प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्सालस्थित राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर उद्‍घाटन

२०८०-०३-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टरको मंगलबार एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उहाँले उक्त काउन्टरको अवलोकन गर्नुका साथै त्यहाँबाट प्रवाह हुने सेवाबारे जानकारी समेत लिनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बैंकसँगको सञ्जालमा जोडिएपछि बिना धितोमा कर्जा, दुर्घटना बिमा र सेवा शुल्कमा भएको सहुलियतले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न मद्दत गरेको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकको सबै भन्दा ठूलो ग्राहक समूहमा नेपाल प्रहरी सूचिकृत हुनु खुशीको विषय भएको चर्चा गर्दै उहाँले देशभरका कुल ९५ हजार भन्दा बढी नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त सदस्यहरूले बैंकको सञ्जालमा आवद्ध भई सबै जिल्लाहरूबाट सेवा प्राप्त गरिरहेको बताउनुभयो । बैंकसँगको समझदारीले नेपाल प्रहरीका सकल दर्जाको वित्तिय साक्षरता प्रवर्द्धन गर्न एवम् वचतलाई प्रोत्साहन गर्न उल्लेख्य सहयोग प्राप्त भएको उहाँले चर्चा गर्नुभयो ।  

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी र बैंकबीच विभिन्न क्षेत्रमा समझदारी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत दुवै पक्षबीच आवश्यक समन्वय र समझदारीलाई निरन्तरता दिइने बताउनुभयो । दुवै पक्षबीचको सम्बन्धलाई सुदृढ गरी अझ गतिशिलताका साथ अगाडि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  

राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृत एवम् बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 




सम्बन्धित समाचार
नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित
२०८२-०२-१६

काठमाडौं, नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा काठमाडौं लैनचौरमा संचालन भएको साउथ एसियन रिजनल युथ टेबलटेनिस च्याम्पियनसिप २०२५ मा रजत तथा कास्य पदक हसिल गर्न सफल नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई सम्मान गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच शुभश्री श्रेष्ठलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले शुभश्रीका हजुरबुबा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक गोवर्धन श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्र हमाललाई समेत सम्मान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरी संगठनको छवि उच्च बनाउन निर्वाह गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

१२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०२-१६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका १२ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ जेठ १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना र नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ जेठ १३ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा ११ जना गरी जम्मा १२ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि बिक्रम शाह तथा प्रहरी नायव महानिरीक्षकहरू सुदर्शन प्रसाद कोईराला, बिनोद घिमिरे, दिपेन्द्र घर्ति क्षेत्री(जि.सी), दिपक रेग्मी, माधब प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरूङ्ग रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र उर्जाका साथ संस्थागत विकास, सांगठनिक सुदृढिकरण तथा शुद्धिकरण र संगठनको वृहत्तर हितका लागि सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि बिक्रम शाहले संगठनको लक्ष्य र उद्देश्य हासिल गर्न एवम् छवि उच्च बनाउन पूर्ण व्यवसायिक निष्ठा र इमानदारीतापूर्वक अझ बढि सशक्त भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०२-११

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा हुनुभएका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।  प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।   नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८:५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराउन सफल हुनुभएको थियो । 

सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ
२०८२-०२-११

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त हुनु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक थापाबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८२-०२-०१

धनकुटा, प्रहरी महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र, प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले श्रीपञ्चमी पार्क बालकेन्द्र धनकुटाको आश्रयमा रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनहरूले जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूमा मनोबल वृद्धि हुनुका साथै काम प्रति थप उत्प्रेरित हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी सबैको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै शिष्ट र सभ्य बोली, वचन एवम् व्यवहारका साथ नागरिकमैत्री र व्यावसायिक प्रहरी सेवा प्रवाहमा केन्द्रित हुन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा एवम् वस्तुनिष्ठ अपराध अनुसन्धान एवम् नियन्त्रणमा प्रहरीले सबै स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आएको चर्चा गर्दै समाजमा देखिएका विकृति एवम् विसङ्गति न्यूनीकरणमा नागरिकसँग हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आत्महत्या, लागूऔषध दुर्व्यसन तथा सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउँदै घरेलु हिंसा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराधमा थप सचेत हुनुपर्ने एवम् विपद् व्यवस्थापनमा समेत सक्रिय भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।   कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल र पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्राविधिक प्रहरी उपरीक्षक हरि डङ्गोलले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ९९ लाख ८० हजार १ सय ८५ रूपैयाँ ८५ पैसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने-प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०१-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ ।  हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्र जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई नविन ढंगले सम्पादन गर्न उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न उहाँले निर्देशन दिनुभयो । साथै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बानई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखि जनपक्षीय काम गर्न उहाँले आग्रह समेत गर्नुभयो ।  आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।यसअघि नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्य, प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णहरि शर्मा पोखरेल, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।