आसरा सुधार केन्द्रकी अध्यक्ष लक्ष्मी कुँवरको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०७९-१२-२१
- A
- A-
- A+
काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई मंगलबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरुले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ ।
उक्त अवसरमा नवनियुक्त अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आसरा सुधार केन्द्रकी निवर्तमान अध्यक्ष श्रीमती कुसुम लता सिंहलाई दोसल्ला ओढाई बिदाइ गर्नुका साथै उहाँलाई सम्मानपत्र तथा आसरा गतिविधिलाई समेटेर तयार पारिएको फोटो एल्बमसहितको मायाँको चिनो प्रदान गर्नुभयो । साथै सोही अवसरमा नव वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको छ ।
कार्यक्रममा केन्द्रकी नवनियुक्त अध्यक्ष कुँवरले केन्द्रमा आयोजना गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने उपचाररत सदस्यहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कुँवरले लागूऔषध प्रयोगकर्ताहरुलाई उपचार गरी घर परिवार र समाजमा पुनर्स्थापन गराई उनीहरुको सुखद भविष्य निर्माण गर्ने पवित्र उद्देश्य राखी विशुद्ध कल्याणकारी र परोपकारी सेवा भावका साथ समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि लागूऔषध विरुद्दको विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा अझ परिस्कृत तथा स्तरीय तरिकाले थप कार्यक्रमहरु संचालन गर्दै जाने बताउनुभयो । आफ्नो कार्यकालमा केन्द्रको भूमिकालाई अझ थप बहुआयमिक बनाई केन्द्रको उद्देश्य प्राप्तिका लागि अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले केन्द्रको उन्नति र प्रगतीमा केन्द्रका कार्यकारिणी समितिका पदाधिकारी तथा कर्मचारीहरूबाट पूर्ण रुपमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
आसरा सुधार केन्द्रकी सचिव श्रीमती सिता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा उपचाररत सदस्यहरुका अभिभावकहरुको उपस्थिति रहेको थियो ।