऔषध प्रयोगकर्ताहरूको उपचार, परामर्श सेवा एवं पुनर्स्थापना कार्यमा केन्द्र दत्तचित्त भई लागेको उल्लेख गर्नुभयो ।  

केन्द्रकी सचिव श्रीमती सिता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरु र नेपाल प्रहरी संगीत विद्यालयका प्रहरी सहायक निरीक्षक राम बहादुर भुजेलले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०३-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी विगतमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै थप संयमता तथा व्यावसायिकता प्रदर्शन गरी नागरिक केन्द्रीत भई आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । विपद्को समयमा प्रहरीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा खटिनुपर्ने उहाँले बताउनुभयो ।     प्रहरी महानिरीक्षक थापाले चुनौतिको रूपमा देखा परेका प्रविधिको प्रयोगबाट सिर्जित अपराध, संगठित अपराध, लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी थप सजग हुनुपर्नेमा जोड दिँदै महिला बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत वर्गमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले हिरासत व्यवस्थापन एवम् फरार प्रतिवादी पक्राउमा विशेष सक्रियता अपनाई कार्य गर्नुपर्ने समेत बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अन्य सरोकारवाला नियहरूसँग समन्वय गरी प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । साथै सांगठनिक नीति निर्देशनहरूको अक्षरस पालना गरी प्रहरी कर्मचारीहरूको गुनासो व्यवस्थापनमा विशेष ध्यान दिई सामूहिक भावनाको विकास गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू र विभिन्न गणका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ
२०८२-०३-१२

ललितपुर, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।  सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आज शुभारम्भ भएको यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको   थियो । 

मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८२-०३-०८

काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोग पुल्चोक ललितपुरको आयोजनामा “मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया” कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा आइतबार सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले नेपाल प्रहरी शान्ति सुरक्षा अमन चयन कायम गर्ने तथा अपराध अनुसन्धान गर्ने पहिलो निकायको रूपमा रहेको चर्चा गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धन गरी प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताउनुभयो । प्रहरी सेवा समयसापेक्ष र पीडितमैत्री हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।   कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष हरि दत्त जोशी, मधेशी आयोगका कार्यबाहक अध्यक्ष जीवछ साह, थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारू, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सूर्य प्रसाद शर्मा ढुंगेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, मुस्लिम आयोगका सदस्य महोम्मद समशुल हक, आदिवासी जनजाती आयोगका सदस्य रीना राना, राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्की, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारिप्रसाद खरेलले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरी नेपालको संविधान, विभिन्न ऐन कानून, अन्तर्राष्ट्रिय कानून र दस्ताबेजको पूर्ण पालना गर्दै शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न पहिलो पंक्तिमा रहेर अहोरात्र खटिँदै आइरहेको बताउनुभयो । मानव अधिकारको संरक्षण, सम्वर्द्धन र सम्मान सहित अगाडि बढ्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्दै कार्यक्रमबाट प्राप्त सुझावलाई पालना गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले आधारभूत तालिम र विभिन्न अनुशिक्षण तालिमको पाठ्यक्रममा समावेश गरी प्रहरी कर्मचारीहरूलाई समयसापेक्ष मानव अधिकार सम्बन्धी प्रशिक्षण दिँदै आइरहेको बताउनुभयो । साथै भिड व्यवस्थापनमा नेपाल सरकारसँग समन्वय गरेर आधुनिक उपकरण तथा सामग्रीहरूको प्रयोग गर्नुका साथै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्यसम्पादन गरिरहेको उहाँले बताउनुभयो ।   राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्माले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले मानव अधिकार, महिला, दलित र संवेदनशीलवर्ग, समुदायको अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरीले गरेका प्रयासहरूका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रभावकारी समन्वय र सहकार्य, लैंगिक/घरेलु हिंसा र दाइजो प्रथा, छउपडी प्रथा, बाल विवाह, छुवाछुत(जातीय भेदभाव) अन्त्यका लागी सामूहिक पहल, अनुसन्धानका विषयमा पीडित, शंकित वा समुदाय लक्षित व्यक्तिगत सूचनाहरू सम्प्रेषित हुने गरेका, हिरासत कक्ष भित्रको आत्महत्या, जाहरी दर्खास्त दर्ता, अधिकारकर्मी र मिडियाकर्मी माथी आक्रमण लगायतका विषयहरूमा छलफल भएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिवहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

