प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट ईलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवनहरू उद्‍घाटन

२०८०-०१-२१

  • A
  • A-
  • A+
Share

रूपन्देही, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गर्नुभयो । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताउनुभयो । आधुनिक भवनहरूसँगै  प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नव-निर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सवैसँग आग्रह गर्नुभयो । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. धुर्व अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रहरी ब्यारेक भवन र कार्यालय प्रमुख निवास भवन नेपाल सरकारको नियमित बजेटबाट कुल ३ करोड १९ लाख १३ हजार ३ सय ३६ रूपैयाँ ३२ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो भने प्रहरी कार्यालय भवन, भान्सा घर र नागरिक सहायता कक्ष प्रदेश सरकारको नियमित बजेटबाट कुल २ करोड ४१ लाख २० हजार ४ सय ६२ रूपैयाँ २१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।  

कार्यक्रममा तिलोत्तमा, देवदह तथा सैनामैना नगरपालिकाका नगर प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।




सम्बन्धित समाचार
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

  काठमाडौं, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषधसहित पक्राउ तथा गाँजा बरामद
२०८०-०२-२४

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २६ मिलिग्रामसहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १ जना १८ वर्षीया किशोरी रहेका छन् । उक्त ठाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । पर्सा, पटेर्वा सुगौली गाउँपालिका-१ गदीपानी गाउँबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९ केजी ४ सय २० ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ ३ जना अपरिचित व्यक्तिहरूले झोला र प्लाष्टिकको बोरा छोडी फरार भएपछि प्रहरीले झोला र बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०२-२४

काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूवीच आपसी विवाद भई झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।  पीडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भन्दै फरक ब्यक्तिको फोटो राखी ईसेवा तथा खल्ती वालेटहरु खोली विभिन्न बहाना बनाई झुक्याई पीडितको बैंक खाता तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई खाताबाट अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।