प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न

२०७९-०९-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं,  नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी र KOICA (Korea International cooperation Agency) को संयुक्त आयोजनामा संचालन भएको साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि दुई दिवसीय दोस्रो क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ । 

गोष्ठी समापनको अवसरमा आयोजित कार्यक्रममा साइबर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले धन्यवाद ज्ञापन गर्दै गोष्ठीमा भएको छलफल तथा अन्तरक्रियाले साइबर अपराध अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण ज्ञान हासिल भएको चर्चा गर्नुभयो । गोष्ठीमा भएका सैदान्तिक अभ्यासलाई व्यवहारमा लागू गर्न सके अझै फलदायी हुने अपेक्षा राख्दै आगामी दिनहरूमा समेत यस्ता गोष्ठीलाई निरन्तरता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  

उक्त अवसरमा KOICA नेपालका प्रोजेक्ट मेनेजर प्रो. गिबुम किमले सहभागीहरूबीच छलफल र सक्रिय सहभागीताले गोष्ठी फलदायी भएको चर्चा गर्नुभयो । नेपाल प्रहरीलाई साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको क्षमता अभिवृद्धिमा आफ्नो टिमको निरन्तर सहयोग रहने उहाँले बताउनुभयो ।    

गोष्ठीमा कोरियास्थित विश्वविद्यालयका प्रोफेसरहरूले Introduction of  Criminal Justice and role of prosecutors in Korea, International legal framework on Cybercrime, Transborder access to cloud data and jurisdiction, Artificial intelligence in digital Forensics र Cyber Security threats and the police’s response लगायतका विषयमा दुई दिनसम्म प्रशिक्षण प्रदान गर्नुभएको थियो । मानवअधिकार, डिजिटल फरेन्सिक एन्ड इन्टरनेशनल कन्भेन्सन सम्बन्धि जानकारी प्रदान गरी साइबर अपराधविरुद्ध नेपाल प्रहरीको क्षमतालाई सुदृढ गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको हो । 

गोष्ठीमा KOICA नेपालका प्रतिनिधिहरू, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, साइबर व्यूरो, सूचना प्रविधि निर्देशनालय, डिजिटल फरेन्सिक ल्याब र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । 


सम्बन्धित समाचार
श्रव्यदृश्य आधारभूत तालिम सुरू
२०८२-०४-२८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा संचालन हुने सातौं समूहको श्रव्यदृश्य आधारभूत तालिम सुरू भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले बुधबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‌घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी नायव महानिरीक्षक घिमिरेले प्रशिक्षार्थीहरूले पूर्णरूपमा समर्पित, सक्रिय एवम् लगनशील भएर प्रशिक्षणमा सहभागी हुनुपर्नेमा जोड दिँदै प्राप्त ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक कालिका कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान १३ जना गरी जम्मा २१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।

आसरा सुधार केन्द्रको २७औं वार्षिक साधारण सभा सम्पन्न
२०८२-०४-२८

काठमाडौं, आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती रूपा थापाको उपस्थितिमा आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिक साधारण सभा सोही केन्द्रमा बुधबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ ।सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले केन्द्रले सुधारात्मक उपायहरूको अवलम्बन गरी सामाजिक विसंगतिमा फसेका युवा पिढीलाई सहि बाटोमा ल्याई राष्ट्रको असल एवम् सक्षम नागरिकको रूपमा पुनर्स्थापना गर्ने कार्यमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । केन्द्रले लागूऔषध विरूद्धको जनचेतनामूलक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा संचालन गर्दै सेवालाई अझ बढि गुणस्तरीय बनाउनुका साथै लागूऔषध प्रयोगकर्ताहरूलाई उपचारका विभिन्न पद्दतिहरूबाट उपचार गरी सफल व्यक्ति बनाई घर तथा समाजमा पुर्स्थापित तथा पूनर्मिलन गराउन केन्द्र सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।उक्त केन्द्रकी सचिव शामिला पोखरेलले वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष कुसुम अधिकारीले आ.व. २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दिलिप सिंह देउवा, आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका सल्लाहकारहरू लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०४-१४

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिकाको आयोजना एवम् सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणको सहकार्यमा नागार्जुन नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशिला अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठूलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले आपसी समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशिला अधिकारीले यस कार्यक्रमले लागूऔषध नियन्त्रण तथा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणका अध्यक्ष प्रताप दानीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  नागार्जुन नगरपालिकाका प्रवक्ता एवम् नागार्जुन नगरपालिका-५ का वडा अध्यक्ष महेश रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा पौडेलले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुत गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।    कार्यक्रममा नागार्जुन नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणका पदाधिकारीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८२-०४-११

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले गत आर्थिक वर्ष २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत कुल दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्या बारे जानकारी दिनुभयो । प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटको क्रममा रहेका पदहरू, नयाँ नियुक्ति/ पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै प्रशिक्षण सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो । एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरण सम्बन्धी तथ्याङ्क समेत उहाँले प्रस्तुत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक घिमिरेले सो अवधिमा भएका चर्चित अपराधको अनुसन्धान सम्बन्धी विवरण, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता एवम् एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो ।   विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८२-०४-०८

काठमाडौं, नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।अवलोकन पश्चात आयोजित कार्यक्रममा नेपाल प्रहरीका सह-प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय तथा सहकार्यको क्षेत्र लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण समेत गर्नुभएको थियो । सो कार्यक्रममा सेनानी मनोज सुबेदीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।