प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवन उद्‍घाटन

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवन बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगंजमा आयोजित एक समारोहवीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले नवनिर्मित भवनको निरीक्षण गर्नुका साथै भवन परिसरमा वृक्षरोपण समेत गर्नुभयो । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज कार्यक्रममा आवद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउनुहुने प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायव उपरीक्षक निर्माला रायमाझी र प्रहरी नायव निरीक्षक पुलव राज गिरीलाई पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायव उपरीक्षक डा. अविनाश ध्वज जाशी र प्रहरी सहायक निरीक्षक हरिहर थापा समेतलाई पुरस्कार प्रदान गर्नुभयो । 

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका वाहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूको वृत्ति बिकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन अध्यापन गराउने देशकै नमूना शिक्षण संस्थाको रूपमा विकास गर्दै लैजानु पर्ने उहाँले बताउनुभयो । 

चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततीहरूमध्ये जेहेन्दार १ जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततीहरू १/१ जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने योजना रहेको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी कल्याण कोषको सहयोगमा नवनिर्मित जेष्ठ प्रहरी अतिथि गृहले उहाँहरूको अपेक्षालाई सम्मान र सम्बोधन गर्दै नेपाल प्रहरी अस्पतालबाट दैनिक रूपमा सेवा सुबिधा प्राप्त गर्ने कुल संख्यामध्ये करिब ४० प्रतिशत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू लाभान्वित हुने गरेको तथ्यले समेत पूर्व प्रहरी कर्मचारीहरूको सेवामा नेपाल प्रहरी अस्पताल प्रतिबद्ध रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । नेपाल प्रहरीका कर्मचारीहरूमा यस अतिथि गृहले संगठनप्रति सकारात्मक दृष्टिकोण बिकास गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

विरामी वा सेवाग्राहीको दर्जा हेरेर र पहुँचको आधारमा मात्र सेवा प्रवाह गरियो भने कुनै सार्थकता नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘अस्पतालबाट प्रदान गरिने सेवाहरूमा स्वास्थ्य अवस्थाको आधारमा सम्पूर्ण प्रहरी कर्मचारी र सर्वसाधारणको उत्तिकै सरल र सहज पहुँच हुनुपर्छ ।’ नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृहको प्रभावकारी संचालनको लागि आवश्यक कार्यविधि र मापदण्ड तयार गरी यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अस्पताल प्रशासनलाई उहाँले निर्देशन समेत दिनुभयो । 

सो अवसरमा नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरी संगठन स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रमहरू संचालन गरी राष्ट्रलाई आवश्यक दक्ष स्वास्थ्यकर्मीको उत्पादन गर्न विगत देखिनै प्रयासरत रहेकोमा यस शैक्षिक सत्रबाट शैक्षिक कार्यक्रम संचालनको लागि सम्बन्धन प्राप्त भई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन भएको बताउनुभयो । देशमा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खटिएका प्रहरी कर्मचारी तथा आफ्नो जीवनको उर्जावान समय प्रहरी सेवामा दिई अवकाश हुनु भएका पूर्व प्रहरी कर्मचारीहरू र तिनका आश्रित परिवारहरूको स्वास्थ्य उपचारलाई गुणस्तरीय बनाउन नेपाल प्रहरी अस्पताल प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । 

प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सञ्जय बिक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सम्बन्धी प्रतिवेदन र प्राविधिक प्रहरी निरीक्षक ई. शम्भू प्रसाद कोइरीले जेष्ठ प्रहरी अतिथि गृह भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 नेपाल प्रहरी कल्याण कोषको आन्तरिक श्रोतबाट निर्मित जेष्ठ अतिथि गृह भवन कुल २ करोड ८३ लाख ९२ हजार १ सय ८० रूपैयाँ ३८ पैसामा निर्माण कार्य सम्पन्न भएको हो । उक्त ३ तले नवनिर्मित भवनको कुल क्षेत्रफल ६ हजार ९ सय ७३ दशमलव ५५ वर्ग फिट रहेको छ । नवनिर्मित भवनको भुइँ तलामा मेश, इन्टरटेनमेन्ट हल, शौचालय तथा कार्यालय कक्ष रहेको   छ । पहिलो र दोस्रो तलामा २ वटा क्याबिन, ३ वटा कमन कोठा र ट्वाइलेट/बाथरूम ब्लकको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा १८ जनासम्म बस्ने क्षमता रहेको छ । 

