प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

२०७९-०७-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई स्वर्गीय कुलानन्द स्मृति पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आशिस पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्ण बहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षकहरूलाई समेत पुरस्कार प्रदान गर्नुभयो । 

उक्त अवसरमा गृहमन्त्री खाणले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्ने, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्ने, महिला बालबालिका, जेष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन कानूनले निर्दिष्ट गरेका जिम्मेवारीलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन दीक्षित हुने प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । कानूनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतिमा नेपाल सरकार र गृहमन्त्रालयको पूर्ण साथ रहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । 

गृहमन्त्री खाणले तालिमका दौरान प्रशिक्षार्थीले बगाएको पसिनाले भोलिका दिनमा फिल्डमा आउनसक्ने हर चुनौतिको सामना गर्न सफल र सक्ष्म हुने विश्वास व्यक्त गर्नुका साथै तालिममा सिकेका सिप मार्फत अपराध नियन्त्रण र अनुसन्धान क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने अपेक्षा रहेको उल्लेख गर्नुभयो । कठिन र चुनौतिपूर्ण घडीमा राष्ट्रले सुम्पेका हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै उहाँले दीक्षित हुने अधिकृतहरू हरेक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  

गृहमन्त्री खाणले नेपाल प्रहरी जस्तो गतिशिल संगठनमा तालिमको महत्व बारे नेपाल सरकार र गृह मन्त्रालय पूर्ण जनाकार रहेको चर्चा गर्दै नेपाल प्रहरीका तालिममा आवश्यकता अनुरूप बजेट विनियोजन हुँदै आएको तथा विकसित चुनौतिको सामना गर्न सक्ष्म जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महसुस गरेमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेको समेत उल्लेख गर्नुभयो । 

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेतृत्व विकास प्रहरी निरीक्षक तालिमको अभिन्न अंग रहेको चर्चा गर्दै यस तालिमले दीक्षित हुने प्रशिक्षार्थीहरूको नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो । 

हाम्रो समाज र आम नागरिकले प्रहरीबाट उच्च अपेक्षाहरू गरेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले विवेकसम्मत भई व्यावसायिकता अंगिकार गरेमा मात्र आम नागरिकका जायज तथा कानूनसम्मत अपेक्षा पूरा गर्न सकिने उल्लेख  गर्नुभयो । व्यावसायिक उत्कृष्टता, निष्ठा र ईमानदारीको उच्चतम् स्तर कायम गरी कार्यक्षेत्रमा आफूलाई प्रस्तुत गर्न दीक्षित हुने प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । कानूनले निर्दिष्ट गरेको गरेको परिधि भित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन एवम् गैरकानूनी तथा आपराधिक क्रियाकलाप विरूद्ध थप निर्मम हुन समेत उहाँले निर्देशन दिनुभयो । 

चेन अफ कमाण्ड नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण कार्यशैली रहेको बताउँदै यस कार्यशैलीको प्रवर्द्धन गरी अक्षुण्ण राख्नु सबैको कर्तव्य रहेको बताउनुभयो । साथै चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको समेत उहाँले बताउनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले आफूलाई प्राप्त जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो । 

उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन सह-प्रा.डा. हरि प्रसाद अधिकारीले पिजीडिपीएस कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई अनुशासन र शिक्षा विकास गर्न प्रश्रय दिएको बताउनुभयो । प्रहरी संगठनको आवश्यकता अनुसार  पिजीडिपीएस कार्यक्रमलाई समयानुकुल परिमार्जन गर्दै लैजानु पर्ने उल्लेख गर्दै संगठनको सेवालाई थप चुस्त र दुरुस्तरूपमा कार्य सम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूमा प्रतिवद्धता, निरन्तरता र समन्वय आवश्यक रहेको चर्चा गर्नुभएको 

समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । साथै उहाँले तालिम सम्बन्धी जानकारी दिँदै २०७८ साउन १३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १४ महिला सहित कुल १ सय ४६ जना प्रहरी निरीक्षकहरु सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको बताउनुभयो ।

प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगितीक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।

दीक्षान्त समारोहमा महान्यायधिवक्ता खम्म बहादुर खाती, गृह सचिव विनोद प्रकाश सिंहका साथै सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा वरिष्ठ अधिकृतहरु, संचारकर्मीहरु, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो । 



सम्बन्धित समाचार
हराएका २६ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०६-२०

काठमाडौं, विभिन्न ठाउँ र मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा परिवर्तित नम्बर प्लेट राखेको अवस्थामा काँडाघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानिलकण्ठ, नेपालटार, ठमेल र कलंकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

नेपाल प्रहरीको महिला भलिबल टिमलाई काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि
२०८१-०६-०६

काठमाडौं, मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म संचालित काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि नेपाल प्रहरीको महिला भलिबल टोलीले हासिल गरेको छ ।प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल प्रहरीको महिला भलिबल टोलीले उक्त उपाधि हासिल गरेको हो । प्रतियोगितामा नेपाल प्रहरीको महिला भलिबल टोलीका उषा भण्डारी उत्कृष्ट आउट साइड हिटर तथा सर्वोत्कृष्ट खेलाडी, सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर ट्रायल र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भए । 

हेभी सवारी चालक तालिम सुरू
२०८१-०६-०२

 काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने १५ औं समूहको हेभी सवारी चालक तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन   गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८१-०५-३०

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५२औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बोहराले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्नुभयो । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ६ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार २१ जना र प्रहरी जवान ३९ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न
२०८१-०५-३०

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा संचालित ३४औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।उक्त अवसरमा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारा देवि थापाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ६ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान १६ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८१-०५-२८

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि ६४ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ५६ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।