प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरीका कर्मचारीद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

२०८०-०२-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औं सदस्यता प्राप्‍त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।  उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भएका छन् । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामना सहित उक्त झण्डाहरु हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली सहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।

पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ । 

यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाईएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरु विरुद्ध ऐक्यवद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्‍वास लिइएको छ ।


सम्बन्धित समाचार
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

  काठमाडौं, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषधसहित पक्राउ तथा गाँजा बरामद
२०८०-०२-२४

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २६ मिलिग्रामसहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १ जना १८ वर्षीया किशोरी रहेका छन् । उक्त ठाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । पर्सा, पटेर्वा सुगौली गाउँपालिका-१ गदीपानी गाउँबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९ केजी ४ सय २० ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ ३ जना अपरिचित व्यक्तिहरूले झोला र प्लाष्टिकको बोरा छोडी फरार भएपछि प्रहरीले झोला र बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०२-२४

काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूवीच आपसी विवाद भई झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।  पीडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भन्दै फरक ब्यक्तिको फोटो राखी ईसेवा तथा खल्ती वालेटहरु खोली विभिन्न बहाना बनाई झुक्याई पीडितको बैंक खाता तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई खाताबाट अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।