उद्‍घाटन समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका प्रतिनिधिहरू, पूर्व प्रहरी संगठन तथा परिषदका अध्यक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइसेन्ज कार्यकारीणी समितिका पदाधिकारीहरू, प्राध्यापक तथा शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो । 



सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‌घाटन
२०८१-११-१२

बाँके, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुरको सोमबार एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आमनागरिकमा सेवा पुर्‍याउँदै आएको चर्चा गर्दै आज उद्‌घाटन भएको प्रहरी पेट्रोल पम्प नेपाल प्रहरीको मात्र नभई सबैको साझा सम्पत्ति भएको हुँदा यसले नेपाल प्रहरी तथा आमनागरिकका सवारी साधन समेतलाई सरल र सहज रूपमा इन्धन आपूर्ती गराउनुका साथै विशेष परस्थितिमा समेत इन्धनको आवश्यक्ता पूर्ती गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।    प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी शान्ति सुरक्षाको सन्दर्भमा आमजनता केन्द्रीत सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै आम नागरिकमा निष्पक्ष सेवा प्रवाह र प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न समुदायसँग सहकार्य गरी योजनाबद्ध ढंगबाट प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै उक्त अवसरमा प्रहरी नायव उपरीक्षक ई. रोशन सारू मगरले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरी कल्याण कोषको कुल ६ करोड ६४ लाख २७ हजार ७ सय ३६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न
२०८१-११-१२

काभ्रेपलाञ्चोक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।उक्त अवसरमा संघकी अध्यक्ष कुँवरले विद्यालयको मुखपत्र ‘दीपिका २०८१’ को विमोचन गर्नुका साथै विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरू, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उहाँले विद्यार्थीहरूबाट प्रदर्शित विभिन्न क्रियाकलापहरूको अवलोकन समेत गर्नुभयो ।  कार्यक्रममा संघकी अध्यक्ष कुँवरले नेपाल प्रहरीको पहिलो विद्यालयको रूपमा स्थापित यस विद्यालयले समाजका महत्वपूर्ण क्षेत्रका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत यस विद्यालयबाट दिक्षित विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धिहरूले यस विद्यालयको उत्कृष्टतालाई प्रमाणित गरेको बताउनुभयो ।  संघकी अध्यक्ष कुँवरले किताबी कोरा ज्ञानमा मात्रै सीमित नभएर अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा संचालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै जीवन उपयोगी बनाउँदै लैजानुका साथै विद्यार्थीहरूको प्रतिभा उजागर हुने वातावरण निर्माणलाई पनि प्राथमिकता दिन सकेमा विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने र त्यसले राज्यलाई पनि उपलब्धिमूलक परिणाम प्राप्त हुने चर्चा गर्नुभयो ।  कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोककी प्रमुख देवका ढकालले विद्यालयमा स्थापित विभिन्न अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभयो ।  नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक, ट्रयाक एण्ड फिल्ड ईभेन्ट्स तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका    थिए ।  उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-११-०४

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ फागुन २ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका ७५ जनामध्ये ७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । साथै सोही निर्णयबाट पदोन्नति हुनुभएका २ जना प्रहरी नायव उपरीक्षकहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ भने १ जना प्रहरी नायव उपरीक्षक हाल तालिमको सिलसिलमा विदेशमा रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत लाभ र स्वार्थ भन्दा माथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रन उहाँले निर्देशन दिनुभयो । प्रहरी सेवामा सबै नागरिकको सहज पहुँचको वातावरण निर्माण गरी प्रहरी सेवालाई थप विश्वसनीय बनाउन कानुन सम्मत तवरले कार्यसम्पदान गरी आम नागरिकको नजरमा प्रहरी प्रतिको सम्मान र विश्वास बढाउन थप कटिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक सुरेन्द्र प्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।  

