प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।

नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनु भएको थियो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । 

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।



सम्बन्धित समाचार
ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरीको संयुक्त ब्याण्ड कन्सर्ट कार्यक्रम सम्पन्न
२०८१-११-१८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लबमा आइतबार संयुक्त ब्याण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का म्युजिसियनबाट संयुक्त रूपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।   सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी उपरीक्षक भुला राज खनाल समेतको टोली र ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट क्याप्टेन Esther Hayes समेतको टोलीद्वारा विभिन्न सुमधुर धुन प्रस्तुत गरिएको थियो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवर र ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट क्याप्टेन Esther Hayes बीच कृतज्ञताको चिनो आदानप्रदान भएको थियो ।  वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय ब्याण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रूपमा यी दुवै ब्याण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता सम्पन्न
२०८१-११-१७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान गर्नुभयो । साथै उहाँले रेफ्री, जुरी लगायत विभिन्न भुमिकामा प्राविधिक सहयोग गर्नुहुने महानुभावहरूलाई मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विजयी खेलाडीलाई बधाई दिँदै उपविजेता तथा सहभागी सम्पूर्ण खेलाडीहरूबाट प्रदर्शित खेल कौशलको कदर गर्नुका साथै खेलाडीहरूको उज्वल भबिष्यको कामना समेत गर्नुभयो । खेलकुदले विद्यार्थीहरूमा रहेको प्रतिभाहरूलाई प्रस्तुत गरी समग्र व्यक्तित्व विकासमा पढाईका साथसाथै अतिरिक्त क्रियाकलापहरू समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले प्रतियोगितामा खेलाडीहरूले देखाएका सक्रिय सहभागीता, प्रयास र लगनशीलताको उच्च प्रशंसा गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले कुनै पनि खेललाई हारजितको रूपमा मात्र हेर्नु भन्दा यसलाई सिकाई र अनुभवको माध्यमका रूपमा हेरी स्व:मुल्याङ्कन गर्दै आगामी दिनका लागि आफूलाई तयारी गर्ने मौकाको रूपमा समेत हेर्नुपर्ने बताउनुभयो । खेलले अनुशासन, समयको सही सदुपयोग तथा व्यवस्थापन, तीव्र निर्णय क्षमता, आइपर्ने चुनौतिलाई कसरी सामना गर्न सकिन्छ भन्ने शिक्षा प्रदान गर्ने हुँदा त्यसलाई आफ्नो व्यक्तिगत जिवनशैलीको रूपमा समेत लागु गर्नेतर्फ चिन्तनशील हुन सम्पूर्ण खेलाडीहरूलाई उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले आजको युग विज्ञान र प्रविधिको युग भएको चर्चा गर्दै शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यवहारिक र व्यावसायिक बनाउँदै विद्यार्थीहरूको बौद्धिक एवम् व्यावसायिक विकासमा विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरूको चौतर्फी विकासको लागि विद्यालय, अभिभावक वर्ग र समाजको समेत जिम्मेवारी हुने हुँदा यो विषय सबैको प्राथमिकता हुनुपर्ने र यसका लागि हरतरहको भूमिकामा नेपाल प्रहरीको साथ र सहयोग रहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।   कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रतियोगितालाई सफल बनाउनको लागि सहयोग पुर्‍याउनुहुने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा विद्यालयका संरक्षक एवम् काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले संयुक्त रूपमा एनपिएस तेक्वान्दो डोजाङका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य रामप्रसाद भुसालले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४७ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागीता रहेको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‌घाटन
२०८१-११-१२

बाँके, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुरको सोमबार एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आमनागरिकमा सेवा पुर्‍याउँदै आएको चर्चा गर्दै आज उद्‌घाटन भएको प्रहरी पेट्रोल पम्प नेपाल प्रहरीको मात्र नभई सबैको साझा सम्पत्ति भएको हुँदा यसले नेपाल प्रहरी तथा आमनागरिकका सवारी साधन समेतलाई सरल र सहज रूपमा इन्धन आपूर्ती गराउनुका साथै विशेष परस्थितिमा समेत इन्धनको आवश्यक्ता पूर्ती गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।    प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी शान्ति सुरक्षाको सन्दर्भमा आमजनता केन्द्रीत सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै आम नागरिकमा निष्पक्ष सेवा प्रवाह र प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न समुदायसँग सहकार्य गरी योजनाबद्ध ढंगबाट प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै उक्त अवसरमा प्रहरी नायव उपरीक्षक ई. रोशन सारू मगरले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरी कल्याण कोषको कुल ६ करोड ६४ लाख २७ हजार ७ सय ३६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न
२०८१-११-१२

