प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल र कोरियाबीच दुई छुट्टाछुट्टै सम्झौता-पत्रमा हस्ताक्षर

२०७९-०६-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं,  नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारकोतर्फबाट गणतन्त्र कोरियाको राजदूतावासबीच “नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर व्यूरो स्थापना” र “कोरियाबाट नेपाल फर्कने आप्रवासीहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने” दुई आयोजना कार्यान्वयन सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एवं नेपाल प्रहरी साइबर ब्यूरोका अधिकृतको समेत उपस्थितिमा अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल सरकारकोतर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र गणतन्त्र कोरियाकोतर्फबाट नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोड-सुक पार्कले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा अर्थ सचिव पुष्करले साइबर अपराधका बढ्दो घटनालाई नियन्त्रण गर्न साइबर व्यूरोलाई सक्षम र सुसज्जित बनाउनका साथै कोरियाबाट फर्केका आप्रवासी कामदारहरूलाई समाजमा पुन:स्थापित गर्न र नेपालमा रोजगारी बढाउनका लागि दुई परियोजना महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा गणतन्त्र कोरियाका राजदूत पार्कले विश्वभर र नेपालमा पनि व्यापक रूपमा बढ्दै गएको साइबर अपराधको दरप्रति चिन्ता व्यक्त गर्दै साईबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने साइबर अपराध नियन्त्रण आयोजनाबाट महत्वपूर्ण सहयोग हुने बताउनुभयो । 

नेपाल प्रहरीको साइबर अपराध विरूद्धको क्षमतालाई सुदृढ गर्नुका साथै साइबर व्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण तथा डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको छ । 

प्रत्येक आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर (लगभग २ अर्ब रुपैयाँ) अनुदान सहायता उपलब्ध गराउने छ ।  कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA) ले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्यवमा आयोजनाहरू कार्यान्वयन गर्नेछ ।


सम्बन्धित समाचार
गृहसचिव गोकर्णमणि दुवाडीबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८१-०५-२६

काठमाडौं, गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव गोकर्णमणि दुवाडीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसर स्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुभयो ।  कार्यक्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी गृह प्रशासन अन्तर्गतको महत्वपूर्ण अंग भएको चर्चा गर्दै विभिन्न समस्या, सीमितता र चुनौतीहरूको बावजुद पनि नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानून कार्यान्वयनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत पुलिसिङ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमहरूमा जोड दिई अझ बढी व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहसचिव दुवाडीले नेपाल प्रहरी व्यावसायिक संगठन भएको हुँदा यसमा आबद्ध हरेक कर्मचारीहरू इमानदार, व्यावासियक, दक्ष र कुशल हुनुपर्ने बताउनुहुँदै प्रहरी संगठनले गरेको अपेक्षा र प्रहरी कर्मचारीको दक्षता वृद्धिका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयको लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा गृहसचिव दुवाडी समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/०८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग-१ सम्बन्धी पुस्तक प्रदान गर्नुभयो ।  सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही प्रहरी सेवालाई समय सापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा मन्त्रालयबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।  निरीक्षण भ्रमणको क्रममा गृहसचिव दुवाडी समक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, भावी योजना र प्रहरी संगठनले मन्त्रालयसँग गरेको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री रमेश लेखक
२०८१-०५-२२

