प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई निर्देशन

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिनुभएको छ । 

  प्रहरी महानिरीक्षक सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी तस्करी नियन्त्रणमा अझ बढी आक्रमक भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखको रूपमा खटिदा आफ्नो मातहतमा रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै उहाँले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनु पर्ने बताउनुभयो । फरार अपराधी पक्राउ, गुण्डागर्दी, मिटर व्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने उल्लेख गर्दै विगतमा भएका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो । 

प्रहरी महानिरीक्षक सिंहले प्रहरी अधिकृतहरूले आफ्नो क्षेत्रमा नागरिकले अनुभूति गर्ने गरी प्रहरीका दैनिक काम कारवाहीहरू थप नागरिकमैत्री बनाउँदै लैजानु पर्ने उल्लेख गर्नुभयो । प्रहरी अधिकृतहरुले आफ्नै क्षेत्रमा हुने विभिन्न अपराधहरूको समयमा नै पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यक योजना बनाई आवश्यकता अनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी र कार्य विभागका प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।    


सम्बन्धित समाचार
नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी समापन
२०८१-१२-१७

काठमाडौं, नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तालिम क्यालेण्डरको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच गोष्ठी समापन गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रशिक्षण प्रदायक इकाइहरूले अघिल्लो तालिम क्यालेण्डर बमोजिम संचालित तालिमहरूका असल पक्षहरूको निरन्तरता तथा देखिएका समस्या एवम् सुधारका लागि आवश्यक पक्षहरू समेतको समीक्षा गर्दै आगामी दिनहरूमा तालिम संचालन गर्दा दूरदृष्टि पुग्नुपर्ने विषयका सम्बन्धमा गोष्ठी फलदायी रहने अपेक्षा रहेको बताउनुभयो । साइबर क्राइम, क्रिप्टोकरेन्सी, आर्थिक तथा वित्तिय अपराध सम्बन्धी अनुसन्धानका क्षेत्रलाई समेत सम्बोधन हुने तालिमका कार्यक्रम आगामी तालिम क्यालेण्डर निर्माणका क्रममा समावेश हुनुपर्नेमा उहाँले जोड दिनुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले संगठनलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन तथा विकास गर्ने कार्यमा नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो । नेपाल प्रहरीमा संचालन हुने तालिमहरूलाई अझ वैज्ञानिक, व्यवस्थित र उद्देश्य मुलक बनाउने लक्ष्यसहित आयोजना गरिएको गोष्ठीमा प्राप्त महत्वपूर्ण र विश्‍लेषणात्मक राय, सुझाव र सल्लाहहरूले तालिम क्यालेण्डर तर्जुमा र संचालन कार्यमा अतुलनीय योगदान पुगेको विचार उहाँले व्यक्त गर्नुभयो ।  प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रतिष्ठानका प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले गोष्ठीको सार सङ्क्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरू समेतले सुझाव तथा टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा आगामी आर्थिक वर्ष २०८२/०८३ को तालिम क्यालेण्डर निर्माण सम्बन्धमा तालिम आवश्यकता पहिचान, हालसम्म तालिम प्राप्त जनशक्ति र तालिम प्राप्त गर्न बाँकी जनशक्ति विवरण, प्रशिक्षण निकायले आफ्नो प्रशिक्षण ईकाइको विशिष्टता तथा विज्ञता अनुसारको तालिम प्रस्ताव, प्रहरी जवान तथा प्रहरी हवल्दारहरूको तालिम तथा वृत्ति विकासको अवसर समेतलाई ध्यान दिनुपर्ने लगायतका विषयहरूमा छलफल भएको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । 

उच्च मनोबलका साथ प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८१-१२-१६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तो सुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक थापाले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम् प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालित हुनुपर्नेमा जोड दिनुभयो । अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवम् जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न
२०८१-१२-१२

