१५ जना प्रहरी कर्मचारीलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान
२०८०-०३-२५
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखाले १५ जना प्रहरी कर्मचारीहरुलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो शाखामा संचालित दोस्रो समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखामा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले कुनै पनि अपराधको अनुसन्धानको सिलसिलामा फोटोहरू महत्वपूर्ण प्रमाणको रूपमा प्रयोग हुने भएकोले सोही अनुरूप प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभयो । तालिममा सिकेका ज्ञान, सीप, नविन विधि, प्रविधि र कौशललाई सबै प्रशिक्षार्थीहरूले आ-आफ्नो कार्यक्षेत्रमा इमानदारिताका साथ प्रयोग गर्दै उत्कृष्ट ढङ्गले काम गरी फोटोग्राफीको क्षेत्रबाट संगठनको छविलाई उच्च राख्न थप योगदान पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक घन बहादुर थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ १६ गतेदेखि संचालित ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी जवान १४ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।