उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८०-०३-२१
- A
- A-
- A+
काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ । सोही अवसरमा उहाँले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो ।
निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने र नागरिकसँग प्रथम सम्पर्क हुन जाने राज्यको निकाय नै प्रहरी भएकोले जनताले सरकारको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर जनमुखी प्रहरी सेवा प्रदान गर्नको लागि दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी शिक्षालयले गरेको प्रयास अत्यन्तै सराहनिय रहेको उहाँले उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन-कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरि कानूनी राज्यको प्रत्याभूति दिन सक्ने प्रहरी जनशक्ति उत्पादन गर्न निर्देशन दिनुभयो । ‘प्रहरी जागिर मात्र होईन सेवा पनि हो’ भन्ने भावनालाई आत्मसाथ गरी प्रहरी संगठनको गौरव र गरिमालाई नयाँ उचाईमा पुर्याउने गरी काम गर्ने सिप सहितको प्रशिक्षण नवप्रवेशी प्रहरी अधिकृत तथा जवानहरुलाई प्रदान गर्न शिक्षालयलाई आग्रह गर्नुभयो ।
शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।