प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा हो : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

२०८०-०३-१७

  • A
  • A-
  • A+
Share

गोरखा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही  प्रहरी सेवा भएकोले प्रहरी कर्मचारीहरुले यसलाई मध्यनजर गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न सदैव कटिवद्ध रही काम गर्नुपर्ने बताउनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय गोरखाको आइतबार निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा उक्त कार्यालय तथा मातहतमा  कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुवँरले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले मनसुनको समय रहेकोले स्थानीय पालिकाहरुसँगको समन्वयमा स्रोत साधनहरुको व्यवस्थापन सहित प्रहरी कर्मचारीहरुले विपद् व्यवस्थापनमा सक्रिय रही उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । समाजमा हुने छुवाछूत, महिला तथा घरेलु हिंसा लगायतका घटना घटेमा तीव्र अनुसन्धान पहल गर्नुका साथै अन्य मुद्दाका फैसला कार्यान्वयन र फरार अपराधीहरूको पक्राउ, पेन्डिङ् मुद्दाहरूको फर्छ्यौटप्रति कार्यालय प्रमुखहरु थप क्रियाशील रहन उहाँले निर्देशन दिनुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरुले संगठनका नीति, निर्देशिका र प्राथमिकतालाई अर्जुनदृष्टि बनाएर व्यावसायिक निष्ठाका साथ मन, वचन र कर्मले कार्यरत रहँदै सेवाग्राहीहरुलाई नागरिकमैत्री व्यवहारका साथ उत्कृष्ट सेवा दिनुपर्नेमा जोड दिनुभयो । कानुनको निष्पक्ष कार्यान्वयन गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मिठो बोली, वचन र व्यवहारका साथ सेवा गर्ने व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा सबुत प्रमाणको खोजी गर्नुपर्ने, लिखितममा मेहनत गर्ने, पीडितहरू सँगको भेटघाट, उनीहरूको सुरक्षा र घटनाको फलोअप नियमित गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखा तथा मातहत कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०१-१०

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवम् सामुहिक भावनाका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक सुदिप थापाले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि संगठनले अंगिकार गरेको उद्देश्य र लक्ष्य प्राप्तिका लागि प्राप्त जिम्मेवारी मन, वचन र कर्मले निष्ठापूर्वक वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघबीच समझदारीपत्रमा हस्ताक्षर
२०८२-०१-०९

काठमाडौं, नेपाल प्रहरी अस्पताल महाराजगंज र नेपाल नेत्रज्योति संघबीच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्यौजु र नेपाल नेत्रज्योति संघको तर्फबाट संघका महासचिव भरतबहादुर चन्दले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. ह्यौजु र संघका महासचिव चन्दले उक्त समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति संघबीच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको चर्चा गर्दै आगामी दिनमा समेत सेवा विस्तारको लागि संघ सदैव तयार रहेको बताउनुभयो ।उक्त सम्झौता अनुसार नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघको सहकार्य र समन्वय मार्फत आँखा तथा कान उपचार सेवालाई सहज तथा प्रभावकारी बनाउने, गुणस्तरीय आँखा उपचार सेवा प्रवाह सुधार गर्न ‍जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू संचालन गर्ने, आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने, नेपाल नेत्रज्योति संघले नेपाल प्रहरी अस्तालबाट रिफर/सिफारिस भई आएका बहालवाला प्रहरी कर्मचारीहरूलाई आँखा सम्बन्धी सबै उपचार/शल्याक्रियाहरूमा शतप्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएको छ । यस सम्झौता २०८२ वैशाख ९ गतेदेखि कार्यान्वयन भई ३ वर्ष अवधिको लागि लागू हुनेछ ।उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत नेपाल नेत्रज्योति संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०८१-१२-३०

