प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई ५८ स्वर्ण

२०७९-०७-०३

  • A
  • A-
  • A+
Share

 कास्की, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको छ । 

विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ५ कास्य, जुडोमा ६ स्वर्ण, ३ रजत र ८ कास्य, टेबल टेनिसमा ६ स्वर्ण, २ रजत र १ कास्य,  एथलेटिक्समा २ स्वर्ण, ४ रजत र ४ कास्य, ब्याडमिन्टनमा २ स्वर्ण, २ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र ३ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, सुटिङमा १ स्वर्ण, १ रजत र ३ कास्य, आर्चरीमा १ स्वर्ण, २ रजत र १ कास्य, बक्सिङमा १ स्वर्ण, १ रजत र १ कास्य, महिला भलिबलमा १ रजत, बुद्धिचालमा ३ रजत, लन टेनिसमा १ रजत र २ कास्य, ट्रायथलनमा १ रजत र १ कास्य, तथा आईटिएफ तेक्वान्दोमा ४ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ २२ स्वर्ण, २४ रजत र ३० कास्य,  पुरूषतर्फ ३४ स्वर्ण, २५ रजत र २५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्न सफल भएका छन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबकी विद्या राईले महिला ८७ केजी तौल माथि स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितिन् ।  उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गर्दै कीर्तिमान कायम गरेकी हुन् । यसैगरी पुरूष ९६ केजी तौल समूहमा नेपाल पुलिस क्लबका विशाल सिंह बिष्‍टले क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका छन् । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १६१ गरी कुल २८१ तौल भार उठाउँदै स्वर्ण जितेका हुन् । यस्तै १०२ केजी तौल समूहमा नेपाल पुलिस क्लबका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका छन् । उनले स्न्याचमा ११३ केजी र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५२ केजी भार उठाएका हुन् । यसैगरी पुरूष १०९ केजी माथि तौल समूहमा नेपला पुलिस क्लबका सागर भण्डारीले स्न्याचमा ११५ केजी र क्लीन एण्ड जर्कमा १३५ गरी कुल २५० केजी भार उठाउँदै स्वर्ण पदक जितेका छन् । यसैगरी पुरूष १०९ केजी तौल समूहमा नेपाल पुलिस क्लबका राजिव महर्जनले स्न्याचमा ११३ केजी र क्लीन एण्ड जर्कमा १२५ गरी कुल २३८ केजी भार उठाउँदै रजत पदक प्राप्त गरे । साथै महिला ८७ केजी तौल समूहमा नेपाल पुलिस क्लबकी जयन्ती श्रेष्‍ठले स्न्याचमा ६३ केजी र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार उठाउँदै रजत पदक प्राप्त गरिन् । सो प्रतियोगितामा नेपाल पुलिस क्लबले सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै टिम च्याम्पियन समेत बन्न सफल भएको छ । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ज्याभ्लिङ थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेकी छिन् । उनले ४७.६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । यस अघि आठौं राष्ट्रिय खेलकुदमा आर्मीकी लक्ष्मी थारूले ४२.२७ थ्रो गर्दै कीर्तिमान बानएकी थिइन् ।  यस्तै एथलेटिक्स अन्तर्गत ८०० मिटर दौडमा नेपाल पुलिस क्लबका तेज बहादुर कार्कीले रजत पदक प्राप्त गरेका छन् । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको ट्रायथलनमा नेपाल प्रहरीका श्रेवी महर्जनले रजत तथा मौलिक महर्जनले कास्य पदक प्राप्त गरेका छन् । श्रेवीले निर्धारित दुरी १ घण्टा १९ मिनट १५ सेकेन्डमा पुरा गरेकी थिइन भने मौलिकले निर्धारित दुरी १ घण्टा १४ मिनट ५६ सेकेन्डमा पुरा गरेका थिए । 

