प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालय र बुढानिलकण्ठ नगरपालिकाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बुढानिलकण्ठ नगरपालिकाबीच बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ । 

बुढानिलकण्ठ नगरपालिकाको कार्यालय हात्तीगौडामा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र बुढानिलकण्ठ नगरपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो । 

सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि जडानले घटित अपराधहरूको छिटो छरितो तवरबाट अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दर्घुटना, छुटेका सामानको पहिचान लगायत विभिन्न अपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो । 

सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवम् नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताउनुभयो । सिसिटिभि जडान पश्चात त्यसको उचित रेखदेख र  मर्मत सम्भार पनि हुनेपर्नेमा उहाँले जोड दिँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । 

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम आर्यालले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिनुभयो । 

बुढानिलकण्ठ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो । बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रभित्र सिसिटिभि जडानको लागि लागत ईस्टिमेट बमोजिम ५ करोड रूपैयाँको बोलपत्र आव्हान गरी चालू आ.ब. २०७९/८० मा २ करोड ५० लाख विनियोजित रकम पेश्किवापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौता बमोजिम हुने बाँकी रकम आगामी आ.ब.२०८०/०८१ मा भुक्तानी हुने गरी बुढानिलकण्ठ नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने संख्या निर्धारण गरिने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । 

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ
२०८३-०२-१०

मोरङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा आइतबार आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान (Mega Campaign Against  Narcotics-Mega CAN ) २०८३ कार्यक्रम शुभारम्भ भएको छ । मुख्यमन्त्री कार्कीले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गर्नुभएको हो ।  जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ लागूऔषध विरूद्धको सचेतनामुलक प्लेकार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, विभिन्न संघसंस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा वर्ग सहितको प्रभातफेरी र्‍याली जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरूको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरूद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, प्रतिनिधि सभाका सांसद सन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, नेपाल सरकार गृह मन्त्रालय निति, योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सहसचिव एवम् लागूऔषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे, एबिसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध विरूद्धको ऐक्यबद्धता सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध मुक्त जिल्ला बनाउन सबैको सहकार्यका साथ सुरूवात गरेको यस महाअभियान लागूऔषध विरूद्ध सक्रिय हुँदै देशव्यापीरूपमा अघि बढ्न सफल हुने बताउनुभयो । समाजलाई अन्धकारतर्फ धकेल्दै आएको लागूऔषधको जालोलाई तोड्न यस अभियान महत्वपूर्ण हुने उल्लेख गर्दै लागूऔषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चार माध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने उहाँले बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उद्देश्य तथा मोरङ जिल्लामा लागूऔषध दुर्ब्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा कोशी अस्पतालकी डा.अजिता पौडेलले लागूऔषध दुर्ब्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नुभएको थियो । कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागूऔषध विरूद्ध सचेतनामुलक सांगीतिक प्रस्तुतिहरूका साथै लागूऔषध दुर्व्यसन र प्रभाव सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेशका प्रमुख सचिव, जिल्लास्थित नगरपालिकाका प्रमुखहरू, गाउँपालिकाका प्रमुखहरू, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका  न्यायाधीशहरू, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरू, बैंक, वित्तीय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कार्यालय, संघसंस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरिक समाज, बुद्दिजिवी लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

१० जना नगर प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८३-०१-३०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका १० जना नगर प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा १० जना नगर प्रहरीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम शुरू
२०८३-०१-२८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १७ औं समूहको सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान २० जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८३-०१-२५

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले साक्षात्कारको क्रममा सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो । प्रहरी नायव महानिरीक्षक काफ्लेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो । साथै उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै विपद्‌बाट हुन सक्ने जोखिमहरू न्यूनीकरण गर्न नेपाल प्रहरी तयारी हालतमा रहेको समेत उहाँले जानकारी गराउनुभयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्ले र सञ्चारकर्मीहरू बीच नव वर्ष २०८३ को शुभकामना आदान प्रदान समेत भएको थियो । सो अवसरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलको टोलीले आईए ड्रिल, हतियार खोल जोड अभ्यास तथा बन्धक बनाइएका व्यक्तिहरूको उद्धारको नमुना अभ्यास प्रदर्शन गरेको थियो भने नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रको टोलीले अग्नी नियन्त्रण तथा उद्धार अभ्यास, विपद् सामाग्रीहरूको प्रदर्शनी तथा विपद् तयारी सम्बन्धमा जानकारी प्रदान गरेको थियो ।  विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

एक महिनाको अवधिमा ४ सय १७ जना बिचौलियाहरू पक्राउ
२०८३-०१-१७

काठमाडौं, नेपाल प्रहरीले विगत एक महिनाको अवधिमा देशभरबाट ४ सय १७ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट १ सय २३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेका हुन् । पक्राउ मध्ये १ सय २१ जना व्यक्तिहरू उपर मुद्दा दर्ता गरिएको छ भने २ सय ९६ जना व्यक्तिहरूलाई छानविन पछि छाडिएको छ । समाजमा शान्ति सुव्यवस्था कायम राख्दै आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । वर्तमान परिपेक्षमा बिचौलिया रहित, नागरिक मैत्री, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूले सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरिदिने लगायतका प्रलोभनमा पारी दु:ख हैरानी दिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ । 

आठ दिनको अवधिमा लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना व्यक्तिहरू पक्राउ
२०८३-०१-१७

काठमाडौं, नेपाल प्रहरीले संचालन गरेको स्वीप अप्रेशन अन्तर्गत गत वैशाख ९ गतेदेखि १६ गतेसम्म विगत आठ दिनको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना व्यक्तिहरू पक्राउ परेका छन् । जसमध्ये उपत्यकाबाट ४१ जना, कोशी प्रदेशबाट ५ सय ९३ जना, मधेश प्रदेशबाट ३० जना, बागमती प्रदेशबाट ५१ जना, गण्डकी प्रदेशबाट १ सय ४० जना, लुम्बिनी प्रदेशबाट ४२ जना, कर्णाली प्रदेशबाट ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका हुन् ।     सो अवधिमा अवैध लागूऔषध गाँजा १ सय ७६ किलो ५१ ग्राम १ सय ८० मिलिग्राम, चरेस १६ किलो ८ सय ९ ग्राम ४ सय मिलिग्राम, हेरोइन १ किलो ३ सय ७२ ग्राम ८ सय ६६ मिलिग्राम, पोलेन १ किलो १ सय ४२ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार २ सय २४ एम्पुल, फेनारगन १ हजार ४ सय १७ एम्पुल, बुप्रेनोर्फिन १ हजार ७६ एम्पुल, लुपिजेसिक ४१ एम्पुल, ट्रामाडोल ६२ हजार ९५ ट्याब्लेट, नाइट्राभेट २ सय ४२ ट्याब्लेट, स्पास्मो १ सय ३ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।     लागूऔषध कारोबार लगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील छ । सबै प्रहरी कार्यालयहरूले विशेष स्वीप अप्रेशन संचालन गरी त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले लागूऔषध दुर्व्यसनीले समाज एवम् व्यक्तिगत जीवनमा पार्ने नकारात्मक असर सम्बन्धी समुदाय-प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूले स्वीप अप्रेशन संचालन गरी लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको   छ ।