नवलपरासी पश्चिम, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित दशौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक थापाले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले सम्बोधनको क्रममा नेपाल प्रहरीमा संचालन हुने तालिमहरूमध्ये सबैभन्दा कठिन मानिने यस तालिम पुरा गर्नु आफैमा एउटा ठूलो उपलब्धि भएको चर्चा गर्दै तालिमले प्रहरी कारवाहीको सिलसिलामा आइपर्ने सम्भावित चुनौतिपूर्ण गतिविधिहरूमा आवश्यक पर्ने विशेष रणनीति, ज्ञान, सीप तथा कलाहरूको सापेक्ष प्रयोग गरी कार्यसम्पादन गर्न सक्ने योग्य जनशक्ति तयार गरेको बताउनुभयो । शारीरिक र मानसिक तन्दरूस्तीका साथै व्यक्तिगत इच्छाशक्ति, निष्ठा, स्वविवेक र साहसको पनि धेरै आवश्यक पर्ने यस तालिमबाट आर्जन गरेको प्रहरी कार्यका ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी जम्मा १ सय ५ जना प्रशिक्षार्थीहरू सहभागिता रहेको जानकारी दिनुभयो । उक्त समारोहमा प्रशिक्षार्थीहरूले बाधापार डेमोन्स्ट्रेशन, हतियार खोलजोड डेमोन्स्ट्रेशन, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अप्रेशन डेमोन्स्ट्रेशन, इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ डेमोन्स्ट्रेशन, खाली हात लडाई डेमोन्स्ट्रेशन, एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल डेमोन्स्ट्रेशन समेत प्रदर्शन गरेका थिए । समारोहमा सुनवल नगरपालिकाका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

दुई जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-१२-०८

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ चैत ७ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका २ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू रबिन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेत रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा सांगठनिक हित र विकासलाई केन्द्रमा राखी थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक रबिन कार्कीले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि प्राप्त जिमेवारीलाई नयाँ जोश र उर्जाका साथ वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।  

सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा
२०८१-१२-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी नागरिकले आस्था र विश्‍वास राखेको मुलुकको महत्वपूर्ण संगठन भएको चर्चा गर्दै  निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनु जरूरी रहेको बताउनुभएको  छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक थापाले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । नेपाल प्रहरी देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य एवं निर्विकल्प संगठन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, ‘नेपाल प्रहरीको कुनै अर्को विकल्प हुनै सक्दैन । यसको विकल्प सुदृढ एवं जनउत्तरदायी नेपाल प्रहरी नै हो । यसका लागि नेतृत्व तह मात्र होइन, हर जवान सम्म यो भावनाले युक्त हुनु पर्दछ । तव मात्र राष्ट्र र नागरिकले परिकल्पना गरेको प्रहरी संगठनको स्वरूप हुनेछ ।’ सबै प्रहरी कर्मचारीहरू संगठनको संस्थागत सुधार र श्रीवृद्धिमा केन्द्रीत हुनुपर्ने बताउँदै सामुहिक भावना, भातृत्व र आपसी एकताले मात्र संगठनको सुदृढीकरण र उन्नतीको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो ।   देशव्यापी सञ्जाल संरचना भएको नेपाल प्रहरी फौजदारी न्याय प्रणालीको महत्वपूर्ण अङ्ग, नागरिकको शान्ति सुरक्षाको पहरेदार, न्यायको धरोहर, विपद एवम् सुख दु:खमा राज्यको पहिलो प्रतिनिधि, न्यून साधनश्रोतमा पनि उच्च प्रतिफल दिन सक्ने संगठन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले राष्ट्र र आम नागरिकमा नेपाल प्रहरी प्रतिको विश्वास र भरोसामा आँच आउने काम कोहीकसैबाट हुने छैन भन्ने कुरामा पूर्ण विश्‍वस्त रहेको बताउनुभयो । विभिन्न सामाजिक सञ्जालका माध्यमहरूमा केही व्यक्ति तथा समूहहरूले विभिन्न जातजाती, वर्ग, धर्म र संस्कृतिका विरूद्ध गलत सूचना प्रवाह गर्ने, दुष्प्रचार तथा मानहानी गर्ने प्रवृत्ति बढ्दो रहेको र त्यसबाट उत्पन्न हुन सक्ने सामाजिक विचलन र कानूनी जटिलतालाई सम्बोधन गरी कार्यसम्पदान गर्नुपर्ने र चुनौतिको रूपमा रहेको साइबर अपराध, लागूऔषध ओसार-पसार, मानव तस्करी, आर्थिक अपराध लगायतका अपराधहरूको अनुसन्धानका लागि थप क्रियाशील हुनु पर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले व्यावसायिक कार्यसम्पादन एवम् उच्च नैतिक आचरणमा आधारित मुल्याङ्कन र सोही आधारमा वृत्ति विकास तथा अवसरको प्राथमिकता आफ्नो नीति रहेको चर्चा गर्दै प्रहरी नियमावलीमा भएको पुरस्कार र सजायको व्यवस्थालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने तथा भ्रष्टाचार, अनियमितता र गैर व्यावसायिक आचरण एवम् व्यवहार विरूद्ध शून्य सहनशीलताको नीतिलाई कठोरतापूर्वक कार्यान्वयन गरिने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरूले अपनत्व महशुस गर्न सक्ने, सरूवा बढुवा वृत्ति विकासका अवसर संगठन भित्रै खोज्ने र उपलब्ध हुने उल्लेख गर्दै उहाँले योग्यतामा आधारित स्वचालित प्रणाली बनाई प्रहरी कर्मचारीहरूका लागि समान अवसर सुनिश्चित गर्ने, दुर्गम/जोखिमयुक्त ठाउँमा कार्यरत प्रहरी कर्मचारीलाई विशेष सुविधा वा प्राथमिकता प्रदान गर्दै प्रहरी कर्मचारीहरूको सरुवा, बढुवा एवम् वृत्ति विकासमा पारदर्शिता तथा अनुमानयोग्य प्रणालीलाई सुदृढ एवं स्वचालित बनाइने बताउनुभयो । प्रहरी कल्याण कोषको व्यवस्थापन एवम् सञ्चालनलाई सुदृढ बनाइ प्रहरी कल्याण कोषका योजना तथा कार्यक्रमलाई आवश्यकता एवम् औचित्यका आधारमा प्रहरी कर्मचारीको हक, हित र कल्याण अभिवृद्धि हुने गरी प्रहरी कल्याण कोषको पारदर्शी, औचित्यपूर्ण एवम् न्यायोचित परिचालन तथा व्यवस्थापन गरिने समेत उहाँले बताउनुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने पिसिसि बैठकको निर्णय
२०८१-१२-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पोलिसि कोओर्डिनेशन कमिटि (पिसिसि) बैठकमा प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको छ । नेपाल प्रहरी कल्याण कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्दि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष संचालन कार्यविधि, २०८० को समयानुकुल संशोधन तथा परिमार्जन गर्नको लागि सिफारिस समिति गठन गर्न निर्देशन दिइएको छ ।बैठकमा प्राप्त भएको राय सुझाव समेतलाई समावेश गरी प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउँदै हक हित र कल्याण अभिवृद्धि हुने गरी नेपाल प्रहरी कल्याण कोषद्वारा संचालित विशेष कल्याणकारी कोष अन्तर्गत सहुलियत कर्जा कार्यक्रमलाई समय सापेक्ष वृद्धि गर्दै लैजानका लागि कर्जा प्राप्त गर्न सेवा अवधि कम्तिमा ७ वर्ष हुनुपर्ने व्यवस्थालाई ५ वर्ष, सहुलियत कर्जा ४ लाख रूपैयाँलाई वृद्धि गरि ५ लाख रूपैयाँ र किस्ता अवधि ५ वर्षलाई ७ वर्ष कायम गरी सो अनुसारको मासिक किस्ता रकम र किस्ता संख्या निर्धारण गरी प्रहरी कल्याण कोष संचालन कार्यविधि, २०८० को संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको हो ।