प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघद्वारा खाद्यान्न तथा लत्ताकपडा वितरण

२०७९-११-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले काठमाडौं थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती गृहमा उपचाररत महिलाहरूलाई बुधबार विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको छ ।

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष सिंहले दुबै प्रसुती वार्डमा गरी जम्मा १ सय १५ जना महिलालाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको हो ।

उक्त अवसरमा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल थापाथलीमा सोही अस्पतालका उप-निर्देशक डा. सन्देश पौडेल, नर्सिङ प्रमुख आशा प्रजापति, ओसिएमसिका प्रमुख सुकुमाया तामाङ र नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । यसैगरी नेपाल प्रहरी अस्पताल महाराजगंजमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रहरी कर्मचारीहरू र अस्पतालमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन २०८१ को सुरक्षा व्यवस्थापन तयारी पूरा : केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक ढकाल
२०८१-०१-१३

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन २०८१ सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन तयारी पूरा भएको बताउनुभएको छ । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुन गइरहेको उप-निर्वाचनमा सुरक्षा तयारी सम्बन्धी जानकारी दिन नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले उक्त कुरा बताउनुभएको हो । प्रहरी नायव महानिरीक्षक ढकालले नेपाल प्रहरीले मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवम् मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध श्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप श्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन चरणको सुरक्षा योजना बनाइ लागू गरिएको जानकारी दिनुभयो । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचनमा भाग लिने अवसर प्रदान गर्ने र निर्वाचन कार्यमा खटिने सम्पूर्ण कर्मचारीहरूको सुरक्षा प्रदान गर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “स्थानीयस्तरदेखि केन्द्रसम्म निरन्तर समन्वय, अनुगमन र सुपरिवेक्षण गरी समग्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सक्रिय पहल गरिने छ ।”प्रहरी नायव महानिरीक्षक ढकालले मतपेटिकाको सुरक्षित संकलन तथा भण्डारण गर्ने र सुरक्षित र स्वतन्त्र रूपले मतगणना सम्पन्न गराउने लगायतका सुरक्षाका समग्र काममा नेपाल प्रहरीले चुस्त रूपमा सुरक्षा व्यवस्थापन गरेको बताउनुभयो । उप-निर्वाचनमा हुन सक्ने सम्भावित खतराहरूबारे उल्लेख गर्दै निर्वाचनपूर्व सुरक्षा व्यवस्था, निर्वाचन अवधिको सुरक्षा र निर्वाचन पश्चात सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सम्भावित प्रतिरोध कार्य नियन्त्रण गर्न अवलम्वन गर्ने रणनीति, मतदान केन्द्रमा बल प्रयोग गर्नुपर्ने विशेष परिस्थिति र सुरक्षा कारवाही सम्बन्धमा सबै निकायहरूसँगको सहयोगमा स्थितिलाई सकेसम्म सम्झाइ बुझाई वातावरण सामान्य बनाउने प्रयत्न गरिने उहाँले प्रष्ट पार्नुभयो ।