४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८०-०२-३१
- A
- A-
- A+

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जनामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको हो । पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्ने विश्वास लिएको बताउनुभयो । पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई क्रमश: परिस्कृत बनाउँदै लैजाने नीति अनुरूप निश्चित मापदण्ड र प्रणालीको आधारमा पदोन्नति भएको उल्लेख गर्दै आगामी दिनमा व्यक्तिगत स्वार्थ र महत्वकांक्षा भन्दा माथि उठेर संगठनको हितका लागि एक्यवद्ध भई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । संगठनलाई प्रणाली र प्रद्धतिमा डोर्याउन सबै प्रहरी कर्मचारीहरू इमानदार हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “धैर्य र निष्ठालाई कायमै राख्न सकेमा उचित समयमा उचित मूल्याङ्कन हुन्छ ।”
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक डा. अर्जुन प्रसाद डुम्रेले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगबाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।