प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी र नेपाल चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९-०९-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी र नेपाल चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले कलाकार र चलचित्र क्षेत्रबीचको समन्वय र सहयोग आदानप्रदानको लागि यो अन्तरक्रिया आयोजना गरिएकोले चलचित्र क्षेत्रलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताउनुभयो । 

नेपाल प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकोले प्रहरी राम्रो भएमा मात्र समाज राम्रो हुने र प्रहरीलाई नकारात्मक चरित्रको रूपमा मात्र प्रस्तुत गर्दा प्रहरी सेवा प्रति नागरिकको आकर्षण कम हुनसक्ने प्रति चिन्ता व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक राईले चलचित्रको सिर्जना र कथा मर्नु हुँदैन भन्नेतर्फ समेत नेपाल प्रहरी सजग रहेको बताउनुभयो । साथै उहाँले तल्लो दर्जाको प्रहरी कार्यक्षेत्रका वास्तविक हिरो भएकाले उनीहरूको कथावस्तुलाई चलचित्रले समेटोस् भन्ने अपेक्षा व्यक्त गर्दै चलचित्र क्षेत्रको अपेक्षा पुरा गर्न नेपाल प्रहरी सदैव प्रतिवद्ध रहेको बताउनुभयो । चलचित्र क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले साइबर सुरक्षाको सम्बन्धमा व्यक्त गरेको चिन्ताप्रति लक्षित गर्दै प्रहरी नायव महानिरीक्षक राईले यस सम्बन्धमा साइबर व्यूरो मार्फत  प्रभावकारी रुपमा काम गर्न सकिने बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले चलचित्र छायांकनको क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकंनस्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले चलचित्र छायाकंनको क्रममा र हलमा फिल्म लागेको पहिले दिनमै मोबाइलमार्फत दृश्य खिचेर युटुबमार्फत प्रसारण गरिदिनाले निर्माताको करोडौं नोक्सान भएकोले यसलाई नियमन गर्न प्रहरीको सहयोगको समेत अपेक्षा गर्नुभयो । पछिल्लो समयमा चलचित्र छायांकनमा ड्रोनको प्रयोग अनिवार्य जस्तै भएकोले यसको प्रयोग सहजिकरणमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

सो अवसरमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र निर्माणको क्रममा नेपाल प्रहरीसँग सम्बन्धित दृश्यहरू सुधार गर्न प्रयत्नरत रहेको बताउनु हुँदै यसका लागि नेपाल प्रहरीको तर्फबाट समन्वय अधिकृत व्यवस्थापन गरिदिए अझ सहज हुने उल्लेख गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ कलाकार निर शाहले नेपाल प्रहरीसँग चलचित्र उद्योगको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदान प्रदान गर्न नेपाली चलचित्र उद्योग तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । केही संवेदनशील विषयमा निर्णय लिँदा त्यस क्षेत्रका विज्ञको आवश्यकता पर्ने उल्लेख गर्दै वरिष्ठ कलाकार शाहले चलचित्रमा प्रहरीको चरित्र, प्रहरीसँग सम्बन्धित प्रसंग उल्लेख भएका संवेदनशील विषयमा सुधार गर्न चलचित्र सम्बद्ध व्यक्तिहरूसँग निरन्तर रूपमा अन्तरक्रिया हुनुपर्ने बताउनुभयो । समस्या समाधान गर्न लामो विवेचना र विश्लेषण आवश्यक पर्ने भएकोले यसतर्फ आवश्यक समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सहभागिहरूले चलचित्र निर्माणका दौरान महसुस गरेका अप्ठ्यारा र त्यसको सहजिकरणका लागि नेपाल प्रहरीको भूमिकाको बारेमा आफ्ना धारणाहरू व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै कार्यक्रमको उद्देश्य, पृष्ठभूमि र अन्तरक्रियाका विषयवस्तुहरूको बारे प्रकाश पार्नु भएको थियो । चलचित्रमा देखाइने प्रहरीले गर्ने क्रुर व्यवहारसँग सम्बन्धि दृश्य वास्तविक जीवनमा मानव अधिकार विरूद्धको कार्य भएकोले उक्त दृश्य देखाउनु सान्दर्भिक नहुने समेत उहाँले बताउनुभयो । उक्त कार्यक्रममा नेपाल चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तु अनुसार चलचित्रमा पक्राउ परेका व्यक्तिहरु उपर कानुनसम्मत एवम् मानवोचित व्यवहार प्रस्तुत, चलचित्र छायाङ्कन पूर्व प्रहरी प्रधान कार्यालयसँग समन्वय लगायतका विषयमा, प्रहरीले निर्माण गरेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री चलचित्र हलमा प्रसारण गर्ने पद्दतीको विकास लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्ल, वरिष्ठ संगितकार सम्भुजित बास्कोट, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र निर्माण संघ, गितकार संघ नेपाल, द्वन्द्व कलाकार संघ, टेलिभिजन कलाकर्मी मञ्च लगायत संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू, चलचित्र विज्ञहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको स्वागत कार्यक्रम सम्पन्न
२०८२-०८-२६

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती नबिना खत्री कार्कीलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कार्कीले लागूऔषध प्रयोगकर्ताहरूको मनोबल वृद्धि गर्दै समाजमा पुनर्स्थापना गराउन यस सुधार केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गर्न तथा केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउन केन्द्रका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सरोकारवाला निकायहरू र नागरिक समाजबाट महत्वपूर्ण सुझाव तथा सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी सचिव शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८२-०८-२६

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि २१ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ४ सय ३८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटwww.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी निरीक्षक पदको लागी पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् भने प्रहरी सहायक निरीक्षक पदको लागी पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

मोटरसाइकल आउट राइडर्स तालिम सुरू
२०८२-०८-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको मोटरसाइकल आउट राइडर्स तालिम आइतबारबाट सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले उक्त तालिमको उद्‍घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिई योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अशोक केसीले ३५ कार्य दिनको उक्त तालिममा १ जना प्रहरी सहायक निरीक्षक र २९ जना प्रहरी जवान गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता
२०८२-०८-१४

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता  भएका छन् । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो ।  साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका Lucas Philippe नियुक्त हुनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो ।उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गर्नुभएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८२-०८-०७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।