काठमाडौं, नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी २०७८ असार १५ गते भएको समझदारीमा उल्लेखित व्यवस्थामा सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक दिपक थापा र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो ।   कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सम्झौताको लागि वाणिज्य बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले सुरक्षित र समुन्नत समाज निर्माण गर्ने पवित्र लक्ष्यका साथ अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।  उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो ।  सम्झौता अनुसार नेपाल राष्ट्र बैंकले तोकेको आधारभुत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले पेशाकर्मी सरल कर्जमा १.७५ प्रतिशत, घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा २ प्रतिशत, शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर/शहिद र अशक्त प्रहरी कर्मचारी (पेन्सन खाता) राष्ट्रिय वाणिज्य बैंकको नियम अनुसार २० (बीस) वर्षसम्मको रू ५०,००,००० (पचास लाख) सम्म घर कर्जा तथा नयाँ सवारी साधन खरिद ७ वर्षको लागि गाडी कर्जा उपलब्ध हुनेछ । प्रहरी कर्मचारीहरूलाई वार्षिक दुर्घटना भई मृत्यु वा पूर्ण अपाङ्ग भएमा रू ५,००,००० (पाँच लाख) को बिमा हुनेछ । नियमअनुसार विदामा रहेका बाहेक अन्य खातावाला कर्मचारीहरू दुर्घटनाबाट घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बिमा दाबी नहुने गरी बिमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाई तथा खर्चको क्षतिपूर्ति लगायत सुविधा बिमा बापत उपलब्ध गराउने गरी नाम उल्लेख गरी बिमा गराउनु पर्नेछ । उक्त बिमाको लागि प्रतिव्यक्ति रू १०० (एक सय) शुल्क लिई बिमा गर्न सकिने छ । यसैगरी सेवा निवृत्त भएका पूर्व प्रहरी कर्मचारीहरूलाई तीन पाङ्ग्रे अटो रिक्सा खरिद तथा सञ्चालनका लागि बैंकको पेन्सनर कर्जा कार्यविधि बमोजिम कर्जा स्व: पूँजी अनुपात ८० प्रतिशत बैंक कर्जा र २० प्रतिशत स्वयमले व्यहोर्ने गरी कर्जा सुविधा प्राप्त हुने र सो कर्जा रकम सीमा कायम गर्दा ६ वर्षको पेन्सन रकम बराबर वा अटो रिक्साको परल मूल्यमा नबढ्ने गरी अधिकतम रू ५,००,००० (पाँच लाख मात्र)  मध्ये जुन कम हुन्छ सोहीको आधारमा कर्जा सीमा प्रदान गरिने छ । साथै कर्जा ५ वर्षको वा बढिमा ६० किस्तामा भुक्तानी हुने गरी अवधि कायम हुनेछ । नेपाल प्रहरी कल्याणकारी शाखाको सिफारिसमा प्रहरी परिवार, अमर/शहिद तथा अशक्त प्रहरी परिवार संलग्न रहने लघुउद्यम स्थापना, कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय स्थापना तथा सञ्चालन गर्न बैंकको विद्यमान कर्जा कार्यविधिको अधिनमा रही व्यवसायको वित्तीय आवश्यकता अनुसार कर्जा उपलब्ध हुने र सो कर्जाको बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । साथै घर कर्जा, एसएमइ तथा कृषी कर्जाको लागि कर्जा सुरक्षा बापत घर/जग्गा अचल सम्पत्ति धितो रोक्का हुने तथा नेपाल प्रहरी संगठनमा सेवा गरी निवृत्तिभरण (अवकाश) प्राप्त गरेका पूर्व प्रहरी कर्मचारीहरूको पेन्सन बचत खाता राष्ट्रिय वाणिज्य बैंकमा खोली भुक्तानी लिएको हुनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारी २०८२ वैशाख १ गते बाट लागु हुनेछ ।    उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. प्रदीप शम्शेर जबराप्रति श्रद्धाञ्जली अर्पण
२०८१-१२-३०