काभ्रेपलाञ्चोक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।उक्त अवसरमा संघकी अध्यक्ष कुँवरले विद्यालयको मुखपत्र ‘दीपिका २०८१’ को विमोचन गर्नुका साथै विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरू, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उहाँले विद्यार्थीहरूबाट प्रदर्शित विभिन्न क्रियाकलापहरूको अवलोकन समेत गर्नुभयो ।  कार्यक्रममा संघकी अध्यक्ष कुँवरले नेपाल प्रहरीको पहिलो विद्यालयको रूपमा स्थापित यस विद्यालयले समाजका महत्वपूर्ण क्षेत्रका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत यस विद्यालयबाट दिक्षित विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धिहरूले यस विद्यालयको उत्कृष्टतालाई प्रमाणित गरेको बताउनुभयो ।  संघकी अध्यक्ष कुँवरले किताबी कोरा ज्ञानमा मात्रै सीमित नभएर अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा संचालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै जीवन उपयोगी बनाउँदै लैजानुका साथै विद्यार्थीहरूको प्रतिभा उजागर हुने वातावरण निर्माणलाई पनि प्राथमिकता दिन सकेमा विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने र त्यसले राज्यलाई पनि उपलब्धिमूलक परिणाम प्राप्त हुने चर्चा गर्नुभयो ।  कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोककी प्रमुख देवका ढकालले विद्यालयमा स्थापित विभिन्न अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभयो ।  नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक, ट्रयाक एण्ड फिल्ड ईभेन्ट्स तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका    थिए ।  उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-११-०४

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ फागुन २ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका ७५ जनामध्ये ७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । साथै सोही निर्णयबाट पदोन्नति हुनुभएका २ जना प्रहरी नायव उपरीक्षकहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ भने १ जना प्रहरी नायव उपरीक्षक हाल तालिमको सिलसिलमा विदेशमा रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत लाभ र स्वार्थ भन्दा माथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रन उहाँले निर्देशन दिनुभयो । प्रहरी सेवामा सबै नागरिकको सहज पहुँचको वातावरण निर्माण गरी प्रहरी सेवालाई थप विश्वसनीय बनाउन कानुन सम्मत तवरले कार्यसम्पदान गरी आम नागरिकको नजरमा प्रहरी प्रतिको सम्मान र विश्वास बढाउन थप कटिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक सुरेन्द्र प्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।  

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८१-१०-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा मंगलबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक झिल्के थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा संचालन गरी दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनिय योगदान पुर्‍याउने मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०८१’ को लोकार्पण तथा प्रतिष्ठान गित सार्वजनिकीकरण समेत गर्नुभयो । साथै उहाँले रस्साकस्सी खेल तथा महिला प्रहरी कर्मचारीहरूको दौड प्रतियोगिताका विजेतालाई पुरस्कार समेत प्रदान गर्नुभयो ।   समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले विधिको शासन, नागरिकको स्वतन्त्रता, मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई समाजमा प्रवर्द्धन गरी समुन्नत र सुरक्षित समाजको निर्माण गर्न सक्ने योग्य जनशक्ति उत्पादनमा समर्पित प्रतिष्ठानको योगदान सर्‍हानीय रहेको बताउनुभयो । संगठनले अख्तियार गरेका नीतिको सफल कार्यान्वयन तथा संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न व्यावसायिक तवरले प्रशिक्षित जनशक्तिद्वारा स्वतस्फूर्त रूपमा प्रदर्शित हुने निःस्वार्थ सेवा भाव र कर्तव्य बोधद्वारा प्रेरित कामकारबाहीबाट मात्र सम्भव हुने हुँदा समय, समाज र संगठनको आवश्यकता अनुसारको जनशक्ति उत्पादन प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख ध्येय हुनुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा केवल एक पेशा मात्रै नभई एउटा जीवनशैली भएको चर्चा गर्दै संगठनमा नवप्रवेशी सदस्यहरुलाई त्यो जीवनशैलीमा ढाल्ने प्रारम्भिक मार्ग प्रहरी प्रशिक्षण नै भएकोले यहाँका हरेक कर्मचारी सर्वोत्कृष्टताको अव्वल उदाहरण हुनुपर्ने बताउनुभयो । प्रशिक्षण केन्द्रहरूबाट प्रदान गरिने प्रहरी तालिमलाई प्रहरीको नजरबाट मात्र नभई नागरिक तथा सामाजिक दृष्टिकोणबाट हेरिनुपर्ने उल्लेख गर्दै सीपमूलक, समयसापेक्ष र व्यावहारिक प्रशिक्षण प्रदान गर्नेतर्फ प्रतिष्ठन केन्द्रीत रहनुपर्ने उहाँले बताउनुभयो ।  उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताउनुभयो । साथै उहाँले प्रतिष्ठानले प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधार तथा प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताउनुभयो । सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन, पिजिडिपिएस कार्यक्रमका सल्लाहकार, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व समादेशकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।