काठमाडौं, गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ । इन्टरपोल स्थापनाको शताव्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा गृहमन्त्री लेखकले समारोहलाई दिप प्रज्वलन गरी विधिवत रूपमा उद्‍घाटन गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘CID Magazine’ को विमोचन गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा लिखित ‘नेपाल प्रहरी’ गीत सार्वजनिक समेत गर्नुभयो । गृहमन्त्री लेखकले दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने ग्लोबल कलेज अफ म्यानेजमेन्टका रूचि खरेल, द्वितीय हुने जेभियर एकेडेमीका प्रत्युश महर्जन र तृतीय हुने विश्वनिकेतन माविका निर्मल विक तथा उक्त प्रतियोगिताका मुल्याङकन कर्ताहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै इन्टरपोलको १००औं बार्षिकोत्सवको अवसरमा इन्टरपोल महासचिवालयद्वारा सन् २०२३ मा आयोजित Global Video Contest प्रतियोगितामा नेपाल प्रहरीद्वारा निर्माण गरिएको “Let’s Save the Planet” विषयक भिडियो सर्वोत्कृष्ट घोषित भएको हुँदा उक्त भिडियो निर्माण गर्नुहुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङ श्रेष्ठलाई समेत उहाँले सम्मानपत्र प्रदान गर्नुभयो । गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुहुँदै यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने बताउनुभयो । समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको उल्लेख गर्नुहुँदै यस कार्यक्रमले कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहयोगको संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको बताउनुभयो । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको चर्चा गर्दै अपराधको चुनौतिहरूलाई सम्बोधन गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील रहेको बताउनुभयो । सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठित अपराध, साइबर अपराध, आतंकवाद, आर्थिक अपराध लगायतका अपराध विरुद्ध लड्न एवम् त्यसता अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । कानून कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदान प्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा सामना गर्न सकिने उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त समारोहमा अन्तर्राष्ट्रिय समन्वयमा प्रहरीको भूमिका र महत्वका बारेमा तयार पारिएको डकुमेन्ट्री भिडियोसमेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडाल, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायतको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

गृहमन्त्री रमेश लेखकबाट नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०५-२०

कैलाली, गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेश तथा क्वाटर गार्डको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुको साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा गृहमन्त्री लेखकले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरीले सीमित स्रोत साधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै नवर्निमित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । शान्ति सुव्यवस्था कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण प्रहरीको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दै नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीको कामकारवाही जनमुखी, पारदर्शी, पक्षपात रहित र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै समयसापेक्ष परिवर्तित समाजको गति र आम नागरिकको चाहनालाई आत्मसाथ गर्दै नेपाल प्रहरीबाट प्रवाहित सेवा पनि थप परिष्कृत, उत्तरदायी र सेवामुखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको बताउनुभयो । नवनिर्मित भवनले प्रहरी कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ र सहज कार्यमैत्री वातावरण निर्माण हुने अपेक्षा रहेको बताउँदै व्यवस्थित र सुविधा सम्पन्न भौतिक संरचनाबाट प्रवाहित सेवा थप गुणस्तरीय, नागरिकमैत्री एवम् प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. चिरन्जिवी महत्तोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको बिनियोजित बजेटबाट कुल १३ करोड ४० लाख ८ हजार २ सय ३२ रूपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर र मायामेट्रो हस्पिटल प्रालि धनगढी कैलालीका निर्देशक डा. मोहन साउँदबीच सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत रहेका बहालवाला प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी र आश्रित परिवार तथा वीरगती प्राप्त प्रहरीका आश्रित परिवारको औषधि उपचारमा २५% छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भिम बहादुर भण्डारी, विपद व्यवस्थापन प्राधिकरणका सिईओ अनिल पोख्रेल, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव डा. हरी प्रसाद लम्साल, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लगायत पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीविहरू, अमर प्रहरी परिवार, समाज सेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।यसैगरी गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको हाताभित्र नवनिर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प धनगढीको भवन तथा पूर्वाधारहरूको समेत बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको अवलोकन समेत गर्नुभयो । नेपाल प्रहरी कल्याण कोषको कुल ५ करोड ८७ लाख ७८ हजार ४ सय ४५ रूपैयाँ लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  

गृहमन्त्री रमेश लेखकबाट नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०५-१९

