प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरीको महिला क्रिकेट टिमको विजयी सुरूवात

२०७९-०६-२४

  • A
  • A-
  • A+
Share

कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब आफ्नो पहिलो खेलमा विजयी भएको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा आएको कर्णाली प्रदेश १०.२ ओभरमा ७ विकेटको क्षतिमा १७ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएपछि डिएल मेथोडको आधारमा नेपाल पुलिस क्लब विजयी भएको हो । खेलमा सर्वाधिक २५ रन बनाएकी नेपाल पुलिस क्लबकी सम्झना खड्का प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले १६ रन, काजल श्रेष्ठले १६ रन, सम्झना खड्का २५ रन, अप्सरी बेगमले ४ रन, रेवती धामीले १४ रन, कविता जोशीले ८ रन र रूबिना क्षेत्रीले ९ रन जोड्दै उक्त योगफल बनाएका थिए भने बलिङतर्फ सबनम राई, संगिता राई, कविता जोशी, ईश्वरी बिष्ट र हिरुमई रायले समान १ विकेट लिएका थिए । 

दुई समूहमा विभाजित महिला क्रिकेट प्रतियोगितमा नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह 'बी' मा रहेको छ । जसमा कर्णाली प्रदेश, १ नम्बर प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । समूह 'ए' मा सशस्त्र प्रहरी, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । नेपाल प्रहरीको महिला क्रिकेट टिमले असोज २६ गते १ नम्बर प्रदेशको टिमसँग दोस्रो खेल र असोज २८ गते लुम्बिनी प्रदेशसँग तेस्रो खेल खेल्नेछ । 

नवौँ राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४९५ जना खेलाडी र ९२ जना अफिसियल गरी कुल ५८७ जनाको सहभागिता रहेका छन् । एथलेटिक्स,  क्रिकेट, फुटबल, आई टि एफ तेक्वान्दो, आर्चरी, उसु, कबड्डी, कराँते, कुस्ती, खो–खो, गल्फ, जुडो, टेबल–टेनिस, ट्रायथलन, तेक्वान्दो, पौडी, फुल कन्ट्याक्ट कराँते, बक्सिङ, बास्केटबल, बुद्धिचाल, भलिवल, भारोत्तोलन, रग्बी (7A Side), लन टेनिस, व्याडमिन्टन, शारीरिक सुगठन, सफ्ट टेनिस, सुटिङ र हक्कीमा नेपाल प्रहरीका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । 

      



सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-१६

बैतडी, दोगडाकेदार गाउँपालिका-७ खोचलेक बजार बस्ने ५० वर्षीय वीर सिंह कार्कीलाई अवैध लागूऔषध चरेश १ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कार्कीले संचालन गरेको किराना पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  झापा, विर्तामोड नगरपालिका-५ जात्रुबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित भारत घर भएका २५ वर्षीय दिलसाद रहमान समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले डब्लुबि ७४ बि ए ६७७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ४९ एम्पुल, नुर्फिन १ सय ४६ एम्पुल र फेनारगन १ सय ५० एम्पुल सहित सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय सञ्जु राई समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट करिब १५ केजी अवैध लागूऔषध गाँजा फेला पारी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले बसपार्कस्थित पुरानो नारायणी काउण्टरको बाहिर प्यासेजमा वेवारिसे अवस्थामा रहेको २ वटा झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१०-१६

तेह्रथुम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-६ फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ललितपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा तारुघाट गाउँपालिका-८ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना पक्राउ
२०७९-१०-१६

पर्सा, मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दिपक कुमार पटेल, सोही महानगरपालिका-२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका-१९ बस्ने २२ वर्षीय राज कुमार साह, सोही महानगरपालिका-२५ बस्ने २६ वर्षीय सुशिल कुमार साह, सोही महानगरपालिका-२४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोईरी, पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय संजय चौहान र बहुदरमाई नगरपालिका-९ बस्ने २८ वर्षीय हरिओम गुप्ता रहेका छन् । सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भन्दै प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिई अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-१६

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-९  बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ साउन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, ३ दिन कैद र ३८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।