प्रहरी नायव महानिरीक्षक ढकालले निर्वाचन व्यवस्थापन कार्यका लागि इलाम २ मा ७९ मतदानस्थल र १४९ केन्द्रमा गरी १ हजार ३ सय ६३ जना र बझाङमा ७४ मतदानस्थल र ९३ केन्द्रमा गरी १ हजार २४ जना प्रहरी जनशक्ति परिचालन गरिने उक्त अवसरमा बताउनुभयो । मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्थापन मिलाइएको उहाँले जानकारी दिनुभयो । मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक  र अवान्छित गतिविधि भई सुरक्षा निकायले बल प्रयोग गर्नुपर्ने स्थिति आइपरेमा प्रचलित कानुन बमोजिम सुरक्षा कारवाही गरिने उहाँले बताउनुभयो । कार्यक्रममा संचारकर्मीहरूले राखेका विविध जिज्ञासा निरूपण गर्दै प्रहरी नायव महानिरीक्षक ढकालले सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गरिने बताउनुभयो । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसमेतका युनिटलाई उप-निर्वाचन क्षेत्रमा परिचालन गरी थप जनशक्ति सहितको व्यवस्था गरेर शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न गराउन कुनै कसर बाँकी नराखिने उहाँले चर्चा गर्नुभयो । 

भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
२०८१-०१-१२

काठमाडौं, असन्तुष्टी वा सरकारको विरोध लगायत विभिन्न कारणबाट बेलाबखत संगठित वा असंगठित रूपमा भिड वा हुलदंगा हुने गरेका छन् । विभिन्न किसिमका हुलदंगा, बन्द हड्ताल, तालाबन्दी, आगजनी, तोडफोड, अवरोध, धर्ना, चक्काजाम, घेराउ लगायतका उग्र गतिविधि समाजका लागि संवेदनशील क्रियाकलापहरू हुन् ।भीडलाई व्यवस्थापन गर्न प्रहरीको प्रमुख भूमिका रहन्छ । विभिन्न समयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी संयमता पूर्वक नीति, नियमको परिधिभित्र रहेर सक्रिय रूपमा काम गरी शान्ति सुरक्षा कायम गर्दै आइरहेको छ । यस्ता गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले बल प्रयोगको सिद्धान्तलाई आत्मसाथ गर्दै आइरहेको छ । भिड नियन्त्रणको क्रममा नेपाल प्रहरीले कम भन्दा कम क्षति होस् भनि विभिन्न रणनीति र उपकरणहरूको प्रयोग गर्ने  गर्दछ । यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “भिड नियन्त्रणको क्रममा घाइते हुनु, क्षति हुनु दुखद कुरा हो । त्यसलाई कम गर्न वा क्षति हुन नदिन नेपाल प्रहरीले भिड नियन्त्रण सम्बन्धि तालिमहरू नियमित रुपमा गराउने गर्दछ । व्यक्तिको मानव अधिकारको सम्मानका साथै स्थानीय र अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै भिडलाई व्यवस्थित गर्ने गरिएको छ । प्रहरी कर्मचारीहरूलाई व्यापक प्रशिक्षण र निरन्तर अभ्यासको व्यवस्था गरिएको छ । साधन स्रोतको उचित व्यवस्थापनमा ध्यान दिइएको छ ।” चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा नेपाल प्रहरीले १ हजार २९ जनालाई भिड नियन्त्रण सम्बन्धी तालिम प्रदान गरेको छ ।  उक्त नौ महिनाको अवधिमा देशभर ३ हजार ८२९ वटा विरोध तथा बन्दका कार्यक्रम भएका छन् । तीमध्ये २ हजार १९१ वटा विरोध र्‍याली, ९७२ वटा धर्ना, ३२२ वटा तालाबन्दी, १२४ पटक बाटो अवरोध, ५१ पटक अनसन, ४६ वटा सवारी साधन तोडफोड, २६ वटा सवारी साधन आगजनी, २० पटक हड्ताल, १४ पटक चक्काजाम र ६३ पटक बन्दका कार्यक्रम गरिएका थिए । भिड नियन्त्रणको क्रममा सो अवधिमा ३ जना प्रदर्शनकारीको दुखद मृत्यु भएको थियो । सो क्रममा प्रदर्शनकारीतर्फ १८५ जना र सुरक्षाकर्मीतर्फ २९१ जना घाइते भएका थिए । स्थितिलाई सामान्य बनाउन १ हजार ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको   थियो । ती कार्यक्रममा हुन सक्ने हुलदंगा र भिड नियन्त्रण गर्न जम्मा १ लाख १३ हजार ३८३ प्रहरी जनशक्ति परिचालन गरिएको थियो । जसमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत ४५ हजार ४३३ जना, कोशी प्रदेश अन्तर्गत २२ हजार जना, मधेश प्रदेश अन्तर्गत १४ हजार ८६३ जना, बागमती प्रदेश अन्तर्गत ४ हजार २७६ जना, गण्डकी प्रदेश अन्तर्गत २ हजार ६४४ जना, लुम्बिनी प्रदेश अन्तर्गत ९ हजार ५४१ जना, कर्णाली प्रदेश अन्तर्गत २ हजार ३४६ जना र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३ हजार १९८ जना रहेका थिए ।   