पूर्णव्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-२९

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सम्पादित कार्यले संगठनको साख बढ्ने चर्चा गर्दै पूर्णव्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, लेखा शाखा, सूचना संकलन शाखा लगायत अन्य शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले जटिल र गहन प्रकृतिका अपराधका साथै प्रविधिजन्य अपराधहरू चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै भरपर्दो सूचना संकलन, विश्लेषण, उपलब्ध जनशक्ति तथा स्रोतसाधनहरूको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले ब्यूरोबाट विगतमा भएका सफल अनुसन्धानहरू प्रशंसनीय रहेको चर्चा गर्दै बदलिँदो परिपेक्षमा  अपराध अनुसन्धानको क्षेत्रमा देखिएका जटिलताहरूको सामना गर्न प्रहरी कर्मचारीहरूले आफूलाई परिष्कृत र परिमार्जित गर्दै उच्च समर्पण भाव र सामूहिक भावनाका साथ इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । साथै ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीको वृत्ति विकास र ब्यूरोलाई थप आधुनिकीकरण तथा स्रोतसाधन सम्पन्न बनाउन संगठन सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।   केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुवेर खापुङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले ब्यूरोको पृष्ठभूमि, स्थापनाको उद्देश्य, कार्यनीति, व्यवस्थापन/प्रशासन, नीति निर्देशन कार्यान्वयन, महत्वपूर्ण मुद्दाहरूको अनुसन्धान विवरण, अनुसन्धानको क्रममा देखिएका कानूनी समस्याहरू, जटिल एवम् प्रविधिजन्य अपराधहरू, समस्या तथा चुनौतिहरू, भावी योजना, तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

उच्च मनोबलका साथ अब्बल र सेवाग्राहीमैत्री सेवामा कटिबद्ध हुनुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण र चुनौतिपूर्ण सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ अब्बल र सेवाग्राहीमैत्री सेवामा कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज भवनमा रहेका शैक्षिक कार्यक्रम स्थानको अवलोकन गर्नुका साथै ईमरजेन्सी डिपार्टमेन्ट, विभिन्न विभागहरू, वार्डहरू, फार्मेसी लगायत विभिन्न यूनिटहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो । सोही अवसरमा उहाँले विरामी उपचार काजमा आएका बिरामीहरूसँग अन्तरक्रिया समेत गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहार र सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँचको वातावरण निर्माण गर्दै कार्यसम्पदान गर्नुपर्न बताउनुभयो । कोभिड-१९ जस्तो महामारी र अन्य विषम परिस्थितिहरूमा विभिन्न कठिनाईहरूको सामना गर्दै निरन्तर रूपमा स्वास्थ्य सेवा प्रवाहमा अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै दूरदराज सम्म फैलिएर नागरिक सेवामा समर्पित नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, आश्रित परिवारजन र आमनागरिकको उपचारमा विगतका कमजोरीहरूलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।    प्रहरी महानिरीक्षक थापाले भौतिक र प्राविधिक रूपमा अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको र त्यसको लागि आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको बताउनुभयो । अस्पतालका सेवाहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न संस्थाहरूसँग भएका समझदारीहरूलाई निरन्तरता दिई सुधारका नयाँ क्षेत्रहरूको पहिचान गरी ठोस योजना बनाएर नेपाल प्रहरी अस्पतालको विकास एवम् बिस्तारमा लाग्न तथा मनसुनजन्य विपद् र अन्य प्रकोपको उद्दारका लागि तयारी हालतमा रहन उहाँले निर्देशन समेत दिनुभयो । अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सोही अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको पृष्ठभूमि, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा तथा सेवाग्राहीहरूको विवरण, उपकरण र नयाँ प्रविधिको प्रयोग, विभिन्न निकायसँगको समन्वय, कल्याण कोष सम्बन्धी जानकारी, कार्यान्वयनमा रहेका नीतिगत निर्णयहरू, कर्मचारी लक्षित कार्यक्रमहरू, समस्या तथा चुनौतिहरू र भावी कार्ययोजना लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दिपक थापाद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण
२०८२-०२-२६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सोमबार निरीक्षण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।  निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई काम गर्नुपर्ने बताउनुभयो । उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप क्रियाशील हुनपर्ने बताउँदै हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी विगतमा देखिएका कमीकमजोरीलाई मनन गर्दै भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।   प्रहरी महानिरीक्षक थापाले संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै सभ्य बोलीवचन, शिष्ट व्यवहार र सामुहिक भावनाका साथ व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो ।   काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमा सोही कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले मानवश्रोत व्यवस्थापन, कार्यालय व्यवस्थापन, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट गरिएका प्रयासहरू, सृजनशील कार्य, समस्या र चुनौतिहरू, आगामी कार्य दिशा/योजनाहरू र तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।