प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाबाट प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन

२०७९-१०-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं समूह(PGDPS १३औं ब्याच) को सोही प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । 

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक आधारभूत तालिम अन्तर्गत संचालित यो कोर्सबाट सामाजिक उत्तरदायी, सिर्जनशील र परिणाममुखी व्यावसायिक प्रहरी अधिकृतहरूको विकास गरी नेपाल प्रहरीको दक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । 

प्रहरी निरीक्षक दर्जा नेपाल प्रहरीको मेरूदण्ड भएकोले प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोड्न अहम भूमिका  निर्वाह गर्ने चर्चा गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रशिक्षार्थीहरूले यस्तो महत्वपूर्ण जिम्मेवारीलाई हृदयङ्गम गर्दै भविष्यमा कुशल प्रहरी अधिकृतको रूपमा व्यावसायिक कार्यसम्पादन गरी संगठन तथा राष्ट्रको लागि महत्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रुपान्तरणका लागि पूर्ण वफादारिताका साथ तालिम सम्पादन गर्ने विश्वास लिएको बताउनुभयो । अहिलेको बद्लिदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतिपूर्ण रहेको बताउँदै वर्तमान समयमा प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षहरूसँग सरोकार राख्ने भएकोले प्रहरी अधिकृतहरू बौद्धिक रूपमा रचनात्मक कार्य अघि बढाउन सक्ने हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिईने आधारभूत प्रहरी तालिम भएकोले  प्रतिष्ठानले विशेष अभिरूचि र प्रभामिकताका साथ हेर्ने गरेको बताउँदै निमित्त प्रहरी महानिरीक्षक थापाले तालिम मापदण्ड बमोजिम सरल, सहज र प्रभावकारी ढंगबाट प्रशिक्षण संचालनको व्यवस्थापन मिलाउन तथा अथक मेहनत, परिश्रम र लगावका साथ कटिवद्ध हुन प्रतिष्ठानमा कार्यरत प्रशिक्षक वर्गहरूलाई आग्रह गर्नुभयो । साथै प्रशिक्षण अवधिभर उच्च अनुशासन, कडा मेहनत, लगनशिलता र व्यावसायिक निष्ठाका साथ हरेक प्रशिक्षण क्रियाकलापमहरूमा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्न प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थ रूपमा सेवा प्रदान गर्ने संगठन भएको चर्चा गर्दै व्यवहार एवम् आफ्नो चरित्रलाई अझै राम्रो बनाउँदै आफ्नो कमि कमजोरीलाई आफैले औल्याउँदै सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । 

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी जानकारी दिनुभएको थियो । उक्त तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक १ सय १० जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३९ जना गरी कूल १ सय ४९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ ।

PGDPS सम्बन्धि वृत्तचित्र समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा.राजीव विक्रम राणा, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।




सम्बन्धित समाचार
शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८१-१०-०५

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी वृत्त मालीगाउँ, प्रहरी वृत्त महाराजगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका-४ टुँडालदेवी मन्दिर परिसरको प्राङ्गणमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समुदाय एवम् विद्यालयस्तरमा समेत यस्ता कार्यक्रम संचालन गर्नु पर्नेमा विशेष जोड दिनुभयो । साथै समाजमा शान्ति सुरक्षा थप मजबुत बनाउनको लागि प्रहरी र नागरिकले एक आपसमा सहयोग, सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव श्याम प्रसाद मैनालीले अन्तरक्रियाको महत्व बारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले अन्तरक्रिया कार्यक्रममा प्रहरी कार्य सम्बन्धी उठेका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो भने काठमाडौं महानगरपालिका-४ का वडा अध्यक्ष दिनेश महर्जनले स्थानीय तहको कार्य सम्बन्धी उठेका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो ।  सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा शान्ति सुरक्षाको वर्तमान अवस्था, प्रहरी कार्यमा सुधारका क्षेत्रहरू र सुझाव लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा पूर्व संविधान सभा सदस्य रमा गुरागाई, पूर्व महालेखा परीक्षक तथा नेपाल सरकारका पूर्व सचिव मधु सुदन ढकाल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीहरू, स्थानीय भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य
२०८१-१०-०४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले शुक्रबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ । 

हलुका सवारी चालक तालिम सुरू
२०८१-१०-०२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने २७ औं समूहको हलुका सवारी चालक तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन   गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान ३० जना गरी कूल ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०९-२५

काठमाडौं, विभिन्न मितिमा हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाटार, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-०९-०३

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को गत ४ महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, भर्ना छनौट सम्बन्धी हाल सम्मको गतिविधि, प्रशिक्षण, नयाँ नियुक्ति/पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कृतहरूको तथ्याङ्क, भौतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ अपराध नियन्त्रण र अनुसन्धानका आधारभूत पक्षहरू, अपराध दर्ता संख्याको प्रदेशगत तुलनात्मक विवरण, अपराध तथ्याङ्क विश्लेषण, फैसला कार्यान्वयन, बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क र घरेलु हिंसा सम्बन्धी तथ्याङ्क समेत उहाँले विश्लेषण गर्नुभयो ।प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण र संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, प्रहरी कर्मचारी विरूद्ध उजुरी दर्ता तथा फछर्यौटको तथ्याङ्क, नीति तथा योजना कार्यान्वयनको अवस्था, नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाको लक्ष्यगत कार्य प्रगति विवरण, हासिल गरेका मुख्य उपलब्धिहरू बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै आर्थिक अपराधको कारणले अन्य अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको बताउनुभयो । प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रूपमा रहेको उल्लेख गर्दै विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको उहाँले बताउनुभयो । आन्तरिक सुदृढिकरणलाई संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको चर्चा गर्दै प्रहरी कर्मचारीहरू विरूद्ध पर्ने उजुरीलाई कसूरको गम्भीरताको आधारमा विभागीय कारवाहीको दायरामा ल्याउने काम समेत भइरहेको उहाँले बताउनुभयो ।  विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८१-०९-०२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५३औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उपलब्ध स्रोत साधनको उचित सदुपयोग गरी बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रविन कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १५ जना र प्रहरी जवान ४० जना गरी कुल ५६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।