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८१-१०-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा मंगलबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक झिल्के थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा संचालन गरी दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनिय योगदान पुर्‍याउने मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०८१’ को लोकार्पण तथा प्रतिष्ठान गित सार्वजनिकीकरण समेत गर्नुभयो । साथै उहाँले रस्साकस्सी खेल तथा महिला प्रहरी कर्मचारीहरूको दौड प्रतियोगिताका विजेतालाई पुरस्कार समेत प्रदान गर्नुभयो ।   समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले विधिको शासन, नागरिकको स्वतन्त्रता, मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई समाजमा प्रवर्द्धन गरी समुन्नत र सुरक्षित समाजको निर्माण गर्न सक्ने योग्य जनशक्ति उत्पादनमा समर्पित प्रतिष्ठानको योगदान सर्‍हानीय रहेको बताउनुभयो । संगठनले अख्तियार गरेका नीतिको सफल कार्यान्वयन तथा संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न व्यावसायिक तवरले प्रशिक्षित जनशक्तिद्वारा स्वतस्फूर्त रूपमा प्रदर्शित हुने निःस्वार्थ सेवा भाव र कर्तव्य बोधद्वारा प्रेरित कामकारबाहीबाट मात्र सम्भव हुने हुँदा समय, समाज र संगठनको आवश्यकता अनुसारको जनशक्ति उत्पादन प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख ध्येय हुनुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा केवल एक पेशा मात्रै नभई एउटा जीवनशैली भएको चर्चा गर्दै संगठनमा नवप्रवेशी सदस्यहरुलाई त्यो जीवनशैलीमा ढाल्ने प्रारम्भिक मार्ग प्रहरी प्रशिक्षण नै भएकोले यहाँका हरेक कर्मचारी सर्वोत्कृष्टताको अव्वल उदाहरण हुनुपर्ने बताउनुभयो । प्रशिक्षण केन्द्रहरूबाट प्रदान गरिने प्रहरी तालिमलाई प्रहरीको नजरबाट मात्र नभई नागरिक तथा सामाजिक दृष्टिकोणबाट हेरिनुपर्ने उल्लेख गर्दै सीपमूलक, समयसापेक्ष र व्यावहारिक प्रशिक्षण प्रदान गर्नेतर्फ प्रतिष्ठन केन्द्रीत रहनुपर्ने उहाँले बताउनुभयो ।  उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताउनुभयो । साथै उहाँले प्रतिष्ठानले प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधार तथा प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताउनुभयो । सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन, पिजिडिपिएस कार्यक्रमका सल्लाहकार, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व समादेशकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

हेड अफ एनसिबी कन्फरेन्समा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२०८१-१०-२८

काठमाडौं, इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने २०औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा Scenario of Crime Against Child विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूका एनसिबि प्रमुखहरु, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा Capacity development/building का विषयहरूमा Asia and the south Pacific Regional Round Table Meeting गर्ने कार्यक्रम समेत रहेको छ ।  इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने Head of NCB Conference यस वर्ष सन् २०२५ फेब्रुअरी ११ देखि १३ (तद्अनुसार २०८१ माघ २९ देखि फागुन १ गते) सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक कोमल शाह समेत सहभागी हुनु हुनेछ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित छात्रावास भवनको उद्‌घाटन
२०८१-१०-२५

काभ्रेपलाञ्चोक, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित छात्रावास भवनको शुक्रबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभयो । उद्‍घाटन पश्चात उहाँले नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माणमा विशेष योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई प्रंशसापत्र प्रदान गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको पहिलो विद्यालयको रूपमा स्थापित यस विद्यालयले नेपाल प्रहरी तथा सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रको साथै विद्यार्थीहरूको चौतर्फी विकासमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले विद्यालयले सुधारका लागि अंगिकार गर्ने रचनात्मक पहलहरू, विद्यालयलाई थप स्रोत तथा साधनहरूबाट सुसम्पन्न गराउने प्रयासहरू एवम् विद्यालयको क्षमता र सुविधा विस्तारसँगै समयानुकूल स्तरवृद्धि गर्ने सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालय सदैव चिन्तनशील रहँदै आएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले अध्ययनरत छात्राहरूको रहनसहन तथा बसाईमा सहजता प्रदान गर्ने र व्यवस्थापकीय दृष्टिकोणबाट समेत स्कुलको शैक्षिक गतिविध अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी सवल र सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो उत्रन विद्यालय व्यवस्थापन पक्षलाई उहाँले आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफ्नो शुभकामना मन्तव्य तथा स्कूलका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोतबाट कूल ६ करोड २५ लाख ८० हजार ३ सय ५४ रूपैयाँ ५८ पैसाको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, बनेपा नगरपालिकाका उपप्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।