प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको तत्वावधानमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त कार्यक्रमको शुरुमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारीअन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट शुभारम्भ भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।

गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन तथा गमलामा जल सिंचन गरी उद्‍घाटन भएको उक्त कार्यक्रममा समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको एवम् नेपाल प्रहरीले जन धनको रक्षा, शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक बलिदानीपूर्ण कार्य गरिरहेको बताउनुभयो ।

राष्ट्रका कर्णधार युवा भाइबहिनीहरूको सहभागिताले प्रतिबद्धता र सचेतना थपेको चर्चा गर्दै गृहमन्त्री खाणले भन्नुभयो, “यो कार्यक्रमको माध्यमबाट देशभरिकै आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ, जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ, आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ ।” सहभागी युवाहरूले समाजमा सचेतना जगाउन तथा नेपालमा आत्महत्याको घटनालाई न्यूनीकरण गर्ने र रोक्ने प्रतिवद्धता गर्न उहाँले आग्रह गर्नुभयो । नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्चास उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो । 

उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन पनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप देशभर आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्य एवम् नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा उल्लेखनीय सफलता हासिल गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको बृहत् सहभागितामा यो कार्यक्रम संचालन गरिएको बताउनुभयो  । 

आत्महत्या पछाडि व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू हुने सक्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले आत्महत्या रोकथामलाई सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो । आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, गृहमन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै आत्महत्या रोकथाम तथा न्यूनीकरणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।  

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक प्रहरी उपरीक्षक डा. आशिस दत्तले आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सामुदायिक सेवा केन्द्रहरूको तर्फबाट सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह, विद्यालयकोतर्फबाट अरनिको ईन्टरनेश्नल सेकेण्डरी स्कुल एण्ड कलेज ताल्छिखेलका किरण जंग बिष्टले आत्महत्या न्यूनीकरणमा सचेतना कार्यक्रमको महत्व बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।  

विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न सर्वपक्षीय सहभागितामा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले सन् २०२१ देखि सन् २०२३ सम्मको लागि तय गरिएको विश्व आत्महत्या रोकथाम दिवस सम्बन्धी अन्तर्राष्ट्रिय नारा ‘कर्म मार्फत आशाको सृजना गरौं’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । साथै सातै प्रदेशको राजधानीमा प्रदेश स्तरीय र सबै जिल्ला र सदरमुकामहरूमा समेत समुदाय-प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको छ । 


सम्बन्धित समाचार
आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको स्वागत कार्यक्रम सम्पन्न
२०८२-०८-२६

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती नबिना खत्री कार्कीलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कार्कीले लागूऔषध प्रयोगकर्ताहरूको मनोबल वृद्धि गर्दै समाजमा पुनर्स्थापना गराउन यस सुधार केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गर्न तथा केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउन केन्द्रका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सरोकारवाला निकायहरू र नागरिक समाजबाट महत्वपूर्ण सुझाव तथा सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी सचिव शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८२-०८-२६

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि २१ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ४ सय ३८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटwww.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी निरीक्षक पदको लागी पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् भने प्रहरी सहायक निरीक्षक पदको लागी पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

मोटरसाइकल आउट राइडर्स तालिम सुरू
२०८२-०८-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको मोटरसाइकल आउट राइडर्स तालिम आइतबारबाट सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले उक्त तालिमको उद्‍घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिई योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अशोक केसीले ३५ कार्य दिनको उक्त तालिममा १ जना प्रहरी सहायक निरीक्षक र २९ जना प्रहरी जवान गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता
२०८२-०८-१४

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता  भएका छन् । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो ।  साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका Lucas Philippe नियुक्त हुनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो ।उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गर्नुभएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८२-०८-०७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।