नेपाल प्रहरीको महिला क्रिकेट टिम फाइनल प्रवेश
२०७९-०६-३१
- A
- A-
- A+
कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशनलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ३६ रनले पराजित गरेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २३ रनको योगफल तयार बनाएको थियो । जवाफी ब्याटिङमा आएको बागमती प्रदेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८७ रन मात्र बनाएको थियो ।
प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी काजल श्रेष्ठले ४६ रन, कविता कुँवरले २६ रन, अप्सरी बेगमले ६ रन, रुबिना क्षेत्रीले नटअउट १७ रन र कविता जोशीले नटआउट १५ रन जोडेका थिए भने अतिरिक्त १३ रन प्राप्त भएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले ३ विकेट, ईश्वरी विष्टले २ विकेट, रूबिना क्षेत्री र संगिता राईले समान १ विकेट लिएका थिए । खेलमा ब्याटिङमा ३५ बल खेल्दै २ चौका र १ छक्का सहित २६ रन तथा बलिङमा ३ विकेट लिएकी नेपाल पुलिस क्लबकी कविता कुँवर प्लेयर अफ द म्याच घोषित भइन् ।
नेपाल प्रहरीको महिला क्रिकेट टिमले कात्तिक १ गते सशस्र प्रहरीको महिला क्रिकेट टिमसँग स्वर्ण पदकको लागि फाइनल प्रतिस्पर्धा गर्नेछ ।