स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष निर्देशनमा प्रहरीले लाठी चार्ज, अश्रुग्याँस, फोहरा र हवाई फायर समेत आवश्यकता र परिस्थित अनुसार बल प्रयोग गरी शान्ति कायम गर्ने/गराउने व्यवस्था रहेको छ । भिड नियन्त्रणको सिद्धान्तले बल प्रयोग गर्दा संयम अपनाएर सकेसम्म कम क्षतिमा नियन्त्रण गर्ने व्यवस्था गरेको छ । कानूनमा व्यवस्था भए बमोजिमका गैह्र घातक उपकरणको प्रयोग गरी नेपाल प्रहरीले काम गर्दै आएको छ । लाउड स्पिकरबाट सूचित गर्ने, मौखिक चेतावनी दिने, सम्झाउने पहिलो चरणमा पर्दछ । पानीको फोहोरा, लाठी, अश्रुग्याँस प्रयोग गरी भिडलाई एकत्रित हुन नदिन र दंगाग्रस्त क्षेत्रबाट हटाउने पहल गर्ने  गर्दछ । तोडफोड, आगजनी, नागरिक असुरक्षा र सुरक्षामा खटिएका कर्मचारीको ज्यानलाई असुरक्षित हुन पुग्ने जस्तो चरम परिस्थिति आएमा हवाई फायर गरेर पनि स्थितिलाई नियन्त्रणमा लिई भीडलाई व्यवस्थापन गर्ने प्रावधान रहेको छ ।  भिड नियन्त्रणलाई थप व्यवस्थित बनाउन नेपाल प्रहरी सक्रिय छ । जन धन तथा भौतिक क्षतिको न्यूनीकरण गर्न समेत नेपाल प्रहरी उत्तिकै क्रियाशील छ । चुनौति धैरै छन् । तर तिनको नेपाल प्रहरीले उचित तरिकाले सामाना गर्दै आइरहेको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “भिड नियन्त्रणलाई अझ व्यवस्थित बनाउन र जस्तो सुकै परिस्थितिलाई नियन्त्रण गर्न न्यूनतम बल प्रयोग, संयमता, स्पष्ट आदेश दिने गरिएको छ । भिड नियन्त्रणमा खटिनुको उद्देश्य, अपनाउनुपर्ने सुरक्षाका मापदण्ड, भिडको प्रकार, भिडसँग गरिने व्यवहार, असवावको प्रयोग लगायतका विषयमा सुरक्षामा खटिने टोलीलाई विस्तृत बिफ्रिङ गर्ने गरिएको छ । भिड नियन्त्रणको क्रममा सुरक्षाकर्मीहरूबाट भएका कमि कमजोरीको समीक्षा गर्ने गरिएको छ । जसबाट आगामी दिनमा त्यस्ता कमि कमजोरी नदोहरिने र भिड नियन्त्रण लगायतका काममा चुस्तता आउने गरेको छ ।” 

खेलकुद क्षेत्रमा विशिष्ट योगदान दिँदै नेपाल प्रहरी
२०८१-०१-०७

काठमाडौं, ओमनमा हाल संचालन भइरहेको ACC Men’s Premier Cup प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट सहभागी नेपाल प्रहरीका ५ जना क्रिकेट खेलाडीहरूमध्ये कतार विरुद्धको खेलमा प्रहरी सहायक हवल्दार दिपेन्द्र सिंह ऐरीले अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रहार गर्दै एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालको पहिलो क्रिकेटर बन्न सफल भए । T20I मा समेत दिपेन्द्र सिंह एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो एवं समग्रमा अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौ खेलाडी बनी कीर्तिमान कायम गर्न सफल भए । यसैगरी उनी ICC को अलराउण्डर वरीयताक्रममा Men’s ICC T20I तर्फ विश्वको ११ औं स्थान र एसोसियट राष्ट्रको नम्बर १ अलराउण्डर बन्न समेत सफल भए ।  यस्तै १४औं जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता,२०८० को उपाधि नेपाल पुलिस क्लबले जित्यो । उक्त प्रतियोगिताको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै उक्त उपाधि जित्न सफल भएको हो । उल्लेखित जित र उपाधि हासिल प्रतिनिधि सफलता मात्र हुन् । यसरी फुटबल, क्रिकेट मात्र होइन भलिबल, महिला तथा पुरूष कबड्डी, पुरूष हक्की, एथ्लेटिक्स, भारोत्तोलन, बक्सिङ, कराते, तेक्वान्दो, ब्याडमिन्टन, टेबल टेनिस, कुस्ती लगायतका खेलहरूमा पनि नेपाल प्रहरीका खेलाडीहरूले उल्लेख्य