कञ्चनपुर, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन तथा भान्साघरको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन तथा कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा गृहमन्त्री लेखकले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री लेखकले शान्ति सुरक्षा, अमन चयन कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण नेपाल प्रहरीको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दै नागरिकले प्राप्त गर्ने प्रहरी सेवामा नवर्निमित भवनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । नेपाल प्रहरीले सीमित स्रोत साधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै उहाँले नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कानून कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा रहेको नेपाल प्रहरीका अधिकांश भौतिक संरचनाहरूलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै लैजाने योजना बमोजिम भवन निर्माणका कार्यहरूलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । सम्पूर्ण नागरिकहरूले गुणस्तरीय एवम् व्यावसायिक प्रहरी सेवा प्राप्त गर्न पाउन् भन्ने मुख्य उद्देश्यका साथ नेपाल प्रहरीको पूर्वाधारहरू विकसित गर्दै लैजानेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भिमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. चिरन्जिवी महत्तोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको बिनियोजित बजेटबाट कुल १३ करोड २६ लाख ६५ हजार ३ सय ३६ रूपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष, सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लगायत पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजिवि, अमर प्रहरी परिवार, समाज सेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । यसैगरी गृहमन्त्री रमेश लेखकले इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक तथा भान्साघर लगायतका भवनहरूको समेत बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन समेत गर्नुभयो ।नेपाल सरकारको बिनियोजित बजेटबाट कुल ४ करोड ५२ लाख ८९ हजार ४ रूपैयाँ ३७ पैसा लागतमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । 

जनतालाई गुणस्तरीय, आत्मीयतापूर्ण र परोपकारी भावका साथ सेवा उपलब्ध गराउनुपर्ने- प्रधानमन्त्री केपी शर्मा ओली
२०८१-०५-१०

