नेपाल प्रहरीको महिला क्रिकेट टिमलाई स्वर्ण पदक
२०७९-०७-०१
- A
- A-
- A+
कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत मंगलबार भएको महिला २०-२० क्रिकेट फाइनल खेलमा नेपाल पुलिस क्लबले सशस्र प्रहरीको महिला क्रिकेट टिमलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले एपिएफलाई ५ रनले पराजित गरेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८९ रनको योगफल तयार बनाएको थियो । जवाफी ब्याटिङमा आएको एपिएफले २० ओभरमा ७ विकेटको क्षतिमा ८४ रन मात्र बनाएको थियो ।
प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी काजल श्रेष्ठले २७ रन, कविता कुँवरले ११ रन, सम्झना खड्काले २१ रन, रुबिना क्षेत्रीले ८ रन, अप्सरी बेगमले नटअउट २ रन र कविता जोशीले नटआउट १३ रन जोडेका थिए भने अतिरिक्त ७ रन प्राप्त भएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबकी ईश्वरी विष्टले २ विकेट, रूबिना क्षेत्री, संगिता राई, हिरूमाई रायले समान १ विकेट लिएका थिए । खेलमा नेपाल पुलिस क्लबकी ईश्वरी विष्ट प्लेयर अफ द म्याच घोषित भइन् ।