सफलता हात पारेका छन् । समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने, अपराधको रोकथाम तथा अनुसन्धान गर्ने मुख्य जिम्मेवारी बहनका अतिरिक्त नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई विशेष महत्वका साथ आत्मसाथ गर्दै आएको छ । विसं २००८ सालमा नेपाल प्रहरी फुटबल टिमको गठन भएसँगै नेपाल प्रहरीमा विधिवत रूपमा खेलकुद क्षेत्रले प्रवेश पाएको हो । विसं २०२३ सालमा श्री ५ महेन्द्र पुलिस क्लबको स्थापना भए पश्चात खेलकुद गतिविधिले थप सक्रियता प्राप्त गरेको थियो । नेपाल प्रहरी संगठनभित्र खेलकुद गतिविधिलाई गतिशिलता प्रदान गर्ने उद्देश्यले विसं २०२५ सालदेखि आईजिपी शिल्ड फुटबल प्रतियोगिताको प्रारम्भ गरिएको थियो । विसं २०३७ सालमा नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिको स्थापना भए पछि नेपाल प्रहरीले फुटबल खेल लगायत अन्य खेलहरूलाई समेत क्रमिक रूपमा विकास र व्यवस्थित गर्दै लगेको छ । समितिमा प्रहरी महानिरीक्षक अध्यक्ष रहने प्रावधान रहेको छ ।नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिको सुदृढिकरण एवम् खेलकुदलाई थप विकास गर्दै लैजाने सम्बन्धमा नेपाल प्रहरी खेलकुद समितिले आवश्यक नीति निर्माणको साथै विशेष पहल गर्दै आएको छ । समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी भन्नुहुन्छ, “खेलकुदमा नेपाल प्रहरीको क्षमता थप सुदृढ बनाउने उद्देश्यले प्रतिष्ठानले काम गरिरहेको छ । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाल प्रहरीका खेलाडीहरूले उल्लेख्य उपलब्धी हासिल गरेका छन् । अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा समेत नेपाल प्रहरीका खेलाडीहरूले दुर्लभ कीर्तिमान् कायम गर्न सफल भएका छन् । जसबाट राष्ट्रिय खेलकुदमा समेत टेवा पुग्ने र नेपाल प्रहरीको साख तथा प्रहरी कर्मचारीमा मनोबल वृद्धि हुने अपेक्षा गरिएको छ ।”चालु आर्थिक वर्षको साउनदेखि हालसम्म नेपाल पुलिस क्लबले फुटबलतर्फ २ उपाधि, भलिबलतर्फ ४ उपाधि, क्रिकेटतर्फ २ उपाधि, हक्कीतर्फ १ उपाधि र महिला कबड्डीतर्फ १ उपाधि प्राप्त गरेको छ । सो अवधिमा विभिन्न समयमा विभिन्न स्थानमा भएका प्रतियोगितामध्ये नेपाल प्रहरीका खेलाडीहरूले एथ्लेटिक्सतर्फ ४ स्वर्ण, भारोत्तोलन पुरूषतर्फ २१ स्वर्ण, महिलातर्फ २४ स्वर्ण, बक्सिङतर्फ ५ स्वर्ण, करातेतर्फ २१ स्वर्ण, तेक्वान्दोतर्फ ३३ स्वर्ण, कुस्तीतर्फ २१ स्वर्ण, टेबल टेनिसतर्फ १ स्वर्ण पदक प्राप्त गरेका छन् । यसैगरी उक्त अवधिमा नेपाल पुलिस क्लबले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगतामध्ये ६ वटामा द्वितीय स्थान र ७ वटामा तृतीय स्थान हासिल गरेको छ । यसैगरी ती प्रतियोगितामा ४७ वटा रजत पदक र ५७ वटा कास्य पदक समेत प्राप्त गर्न सफल भएको छ ।  नेपाल प्रहरीका बाबुराम पुनले सन् १९७३ मा इरानको तेहरानमा ‘थर्ड फिफा कोचिङ स्कुल’ बाट कोचिङ लाईसेन्स प्राप्त गरेका थिए । स्व. रूपकराज शर्मा फिफाको रेफ्रि हुनुहुन्थ्यो । तत्कालिन अवस्थामा खेलकुदको शुरूवात भएपछि प्रहरी र नागरिकको सम्बन्ध सुमधुर भएको देखिन्छ । जसको कारण प्रहरी नागरिक सम्मिलित गराई राष्ट्रिय टिम खडा गरिएको थियो । त्यसैको विकास गर्दै  हाल नेपाल पुलिस क्लब खेलकुदमा क्रियाशील छ । नेपाल प्रहरीले नेपाल प्रहरी कार्ययोजना,२०८० मा दिगो खेलकुद विकासको लागि विशेष खेलहरूलाई निर्धारित लक्ष्यसहितको कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने उद्देश्य लिएको छ । नेपाल प्रहरी खेलकुद समितिका सहसचिव एवम् नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “खेलकुदको माध्यमबाट प्रहरी र जनताबिच सम्बन्ध सुमधुर बन्ने गरेको छ । नेपाल प्रहरीका खेलाडीहरूले विभिन्न प्रतोयोगितामा उल्लेख्य सफलता हासिल गरेका छन् । यसबाट राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको विशिष्ट योगदानको साथै समाजमा सकारात्मक परिणाम देखिने गरेको छ । नेपाल प्रहरीले नेपाल पुलिस क्लबको खेलकुद क्रियाकलापलाई स्तरोन्नति गर्ने विशेष योजना बनाई कार्यान्वयन गर्ने नीति लिएको छ ।”