छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०७९-११-२७
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्राम र नगद ५ हजार ७५ रुपैयाँसहित ईलाम चुलाचुली गाउँपालिका-१ बस्ने ३४ वर्षीया मञ्जु चापागाईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुल र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-०१३ प १९७३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-५ बन्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ४१ मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २३ वर्षीय विवेक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मैनाहाबाट भकुण्डातर्फ जाँदै गरेको सु.प.प्र.०१-०११ प ५००४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, गल्छी गाउँपालिका-४ मासटारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित गजुरी गाउँपालिका-८ किरानचोक बस्ने ३४ वर्षीय बीर बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।