ईलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित कार्यालय भवन उद्घाटन
२०७९-०६-११
- A
- A-
- A+
मोरङ, १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित कार्यालय भवनको मंगलबार बिहान उद्घाटन भएको छ ।
भवन उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको प्रहरी पहिला आफैमा सुरक्षित हुनुपर्ने भएकोले प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनुभयो ।
कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने गरी खटिने प्रहरीको गाँस, बास र कपासमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै चौबिसै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र हौसलाका साथ दुरुस्त भई कार्यक्षेत्रमा खटिन प्रेरणा मिल्ने बताउनुभयो ।
उक्त साँढे २ तले नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।