प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीद्वारा आयोजित राष्ट्रिय दलित आयोगका पदाधिकारी एवम् कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ । 

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधान, ऐन र कानूनलाई क्रियाशिल बनाउन राष्ट्रिय दलित आयोगको गठन भएको र आयोगको भूमिकालाई प्रभावकारी बनाउन र दलितसँग सम्बन्धित कानूनको कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कानून कार्यान्वयनमा नेपाल प्रहरीले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

दलित विरूद्ध दैनिक जसो घटना घटिरहेको भएता पनि मुद्दा दर्ता अत्यन्त न्यून रहेको बताउँदै राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माले पहुँच नहुनेहरूको लागि न्यायको सबैभन्दा पहुँच हुने कार्यालय नै प्रहरीको हुने भएकोले प्रहरीले कुनै पनि विभेद नगरी न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । समाजिक सञ्जाल मार्फत दलित समुदायको मान प्रतिष्ठमा आँच आउने गतिविधि हुने गरेकोले त्यस्ता गतिविधिमा संलग्नलाई कानूनको दायरामा ल्याउन आग्रह गर्दै अध्यक्ष विश्वकर्माले शक्ति र सार्वजनिक पद धारण गरेको आधारमा दलित माथि दमन र दुर्व्यहार गर्ने कार्यलाई निरूत्साहित गर्न प्रहरीले आवश्यक कार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले आयोगप्रति नेपाल प्रहरीको अपेक्षालाई कार्यान्वयन गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै दलितको विषयमा शून्य सहनशिलता नीति अपनाएर सोही अनुरूप दलितहरूको समस्यालाई सम्बोधन गर्न राज्यका सवै सरोकारवाला निकायहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताउनुभयो । 

सो अवसरमा राष्ट्रिय दलित आयोगकी सदस्य मीना देवी सोवले राष्ट्रिय दलित आयोग र नेपाल प्रहरीवीचको यो अन्तरक्रिया अत्यन्तै प्रभावकारी भएकोले हरेक तीन/तीन महिनामा यस्ता अन्तरक्रिया आयोजना हुनुपर्ने बताउनुभयो । साथै उहाँले यस्तो अन्तरक्रिया कार्यक्रममा महिला प्रहरीको सहभागीता बढाउन समेत आग्रह गर्नुभयो । 

यसै अवसरमा राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्कीले स्कुले जीवनमा प्रहरीबाट प्राप्त प्रेरणालाई स्मरण गर्दै आफू प्रहरी संगठनप्रति सकारात्मक र प्रहरी कर्मचारीप्रति हार्दिकता रहेको बताउनुभयो । नेपाल प्रहरीले दलित सेल गठन गरेको प्रति धन्यवाद व्यक्त गर्दै जातीय विभेदका घटनामा निर्मम ढंगले अनुसन्धान गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीले गर्ने कामहरू कनूनको दायराभित्र रहेर सम्पादन हुने उल्लेख गर्दै नेपाल प्रहरीले नियमित रूपमा आयोगसँग समन्वय गरी दलितसँग सम्बन्धित समस्या समाधान गर्न सदैव प्रतिवद्ध रहेको बताउनुभयो । 

प्रहरी महानिरीक्षक सिंहले दलित समुदायलाई होच्याएर वा प्रतिष्ठामा आँच आउने गतिविधि गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउन समेत प्रहरी क्रियाशिल रहेको बताउँदै सामाजिक सञ्जालमार्फत देश बाहिर रहेर त्यस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिन कठिन भएता पनि त्यसतर्फ समेत आवश्यक कदम चालिने बताउनुभयो । दलितहरूको प्रतिनिधित्वका लागि नेपाल प्रहरीको भर्ना प्रकृयामा राज्यले अंगिकार गरेको समावेशी प्रावधानलाई अक्षरस पालना गरिएको समेत उहाँले बताउनुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरी दलित समुदायको सबैभन्दा बढी प्रतिनिधित्व भएको संगठन रहेको बताउनु हुँदै दलित समुदायको प्रतिनिधित्वको लागि नेपाल प्रहरी सदैव सकारात्मक रहेको समेत बताउनुभयो । राष्ट्रिय दलित आयोगका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थितिका लागि आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर रुपमा अन्तरक्रिया आयोजना हुने विश्वास व्यक्त गर्नुभयो । 


सो अवसरमा राष्ट्रिय दलित आयोगका निमित्त सचिव मनिता श्रेष्ठले नेपाल प्रहरीमा दलित समुदायको प्रतिनिधित्व उत्साहजनक रहेको चर्चा गर्दै नीतिगत सुधारको लागि प्रहरीबाट लिखित सुझावको अपेक्षा रहेको र यसले आगामी दिनमा योजना  निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सेवाग्राहीको विभेदसँग सम्बन्धित मुद्दाहरूको उचित सम्बोधनमा महत्वपूर्ण दायित्व निर्वाह गर्न समेत उहाँले नेपाल प्रहरीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले दलित समुदायको हकहित संरक्षणमा नेपाल प्रहरी अन्तर्गत दलित समुदायसँग सम्बन्धित नेपालमा बिद्यमान कानूनी व्यवस्था, नेपाल प्रहरीमा दलित समुदायको प्रतिनिधित्वको वर्तमान अवस्था, दलित सेलको काम कर्तव्य, दलित समुदाय माथि हुन सक्ने अपराध, विभेद, हिंसा र यसका स्वरूपहरू, दलित समुदायका नागरिकहरूलाई प्रहरी सेवा प्रवाह तथा कामकारवाहीमा प्रहरी कर्मचारीले ध्यान दिनुपर्ने कुराहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

अन्तरक्रियामा सहभागीहरूले जातीय विभेद लगायत दलितसँग सम्बन्धित समस्याहरूको समाधानका सम्बन्धमा आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।   

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।









सम्बन्धित समाचार
आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको स्वागत कार्यक्रम सम्पन्न
२०८२-०८-२६

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती नबिना खत्री कार्कीलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कार्कीले लागूऔषध प्रयोगकर्ताहरूको मनोबल वृद्धि गर्दै समाजमा पुनर्स्थापना गराउन यस सुधार केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गर्न तथा केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउन केन्द्रका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सरोकारवाला निकायहरू र नागरिक समाजबाट महत्वपूर्ण सुझाव तथा सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी सचिव शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८२-०८-२६

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि २१ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ४ सय ३८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटwww.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी निरीक्षक पदको लागी पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् भने प्रहरी सहायक निरीक्षक पदको लागी पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

मोटरसाइकल आउट राइडर्स तालिम सुरू
२०८२-०८-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको मोटरसाइकल आउट राइडर्स तालिम आइतबारबाट सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले उक्त तालिमको उद्‍घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिई योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अशोक केसीले ३५ कार्य दिनको उक्त तालिममा १ जना प्रहरी सहायक निरीक्षक र २९ जना प्रहरी जवान गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता
२०८२-०८-१४

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता  भएका छन् । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो ।  साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका Lucas Philippe नियुक्त हुनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो ।उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गर्नुभएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८२-०८-०७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।