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्न सफल भएकोमा बधाई दिँदै यस कार्यालयबाट जनतालाई गुणस्तरीय, आत्मीयतापूर्ण र परोपकारी भावका साथ सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनुभएको  छ ।   जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको नवनिर्मित कार्यालय भवन तथा भौतिक पूर्वाधारहरूको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको लामो इतिहास र अनुभव रहेको चर्चा गर्दै नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न एवम् अपराध अनुसन्धान तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आधुनिक प्रविधिको प्रयोग गर्दै आफ्ना कार्यहरू दक्षताका साथ सम्पन्न गर्न समेत नेपाल प्रहरी सक्षम रहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले राज्यको शक्तिको दुरूपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्ता क्रियाकलापहरू आपराधिक क्रियाकलाप भएको बताउँदै संविधान र कानून बमोजिम नेपाल प्रहरी आफ्नो कर्तव्य पालना गर्न ढुक्क साथ आगडि बढ्नुपर्ने बताउनुभयो । समाजमा अपराध हुन नदिन र आपराधिक मानसिकता फैलिन नदिन कसैले अपराध गराउन खोजेको छ भने त्यसलाई पहिलेनै पत्ता लगाएर नियन्त्रण एवम् अनुसन्धान गर्न धैरै महत्वपूर्ण भएको उल्लेख गर्दै अपराध रोकथाममा पुरानो तरिकाले मात्र नभई नयाँ कार्यशैलीको विकास गर्दै सुसज्जित बनाई अनुसन्धान भन्दा अगाडिको अनुसन्धान गर्न जरूरी रहेको उहाँले बताउनुभयो । समाजमा शान्ति सुरक्षा खलबलाउने एवम् देशलाई अझ अराजकता तर्फ लैजान खोज्ने विरूद्ध नेपाल प्रहरीले सतर्कता अपनाई काम गर्नुपर्ने बताउँदै आधुनिक प्रविधिको दुरूप्रयोगबाट हुने अपराध नियन्त्रणमा समेत अझ सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।  समारोहमा गृहमन्त्री रमेश लेखकले सरकारले नागरिकलाई सेवा प्रदान गर्ने क्रममा संविधान र कानूनको कार्यान्वयन गर्ने अंग मध्येको नेपाल प्रहरी प्रमुख अंग रहेको बताउँदै मुलुकमा प्रचलित कानून कार्यान्वयन एवम् नागरिकले प्राप्त गर्ने प्रहरी सेवामा नवनिर्मित भवनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको लक्ष्यसम्म देशलाई पुर्‍याउनको लागि सरकार अगाडि बढेको चर्चा गर्दै सरकारले जनतालाई प्रदान गर्ने सेवामा कुनै किसिमको कमी कमजोरी नहोस् एवम् जनताले विधिको शासन तथा शान्ति सुव्यवस्थाको अनुभूतिका साथै सरकारको लक्ष्य एवम् उद्देश्य अनुरूप नेपाल प्रहरीले कार्य गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीले सीमित स्रोतसाधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै जनताका मुद्दालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ काम गर्न सबै प्रहरी कर्मचारीहरूलाई उहाँले अग्रह समेत गर्नुभयो ।  सो अवसरमा गृहसचिव एकनारायण अर्यालले नवनिर्मित भवनबाट अझ प्रभावकारी सेवा प्रवाह हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीलाई समयानुकुल व्यवसायिक एवम् गतिशिल बनाउँदै लैजाने सरकारको नीति अनुरूप नवनिर्मित भवनलाई महत्वपूर्ण उपलब्धीको रूपमा लिएको बताउँदै यसले प्रहरी कर्मचारीको उत्प्रेरणा र मनोबलमात्र अभिवृद्धि नगरी नेपाल प्रहरीका काम कारवाहीलाई नागरिकमैत्री, व्यवसायिक एवम् परिष्कृत बनाउँदै सेवाग्राहीले समेत शान्ति सुरक्षा र अमन चयनको महसुस गरी प्रत्यक्ष रूपमा नागरिकलाई सहज, सुलभ र पारदर्शी सेवा दिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी स्थापनकालदेखि नै समाजमा हुने हर तरहका अपराधका घटना रोकथाम, नियन्त्रण र अनुसन्धान एवम् शान्ति सुरक्षा कायम राख्ने सन्दर्भमा राज्यको प्रमुख अंगको रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । समाजको परिवर्तनको गति र नागरिकको चाहनालाई आत्मसाथ गर्दै प्रहरीको सेवा पनि थप जनमुखी, परिष्कृत, उत्तरदायी, सेवामुखी र सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय कटिवद्ध रहेको र समयसापेक्ष सांगठनिक विकास तथा प्रहरी सेवामा प्रभावकारीता वृद्धि गर्दै आन्तरिक सुदृढिकरण र शुद्धिकरण गर्ने उद्देश्य कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ कार्यमैत्री वातावरण निर्माण भई आम नागरिकमा हुने सेवा प्रवाह थप गुणस्तरीय एवम् प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । नवनिर्मित सुविधा सम्पन्न भवनले राज्यको प्रमुख सुरक्षा निकायको दरिलो भौतिक उपस्थिति मात्र होइन, नेपाल प्रहरीका काम कारवाहीलाई थप नागरिकमैत्री एवम् परिष्कृत बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नयाँ भवनबाट सम्पादन हुने प्रहरी सेवा प्रवाह पनि थप उर्जामय, नागरिकमैत्री, नविन सोंच र उच्चस्तरको हुनुपर्ने र सम्पादन हुने कार्यशैलीले सेवा प्रवाहमा स्तरवृद्धिको सांगठनिक प्रतिबिम्बित  गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १ अर्ब २६ करोड ७४ लाख ९६ हजार ९९ रूपैयाँ ८१ पैसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक/ विकास सल्लाहकार युवराज खतिवडा, महान्यायाधिवक्ता रमेश वडाल, प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका पूर्व मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान, मुख्य सचिव लिलादेवी गड्तौला, कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देल, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, जिल्ला न्यायाधिश, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

निर्माणाधिन प्रतिष्ठानको समयमै गुणस्तरका साथ सम्पन्न गर्न क्रियाशील हुनुपर्ने : गृहमन्त्री रमेश लेखक
२०८१-०४-३२

काभ्रे, गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती नगरपालिका-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको शुक्रबार अनुमगन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले यस परियोजना महत्वपूर्ण भएको चर्चा गर्दै निर्माण कार्यमा देखिएका समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले निर्माणाधिन प्रतिष्ठान परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माण कार्यलाई समयमै सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको चर्चा गर्नुभयो । निर्माणको क्रममा देखा परेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल सरकार, स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, भारतीय राजदूतावास नेपालका प्रथम सचिव अबिनाश कुमार सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षकहरू, पनौती नगरपालिकाका प्रमुख लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत अनुगमन तथा निरीक्षण गर्नुभयो ।नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त कार्यक्रममा Central Public Works Department (CPWD)  का परामर्शदाता ई. राजेश कुमारले निर्माणाधिन प्रतिष्ठान सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।