विभिन्न प्रतियोगितामध्ये केही प्रतियोगिताहरूमा नेपाल प्रहरीका खेलाडीहरूले सर्वोत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट सेटर, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट सर्भर, बेष्ट बल्कर, उत्कृष्ट लिब्रो, उत्कृष्ट डिफेन्डर, बेष्ट स्पाईकरको साथै म्यान अफ दि म्याच घोषित भएका छन् । यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान् राख्न सफल भएका छन् ।  नेपाल प्रहरीका खेलाडीहरूले व्यवस्थापक, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक लगायतका भूमिका समेत निर्वाह गर्दै आएका छन् । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “ नेपाल प्रहरीका खेलाडीहरूलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट र अब्बल बनाउन समयसापेक्ष प्रशिक्षण प्रदान, खेलकुद वातावरण निर्माण र मनोबल उच्च राख्न प्रहरी संगठन क्रियाशील छ ।”  

नयाँ भर्नाको लागि नेपाल प्रहरीमा अनलाइनबाटै आवेदन दिने प्रणाली प्रभावकारी
२०८१-०१-०६

काठमाडौं, नेपाल प्रहरीले नयाँ भर्नाका लागि गरिने छनौट प्रकृयामा आवेदन दिन अनलाइन प्रणालीबाट शुरूवात गरेको छ । यसबाट नयाँ प्रवेश गर्न चाहने इच्छुक सबैलाई आवेदन दिन सम्बन्धित प्रहरी कार्यालयसम्म पुग्नु पर्ने बाध्यता हट्न गएको छ । आवेदन दिन लामो लाइनमा बस्नुपर्ने झन्झटबाट अधिकांश सेवाग्राही मुक्त भएका छन् । नेपाल प्रहरीले शुरूवात गरेको Online Recruitment Management System (ORMS) प्रणालीले उक्त सुविधा प्रदान गरेको हो । यसबाट इन्टरनेट भएको जुनसुकै ठाउँबाट अनलाइन मार्फत आवेदन फारम भर्न सकिन्छ । विसं २०८० मा जनपद तर्फको प्रहरी निरीक्षक र प्राविधिक समूह तर्फका प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा भर्नाको सूचना प्रकाशन गरी ओआरएमएस प्रणाली शुरू गरिएको छ । नेपाल प्रहरीमा रिक्त पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाले नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशनको साथै सम्पूर्ण भर्ना प्रकृयाको काम गर्दछ । मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई भन्नुहुन्छ, “यस प्रणालीको प्रयोगले नेपाल प्रहरीमा लिइने नयाँ भर्ना छनौटको प्रकृयालाई थप  सहज, सरल, पारदर्शी र प्रभावकारी बनाएको छ । विगतमा स्वयं उपस्थित भई आवेदन फाराम बुझाउनु पर्ने झन्झटिलो प्रकृयालाई यस प्रणालीले धेरै हदसम्म सहज बनाएको छ । ओआरएमएसको प्रयोगले आवेदकलाई मात्र नभई नेपाल प्रहरीको भर्ना छनौट शाखाको समेत काम कारवाहीलाई थप सहज र व्यवस्थित बनाएको छ । साथै यो नेपाल प्रहरीलाई समयानुकूल सूचना प्रविधिमा लाने प्रयास पनि हो ।” चालु आर्थिक वर्ष २०८०/०८१ मा आव्हान गरिएको नयाँ भर्नामा ६ हजार ७ सय ६४ वटा आवेदन परेका छन् । तीमध्ये जनपद तर्फको प्रहरी निरीक्षक पदमा २ हजार ८ सय २८ वटा र प्राविधिक समूह तर्फका विभिन्न पदहरूमा ३ हजार ९ सय ३६ वटा रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी कार्ययोजना,२०८० को लक्ष्य अनुरूप प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गर्ने उद्देश्यले उक्त प्रणाली