प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको ९०औं महासभामा सहभागी हुन भारत प्रस्थान
२०७९-०६-३१
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ गतेदेखि ४ गतेसम्म (तदनुसार १८-२१ अक्टोबर २०२२)सम्म संचालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी र प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा समेत ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्र बहादुर धानुक, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाई गर्नुभयो ।
१९५ इन्टरपोल सदस्य राष्ट्रका Head of NCB तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने र विभिन्न सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराध जस्ता विषयहरुका संकल्प प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ ।
प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।