प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा नवनिर्मित भवनहरू उद्‍घाटन

२०८०-०१-२१

  • A
  • A-
  • A+
Share

गुल्मी, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मी परिसरमा नवनिर्मित कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन, प्रहरी ब्यारेक, भान्सा घर तथा हिरासत कक्ष भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सहकार्य गर्ने रेसुङगा नगरपालिकालाई कदरपत्र तथा भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यलाई नेपाल सरकारले तिव्रता दिएको उल्लेख गर्दै प्रहरीका काम कारवाहीलाई सहजीकरण गरी कार्य सम्पदानको गुणस्तरलाई वृद्धि गर्न नवनिर्मित भवनहरू सहयोगी हुने बताउनुभयो ।  अपराध अनुसन्धानको सुयोग्य साधन बनाउने अभिप्रायले स्थापित नेपाल प्रहरीले अपराध अनुसन्धान तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै सबै सरोकारवाला निकायहरूसँग समन्वय गरी एकतावद्ध भएर आफ्नो भूमिका निर्वाह गरिरहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले भवन अभाव भएको अवस्थामा नवनिर्मित भवनले काम गर्न सहज हुने र प्रहरी कर्मचारीहरूको मनोबलमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर मणी पाठक र रेसुङ्गा नगरपालिका उप-प्रमुख अमृता देवी कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. धुर्व अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ६ करोड ६८ लाख २६ हजार ३ सय ५६ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्त राज पौडेल, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

उद्‍घाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मी तथा मातहत इकाईहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।


सम्बन्धित समाचार
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

  काठमाडौं, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषधसहित पक्राउ तथा गाँजा बरामद
२०८०-०२-२४

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २६ मिलिग्रामसहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १ जना १८ वर्षीया किशोरी रहेका छन् । उक्त ठाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । पर्सा, पटेर्वा सुगौली गाउँपालिका-१ गदीपानी गाउँबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९ केजी ४ सय २० ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ ३ जना अपरिचित व्यक्तिहरूले झोला र प्लाष्टिकको बोरा छोडी फरार भएपछि प्रहरीले झोला र बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०२-२४

काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूवीच आपसी विवाद भई झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।  पीडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भन्दै फरक ब्यक्तिको फोटो राखी ईसेवा तथा खल्ती वालेटहरु खोली विभिन्न बहाना बनाई झुक्याई पीडितको बैंक खाता तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई खाताबाट अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।