संचालनमा ल्याइएको हो । यसले नेपाल प्रहरीको भर्ना छनौट प्रकृयामा सहजता ल्याएको छ । अनलाइन प्रणालीमा रिक्त पदहरूबारे विस्तृत जानकारी, आवेदन दिने तरिका लगायतका सम्बन्धित सम्पूर्ण जानकारी राखिएको छ । यस प्रणालीलाई अझै प्रभावकारी र नयाँ भर्ना लिईने सबै पदहरूलाई अनलाइन प्रणालीमा लैजान पहल गरिएको छ ।” ओआरएमएस मार्फत आवेदन दिने आवेदकहरूले नेपाल प्रहरीको नयाँ भर्ना सम्बन्धी पोर्टल https://careers.nepalpolice.gov.np मा गई आफ्नो खाता दर्ता गर्न सक्छन् । खाताभित्र प्रवेश गरी सजिलै रिक्त रहेका पदहरूमा आफ्नो योग्यता अनुसार आवेदन दिन सकिने व्यवस्था रहेको छ । यसका साथै ओआरएमएस संचालनमा आएसँगै भर्ना छनौट प्रकृयामा संलग्न जनशक्ति न्यूनीकरण भएको देखिन्छ । यस प्रणालीको सहयोगी कार्यालयको रूपमा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय रहेको छ । निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी भन्नुहुन्छ, “अनलाइन प्रणाली मार्फत आवेदन दर्ता, ईमेल प्रमाणीकरण, जन्म मिति सेटअप, खाली पद छान्ने, आफ्नो प्रोफाइल पूरा गर्ने, रिक्त पदका लागि आवेदन दिने र स्विकृत भएपछि दरखास्त फारम र प्रवेशपत्र डाउनलोड गरी परीक्षामा सामेल हुन सकिन्छ । परीक्षा सञ्चालन गर्दा समेत Facial Recognition System को परीक्षण गरी परीक्षार्थीहरूलाई परीक्षामा सामेल गराइएको थियो । सो System को परीक्षण सफल भएको हुनाले आगामी भर्ना प्रक्रियामा यस System लाई अझ प्रभावकारी रूपमा प्रयोग गरी भर्ना प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाउने योजना रहेको छ ।” 

ट्राफिक नियम उल्लङ्घन तथा जरिवाना भुक्तानी सम्बन्धी प्रणाली प्रभावकारी बन्दै
२०८१-०१-०३

 काठमाडौं, ट्राफिक नियम उल्लङ्घन गरी जफत गरिएका कागजपत्र फिर्ता लिन र जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने झन्झटबाट अधिकांश सेवाग्राही मुक्त भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूको अभिलेख संकलन गरी कारवाही गर्न ट्राफिक प्रहरीलाई सहज भएको छ । यो सबै सुविधा नेपाल प्रहरीले संचालनमा ल्याएको ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानी सम्बन्धी प्रणाली Traffic Violation Record System (TVRS) का कारण सम्भव भएको हो ।  यस प्रणाली मार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेबापत जारी गर्ने चिट र कारवाहीको विवरण अभिलेखमा राखिन्छ । कुनै पनि सवारी चालकले गरेका सवारी सम्बन्धी कसूरहरूको अभिलेखका आधारमा कति जरिवाना तिर्नु पर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्दछ । पटके कसूरहरूको विवरण पनि यस प्रणालीले आफै हिसाब राख्दछ । टिभिआरएस प्रणालीको प्रभावकारिताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी कार्ययोजना,२०८० ले व्यवस्था गरेको प्रविधिमैत्री सेवाको संस्थागत विकास गर्ने लक्ष्य अनुरूप आधुनिक प्रविधिको प्रयोग मार्फत प्रहरी सेवालाई थप चुस्त बनाउन पहल गरिएको छ । सो क्रममा टिभिआरएस प्रणालीको थप विस्तार गरिएको छ । हालसम्म ४५ जिल्लाहरूमा यो प्रणाली कार्यान्वयनमा आएको छ । प्रणालीले ट्राफिक जरिवाना असुल गर्न र सेवाग्राहीलाई झन्झटमुक्त सेवा प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।” टिभिआरएस प्रणाली विसं २०५८ सालमा शुरू भएको हो । समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/०७७ बाट हालको अवस्थामा काठमाडौं उपत्यकामा सञ्चालनमा आएको हो । हाल यस प्रणाली देशभरिका ४५ बढी जिल्लाहरूमा सञ्चालनमा रहेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ३१ लाख ४७ हजार ९ सय ५३ वटा ट्राफिक नियम उल्लङ्घनका कसूरहरू यस प्रणालीमा दर्ता भएका छन् । जसबाट कूल २ अर्ब ३३ करोड २ लाख २८ हजार ९ सय ६४ रूपैयाँ राजस्व संकलन भएको देखिन आएको छ । प्रणालीको सञ्चालन सँगै सर्वसाधारणले ट्राफिक जरिवाना पारदर्शीरूपमा सहजै तिर्न पाएका छन् । टिभिआरएस प्रणालीको विकास र अनुगमन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दछ । निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी भन्नुहुन्छ, “प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गर्ने संगठनको नीति अनुरूप सेवाग्राहीको सहजताको लागि यस प्रणालीको विकास गरिएको हो । यस प्रणालीको सफ्टवयरले ट्राफिक नियम उल्लङघन गर्नेको नाम, सवारी साधनको नम्बर र कसूरको प्रकार ट्रयाक राख्छ । दक्ष प्रहरी कर्मचारी र प्रविधिको प्रयोग गरी प्रणाली संचालन गरिएको छ ।” टिभिआरएसमा दर्ता भएका विवरणको आधारमा ट्राफिक नियम उल्लङ्घनकर्ताले विभिन्न अनलाइन वित्तिय प्रणालीहरूको प्रयोग गरी जरिवाना तिर्न सक्दछन् । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार विभिन्न नियम उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना तथा कारवाही गर्ने गर्दछ । कारवाहीमा परेका व्यक्तिको चिट नम्बर र लाइसेन्स नम्बर, ब्ल्यु बुक, नाम र अन्य विवरण इन्ट्रि गरिन्छ । कारवाहीमा परेका व्यक्तिहरूले अनलाइन मार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखाहरूमा गई जरिवाना बापतको राजस्व रकम भुक्तान गर्न सक्दछन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ भन्नुहुन्छ, “हाल प्रणाली लागू भएका ४५ जिल्लामा भएका अभिलेख एकीकृत हुन्छन् । जति पनि ट्राफिक नियम उल्लङ्घनमा चालक परेका छन् त्यसको अभिलेख यस प्रणालीमा रहन्छ । यसले ट्राफिक कारवाही गर्न पटके हो वा होइन हेर्न सजिलो बनाएको छ । सेवाग्राहीलाई पनि आफ्नो अभिलेख कहाँ छ र कसरी लिने भन्ने सजिलै थाहा पाउन सक्ने बनाएको छ । समग्रमा ट्राफिक कारवाही सम्बन्धी अभिलेख व्यवस्थित बनाएको छ ।”   नेपाल प्रहरीले प्रविधिको प्रयोगलाई तीव्रता दिँदै आएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धानलाई वस्तुनिष्ठ बनाउन होस् वा ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले विभिन्न आधुनिक प्रविधिको प्रयोगलाई जोड दिँदै आएको छ । दुर्घटना न्यूनिकरण र रोकथाम गर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने ट्राफिक प्रहरीको प्रमुख उद्देश्यलाई लक्ष्यमा पुर्‍याउन यो प्रणाली सहयोगी सावित भएको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अभिलेख दुरूस्त र व्यवस्थित रूपमा राख्दै प्रविधियुक्त ट्राफिक प्रहरीको मिसनमा यो प्रणाली कोसेढुंगा सावित भएको छ ।”

हराएका मानिसको खोजीमा सक्रिय नेपाल प्रहरी
२०८०-१२-३०

काठमाडौं, बालक हुन वा वृद्ध कुनै पनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अनजानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्क विहीन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् ।  आफ्ना प्यारा सदस्य हराएको पीडाको खबर सुन्दा कस्को मन चसक्क नछोला र ! यही दुखद पीडापछि मानिसहरू प्रहरीलाई सम्झछन् र खोजीका लागि अनुरोध गर्दछन् । यसरी सूचना प्राप्त हुनासाथ खोजी गर्ने क्रममा हराएका मध्ये   सिन्धुपाल्चोकका ८ वर्षीय बालकलाई काठमाडौं ढुंगेअड्डामा प्रहरीले फेला पार्‍यो । उनलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो । यसै गरी धनुषाकी १४ वर्षीया बालिका कोही कसैलाई जानकारी नगराई घरबाट गत कात्तिक ८ गते हराई बेपत्ता भएको खबर प्राप्त भयो । तत्काल खटिएको प्रहरीले हुलियाका आधारमा खोजी गर्दा जनकपुरधाममा फेला पारी उनकी आमालाई जिम्मा लगायो । यसै गरी धनुषाकै २१ वर्षीया किशोरी जानकारी बिना नै गत फागुन २ गते हराई बेपत्ता भइन् । प्रहरीले खोजी गर्ने क्रममा क्षिरेश्वरनाथमा फेला पार्न सफल भयो ।   