छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०७९-११-१०
- A
- A-
- A+
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ स्टार बोर्डिङ चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१२ जसपुर बस्ने २३ वर्षीय संदिप वली र १९ वर्षीय निराजन बस्नेत रहेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले बा.८२ प ७८५७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय निश्चल कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ७ केजी ५ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत मधुपुवा गाउँपालिका-८ बस्ने २९ वर्षीय दिवश गुरङ र २४ वर्षीय बिशाल सुनार रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ग.१३ प ६३६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दिवश गुरङले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१३ स्थित भित्री सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ ग्राम मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीलाई देख्नासाथ बा.३१ प २६४४ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छोडी फरार भएपश्चात मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।