नवनियुक्त जिल्ला न्यायधीशहरुबाट डिजिटल फरेन्सिक ल्यावको स्थलगत अध्ययन भ्रमण सम्पन्न
२०७९-०७-०२
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय न्यायिक प्रतिष्ठानद्वारा नवनियुक्त प्रशिक्षार्थी जिल्ला न्यायधीशहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत डिजिटल फरेन्सिक ल्यावको बुधबार स्थलगत अध्ययन भ्रमण गराइएको छ । उक्त प्रतिष्ठानमा तालिमरत २३ जना नवनियुक्त प्रशिक्षार्थी जिल्ला न्यायधीशहरुले डिजिटल फरेन्सिक ल्यावको भ्रमण गरेका हुन् ।
उक्त प्रतिष्ठानद्वारा सञ्चालित अभिमुखीकरण कार्यक्रम अन्तर्गत न्याय सम्पादनको क्रममा आवश्यक पर्ने ज्ञान एवं सीप विकासका लागि उक्त भ्रमण भएको हो ।
कार्यक्रममा डिजिटल फरेन्सिक ल्यावका प्रहरी निरीक्षक ई. मुकेश तिवारीले न्यायिक निकायसँगको सम्बन्ध र समन्वय, डिजिटल फरेन्सिक ल्यावको महत्व, यसको क्षेत्र, काम कर्तव्य र अधिकार, रणनितिहरु, अपराधका प्रकृति, न्याय निरुपणमा यसको भूमिका तथा चुनौती लगायतका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै प्रहरी निरीक्षक तिवारीले प्रशिक्षणको क्रममा प्रशिक्षार्थीले राखेका जिज्ञासाहरुको सम्बन्धमा प्रष्टीकरण समेत गर्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट नवनियुक्त जिल्ला न्यायधीश भुवन गिरीले फरेन्सिक सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान एवं यसका चुनौतीको बारेमा जान्न पाउँदा भ्रमण फलदायी रहेको बताउनुभयो ।