काठमाडौं, ७८ वर्षको उमेरमा चैत ३० गते दिवंगत हुनुभएका अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रदीप शम्शेर जबराको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित नेपाल प्रहरीद्वारा अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण समारोहको आयोजना गरियो । श्रद्धाञ्जली समारोहमा गृहमन्त्री रमेश लेखक, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू तथा नेपाली सेनाका उपरथी समेतले स्व. शम्शेरको पार्थिव शरीरमा फूलमाला चढाई अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रदीप शम्शेर जबराको पार्थिव शरीरलाई आज प्रहरी वृत्त गौशालाको प्राङ्गणमा राखी दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली अर्पण गरी तत् पश्चात पशुपति आर्यघाट सम्म शवयात्रा गरिएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू, सिनियर प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरू एवम् स्व. शम्शेरका आफन्तजनले समेत उहाँको पार्थिव शरीरमा फुलमाला चढाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. प्रदीप शम्शेर जबराले २०२७ पुस १४ गते प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरी २०५७ कात्तिक १५ गतेदेखि २०५९ पुस १४ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रही अनुकरणीय प्रहरी अधिकृतको रूपमा संगठनमा उच्च व्यवसायिक छवि निर्माण गर्नुभएको थियो ।  

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न
२०८१-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा आउने सर्वसाधारण नागरिकको सेवा गर्ने हेतुले अस्पताल परिसरमा नवनिर्मित ‘नेपाल प्रहरी अस्पताल स-शुल्क फार्मेसी’को उद्‍घाटन गर्नुका साथै उक्त फार्मेसीको अवलोकन समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८१’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुलाई इकोकार्डियोग्राफी मेसिन हस्तान्तरण गर्नुका साथै लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दीपा नुच्छे प्रधानलाई आईसियु भेन्टिलेटर एण्ड प्यासेन्ट मोनिटर मेसिन हस्तान्तरण गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक थापाले अस्पतालको नवनिर्मित फार्मेसीको लागि लजेस्टिक सहायता गर्नुहुने Key Concept Nepal प्रा.लि काठमाडौंका कार्यकारी अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी वर्षभरिको  कार्यसम्पदान र सेवा प्रवाहको आधारमा उत्कृष्ट विभाग अन्तर्गत मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसापत्र समेत उहाँले प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास, विस्तार एवम् अस्पताललाई हालको स्तरसम्म पुर्‍याउन सम्पूर्ण अग्रजहरूले निर्वाह गर्नुभएको भूमिका तथा योगदानको प्रशंसा गर्नुभयो । प्रहरी कर्मचारी तथा तिनका परिवारजनले प्राप्त गर्ने सेवा सुविधा र गुणस्तरको आधारमा प्रहरी कर्मचारीको मनोबल, उत्प्रेरणा र हौसलामा समेत अभिवृद्धि भई कार्यसम्पादनमा सकारात्मक नतिजा आउने हुँदा यसतर्फ विशेष सजगता र मानवीय संवेदना अपनाई अस्पतालले सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको मानवीय व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन र समग्र संगठनलाई केन्द्रबिन्दुमा राखि स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय एवम् सेवाग्राहीमैत्री बनाउँदै नेपाल प्रहरी अस्पताललाई “Center For Health Excellence” को रूपमा विकास गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीहरूलाई आव्हान गर्नुभयो । अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्न तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती रूपा थापाले हिटिङ गिजर र फिजियोथेरापी ट्रेड मिल अस्पतालका फिजियोथेरापी विभाग प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. कुशल रानाभाटलाई हस्तान्तरण  गर्नुभयो । साथै संघकी अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरी आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्नुभयो । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सन्जय विक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन तथा नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू, भिजिटिङ कन्सल्टेन्टहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई शुभकामना तथा ब्यानर हस्तान्तरण
२०८१-१२-२५

काठमाडौं, सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएकी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरिएको   छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।  सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा सम्बन्धी अभियान र आरोहण कार्यक्रम सम्बन्धी सङ्क्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी नायव महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।