यस्तै पोखरा रंगशालास्थित बुधबार भएको ब्याडमिन्टन प्रतियोगितामा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल मेन्स सिंगल बिधामा स्वर्ण पदक जितेका छन् । सोही बिधामा नेपाल पुलिस क्लबकै बिष्णु कटुवालले रजत जिते । यस्तै मिक्स डबल्सतर्फ नेपाल पुलिस क्लबका जीवन आचार्य र निता लम्सालको जोडीले आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१-१२, २१-११ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । यस्तै मेन्स डबल्सतर्फ नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र सुदिप सेढाईको जोडीले आर्मीका प्रफुल महर्जन र रूकेश महर्जनको जोडीलाई २१-१९ र २१-१७ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका छन् । साथै सोही बिधामा नेपाल पुलिस क्लबका बिष्णु कटुवाल र जिवन आचार्यले कार्य पदक प्राप्त गरे । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखराको आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका नगेन्द्र आचार्यले मेन्स स्ट्याडर्डतर्फ स्वर्ण पदक जितेका छन् भने मेन्स रिकर्भतर्फ तिलक पुन मगरले रजत प्राप्त गरेका छन् । यस्तै मेन्स स्ट्याडर्डको टिम बिधातर्फ नगेन्द्र आचार्य, जिवन पुन र हरि बहादुर बुढाले कास्य पदक प्राप्त गरेका छन् । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको टेबल टेनिस प्रतियोगितामा मेन्स संगिलतर्फ नेपाल प्रहरीका श्यान्टु श्रेष्‍ठ र वुमेन्स सिंगलतर्फ नबिता श्रेष्‍ठले स्वर्ण पदक जिते । साथै नेपाल पुलिस क्लबका एलिना महर्जनले वुमेन्स सिंगलतर्फ रजत पदक प्राप्त गरिन् । यस्तै सुटिङ प्रतियोगिता अन्तर्गत एयर पेस्तोल पुरुष एकलतर्फ नेपाल पुलिस क्लबका सुकदेव चौधरीले स्वर्ण जिते भने एयर राईफल पुरुष एकलतर्फ नेपाल पुलिस क्लबका धन बहादुर वि.क.ले कास्य पदक जितेका छन् । यस्तै बक्सिङ प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबका चन्द्र बहादुर थापाले स्वर्ण जिते भने नेपाल पुलिस क्लबका दिवाना शेर्माले रजत र निशा तामाङले कास्य पदक प्राप्त गरे । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको जुडो प्रतियोगितामा नेपाल पुलिस क्लबका मनिष महत्तो, दिपा गुरुङ र राजन जोशीले स्वर्ण पदक जितेका छन् । सोही प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबका मदु रोक्का मगर र पुजा राजवँशीले रजत तथा श्रीराम मकाजु, रजनी मगर र भावना घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन् । 




सम्बन्धित समाचार
आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको स्वागत कार्यक्रम सम्पन्न
२०८२-०८-२६

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती नबिना खत्री कार्कीलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कार्कीले लागूऔषध प्रयोगकर्ताहरूको मनोबल वृद्धि गर्दै समाजमा पुनर्स्थापना गराउन यस सुधार केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गर्न तथा केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउन केन्द्रका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सरोकारवाला निकायहरू र नागरिक समाजबाट महत्वपूर्ण सुझाव तथा सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी सचिव शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८२-०८-२६

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि २१ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ४ सय ३८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटwww.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी निरीक्षक पदको लागी पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् भने प्रहरी सहायक निरीक्षक पदको लागी पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

मोटरसाइकल आउट राइडर्स तालिम सुरू
२०८२-०८-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको मोटरसाइकल आउट राइडर्स तालिम आइतबारबाट सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले उक्त तालिमको उद्‍घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिई योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अशोक केसीले ३५ कार्य दिनको उक्त तालिममा १ जना प्रहरी सहायक निरीक्षक र २९ जना प्रहरी जवान गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता
२०८२-०८-१४

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता  भएका छन् । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो ।  साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका Lucas Philippe नियुक्त हुनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो ।उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गर्नुभएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८२-०८-०७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।