बिमाबापतको रकम ठगी गर्ने गिरोहमा संलग्न थप दुई जना पक्राउ
२०७९-१२-२६
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बिमाबापत पाउने बिमा रकम ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अर्घाखाँची छत्रदेव गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ३६ वर्षीय पशुपती अधिकारी र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जिवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेका छन् ।
मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बिमा बापतको रकम मृतक आफन्तहरूलाई दिलाई दिन्छु भन्दै बिमाबापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका राम बहादुर तामाङसमेत ६ जनालाई चैत २३ गते काठमाडौं गोगंबुबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनिको लेटरप्याड लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु सहित फेला पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न अधिकारीलाई शुक्रबार काठमाडौं महानगरपालिका-११ बाट र बुढाथोकीलाई शनिबार भक्तपुर,भक्तपुर नगरपालिका-१० कमलविनायकबाट पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।