प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निरीक्षण तथा अवलोकन
२०७९-११-१०
- A
- A-
- A+
बिराटनगर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र गोठगाउँ मोरङको बुधबार निरीक्षण भ्रमण गर्नुभएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-८ गोठगाउँमा अवस्थित उक्त तालिम केन्द्रको भ्रमणको क्रममा उहाँले तालिम केन्द्रको आवास, मेश तथा भौतिक पुर्वाधारको अवलोकन गर्नुभएको हो । निरीक्षण तथा अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई उहाँले आवश्यक निर्देशन दिनुभयो । उक्त अवसरमा तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
यसैगरी प्रहरी महानिरीक्षक सिंहले आसरा सुधार केन्द्र पानवारी धरानकोसमेत आजै निरीक्षण भ्रमण गर्नुभएको छ । भ्रमणको क्रममा उहाँले केन्द्रको भौतिक संरचना, मेश, उपचाररत सदस्यहरुको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षण गर्नुभयो । निरीक्षणको क्रममा उहाँले उपचाररत सदस्यहरुलाई लागूऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नुपर्ने लगायत उत्प्रेरणात्मक सन्देश दिनुभयो । साथै उहाँले केन्द्रमा उपचाररत सदस्यहरूलाई सौहार्दपूर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको हुँदा उच्च स्तरीय उपचार पद्धतिद्वारा उपचार गर्न परामर्शदाताहरुलाई अनुरोध गर्नुभयो । आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भै सुधार केन्द्रमा कार्यरत रहन समेत उहाँले निर्देशन समेत दिनुभयो ।