उपरोक्त मानिसहरू बाहेक यसरी खोजी गर्ने क्रममा अन्यलाई समेत प्रहरीले फेला पारेको छ । प्रहरी खोजी तथा उद्दारमा जुट्ने क्रममा चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन् । फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन् । सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए । हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन् ।  हराएका मानिसहरूको खोजी तथा उद्दारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ । पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ । मानिस हराएपछि थपिएका पीडा हटाउन प्रहरी सदैव सक्रिय रहँदै आएको छ । खोजी तथा उद्दारका लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा काम गर्ने गरेको छ । खोजी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अनजान वा लापरवाहीले अप्ठ्‍यारोमा परेकाको खोजी तथा उद्दार गर्नु मानवीय कार्य हो । नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी संगठनले दु:खमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तिब्रता अपनाएको छ । खोजी मात्रै होइन मानिस के कारण हराउँछन् ? यस्तो अवस्था आउँन नदिन सचेतना फैलाउने, सम्झाउने र पुन:घटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ ।” हराएका मानिसहरूको विवरण राख्न नेपाल प्रहरीले udb.nepalpolice.gov.np वेबसाइटको व्यवस्था गरेको छ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उक्त वेबसाइटको गत भदौ १७ गते उद्‍घाटन गर्नुभएको थियो । तत्पश्चात वेबसाइटमा विवरण राख्न र हराएका व्यक्ति सनाखत गर्न सहज भएको छ । सरोकारवाला सबैले एकै स्थानबाट सूचना पाएपछि खोजीमा सक्रियता अपनाउन, पहिचान गर्न र उद्दार गर्न सजिलो भएको छ । आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन् । सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए । हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार १ जना महिला रहेका छन् । तथ्याङ्क विश्‍लेषण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ ।   हराएका व्यक्ति खोजी गर्न नेपाल भर नेपाल प्रहरीका सबै युनिटहरू सक्रिय छन् । जंगलमा हराएकालाई साइरन बजाउँदै र ठूलो स्वरमा कराउन लगाउँदै खोजी गर्ने गरिएको छ । भौगोलिक अवस्था र परिस्थिति अनुसारको खोज तरिका अपनाउने गरिएको छ । लोकेशन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ । खतराको अवस्थालाई आँकलन गरी सुरक्षा अपनाउने गरिएको छ । आफू जोगिएर खोजी तथा उद्दार गर्न प्रहरी सचेत छ । खोजी तथा उद्दार सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्‍वर तिवारी भन्नुहुन्छ, “हराएका मानिसहरू खोजी गर्न प्रहरी गस्ती बढाइएको छ । सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा प्रहरी परिचालन, सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी सक्रिय रूपमा खोजी गर्ने गरिएको छ । प्रहरी र आफन्तको संयुक्त प्रयासबाट समेत तदारूकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन् ।”  खोजी गरी पत्ता लागिसकेपछि मानिसहरूले भन्ने गरेका छन, “अब म सचेत हुन्छु । अप्ठ्यारो स्थितिमा खोजी गर्नुजस्तो पुनित र राम्रो कामको लागि नेपाल प्रहरीलाई धन्यवाद छ ।”