विभिन्न हातहतियार तथा अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०७९-११-१३
- A
- A-
- A+
मकवानपुर, कैलाश गाउँपालिका-६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, अवैध लागूऔषध गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जित बहादुर मोक्तान, २८ वर्षीय बिजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् ।
जित बहादुरको घरमा लागूऔषध रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार तथा घर नजिकै रहेको गोठबाट उक्त परिमाणको अवैध लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।