प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न

२०८०-०४-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । 

गृह मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौता आदान प्रदान समेत गर्नुभयो ।

उक्त अवसरमा गृह सचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गर्नुभयो । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उहाँले उल्लेख गर्नुभयो । सम्झौतामा उल्लेख भएका विषयहरू र सम्पादन गर्नुपर्ने कार्यहरू उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आ-आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवम् लगन उच्च हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच उक्त सम्झौता भएको हो । 



सम्बन्धित समाचार
समाजमा शान्ति सुरक्षा, सामाजिक सद्‍भाव, एकता र सहिष्णुता कायम गर्न सबै सुरक्षा निकायहरूले व्यावसायिक समन्वयकासाथ कर्तव्य निर्वाह गर्नुपर्ने - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ
२०८०-०६-१७

महोत्तरी, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा शान्ति सुरक्षा, सामाजिक सद्‍भाव, एकता र सहिष्णुता कायम गर्न सबै सुरक्षा निकायहरूले आफूलाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै व्यावसायिक समन्वयका साथ कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।महोत्तरीको बर्दिवासस्थित गौतम होटलमा बुधबार आयोजित समसामयिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले सबै सुरक्षा निकायहरू एकातावद्ध भएर निर्दिष्ट जिम्मेवारी पूरा गर्न यस अन्तरक्रियाले स्पष्टता र उर्जा प्रदान गरेकोले सोही अनुरूप सुरक्षा निकाय क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो । चाडपर्वलाई लक्षित गरेर शान्ति सुरक्षाको अवस्था मजबुद, यातायात तथा दैनिक उपभोग्य वस्तुहरूको उपलब्धतामा सहज पहुँच गराउन ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिम,  मधेश प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव र मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव तथा मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम धनुषाका प्रमुख सचिव दिनेश घिमिरेले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै शान्ति सुरक्षा कायम राखी आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सहकार्य जरूरी रहेको बताउनुभयो । उक्त अवसरमा गृह सचिव दिनेश भट्टराईले पछिल्लो समयमा देखिएका नवीनतम् सुरक्षा चुनौतिहरूलाई मध्यनजर गरी भरपर्दो सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउन सबैको समन्वय र सहकार्य जरूरी रहेको बताउनुभयो । साथै उहाँले शान्ति सुरक्षा कायम राख्न सबै सुरक्षा निकायहरूले थप सतर्कता अपनाई कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कानून कार्यान्वयन, शान्तिसुरक्षा र अमन चयन कायम राख्न आजको अन्तरक्रिया कार्यक्रम फलदायी हुनुका साथै भावी रणनीति एवम् कार्यदिशा तय गर्न समेत उपलब्धिमूलक हुने विश्वास व्यक्त      गर्नुभयो । सीमावर्ती क्षेत्रमा संगठित रूपमा हुने अपहरण, लागूऔषध ओसारपसार, हातहतियार तस्करी, सुनको अवैध ओसार पसार, तस्करी, नक्कली मुद्राको कारोबार जस्ता गतिविधिले समग्र राज्यको आर्थिक विकासलाई प्रत्यक्ष असर पारेको बताउनुहुँदै यस्ता गतिविधिलाई पूर्णरूपमा निरुत्साहित र नियन्त्रणको लागि शून्य सहनशीलताका साथ सरोकारवाला निकायबीच परिणाममुखी समन्वय गरी सक्रिय रूपमा काम गर्न प्रहरी संगठन क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो । अन्तरक्रियाको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओम प्रकाश जोशी एवम् गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेश जनकपुरधामका निमित्त सचिव उत्तम खेरलले समेत सुरक्षा सम्बन्धी आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।  सो अवसरमा गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुले समग्र प्रदेशको वर्तमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी, सर्लाही र सिरहाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रदेश प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रदेशस्तरका अध्यक्ष एवम् प्रतिनिधिहरू, प्रदेश नागरिक समाजका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।   

प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूले दत्तचित्त भई कार्य सम्पादन गर्नुपर्ने - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ
२०८०-०६-०८

मोरङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावकारी सीमा सुरक्षा व्यवस्था मिलाउन र शून्य शहनशीलताको नीति अनुरुप भ्रष्टाचार नियन्त्रणका लागि सबै सुरक्षा निकायहरू एक आपसमा समन्वय गर्दै कार्य सम्पादन गर्नुपर्ने बताउनुभएको छ । विराटनगरको बिग होटलमा सोमबार आयोजित सुरक्षा सम्बन्धी समसामयिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले सुरक्षा निकायहरूले एक आपसमा समन्वय एवम् सहकार्य गर्दै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा देखिएका विभिन्न समस्याहरूको समाधानको लागि थप सक्रिय हुनुपर्नेमा जोड   दिनुभयो । कार्यक्रममा गृह सचिव दिनेश भट्टराईले हालको सुरक्षा चुनौतिहरूलाई मध्यनजर गरी भरपर्दो सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाउन र आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सबैको समन्वय र सहकार्य जरूरी रहेको बताउनुभयो । प्रदेशको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन नागरिकहरूमा सेवा प्रवाहको लागि सहजिकरण गर्दै विकास निर्माणलाई गति दिन र सु-शासन कायम गर्न सुरक्षा निकायलाई उहाँले निर्देशन दिनुभयो । सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा. दिपक काफ्लेले प्रदेशको सुरक्षा व्यवस्थामा सबै सुरक्षा निकायको निरन्तर सहकार्य र समन्वय भइरहेको साथै चाडपर्व समेत नजिकिँदै गरेको अवस्थामा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकको मौलिक हक र अधिकारको संरक्षण गर्न नेपाल प्रहरी सदैव गम्भीर रहेको उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी अहोरात्र सक्रियताका साथ खटिएको बताउनुभयो । खुल्ला सिमानाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रणमा सम्पूर्ण सुरक्षा निकायहरूले आपसी समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले समेत सुरक्षा सम्बन्धी आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुले समग्र प्रदेशको वर्तमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रदेश प्रमुखहरू, झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो भने पहाडी ८ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले भर्चुअल माध्यमद्वारा सहभागिता जनाएका थिए । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८०-०३-२१

काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ । सोही अवसरमा उहाँले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो ।निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने र नागरिकसँग प्रथम सम्पर्क हुन जाने राज्यको निकाय नै प्रहरी भएकोले जनताले सरकारको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर जनमुखी प्रहरी सेवा प्रदान गर्नको लागि दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी शिक्षालयले गरेको प्रयास अत्यन्तै सराहनिय रहेको उहाँले उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन-कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरि कानूनी राज्यको प्रत्याभूति दिन सक्ने प्रहरी जनशक्ति उत्पादन गर्न निर्देशन दिनुभयो । ‘प्रहरी जागिर मात्र होईन सेवा पनि हो’ भन्ने भावनालाई आत्मसाथ गरी प्रहरी संगठनको गौरव र गरिमालाई नयाँ उचाईमा पुर्‍याउने गरी काम गर्ने सिप सहितको प्रशिक्षण नवप्रवेशी प्रहरी अधिकृत तथा जवानहरुलाई प्रदान गर्न शिक्षालयलाई आग्रह गर्नुभयो । शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो । 

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न
२०८०-०३-११

काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम, २६ जुन २०२३ राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा सोमबार सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरुमा गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयहरु, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, भद्रकाली हुँदै राष्ट्रिय सभागृहमा आएर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले लागूऔषधसँग सम्बन्धित लेखरचना समेटिएको गृह मन्त्रालयद्वारा प्रकाशित ‘सुरक्षित जीवन’ नामक जर्नल २०औँ संस्करणको विमोचन गर्नुका साथै दिवसलाई सफल पार्न सहयोग गर्ने नेपाल प्रहरी  संगीत विद्यालय, सेभ द चिल्ड्रेन, रिकभरि नेपाल लगायतका विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले लागूऔषध दुरूपयोग रोकथाम र नियन्त्रणका विषय बहुसरोकारको विषय भएकोले सम्वद्ध निकायहरूको समन्वय र सहकार्यबाट लागूऔषध उत्पादन, विक्री वितरण, संचय  र ओसारपसार नियन्त्रणको साथै उपचार तथा पुनस्थापना, जोखिम न्यूनीकरण, जनचेतनालाई अभियानको रूपमा संचालन गरी तीनै तहको सरकारको नीति कार्यक्रममा मूलप्रवाहीकरण गरी संचालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । लागूऔषध अपराध विरूद्ध राष्ट्रिय एक्यवद्धता जुटाउन सबै पक्षबाट इमान्दार प्रयास आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।  उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै गृह सचिव दिनेश भट्टराईले लागूऔषध नियन्त्रण र नियमनको मुख्य जिम्मेवारी रहेको गृहमन्त्रालयले जिम्मेवारी निर्वाह गर्न गैरसरकारी संघसंस्था, नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै समाजको साझा उद्देश्य प्राप्ती गर्न आफ्ना गतिविधिहरू निर्देशित र केन्द्रीकृत गर्दै आएको बताउनुभयो ।   सहसचिव तथा मुख्य औषध नियन्त्रण अधिकारी रूद्रादेवी शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र वस्नेत, एफडिडिआरको तर्फबाट प्रशान्त शर्मा, रिकभरिङ नेपालको तर्फबाट विष्णु फुँयाल र नेसफाडाको तर्फबाट ऋषि ओझाले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘लागूऔषध दुरूपयोग विरुद्धको ऐक्यबद्धता: व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले कविता वाचन तथा नृत्य प्रस्तुती गरेका थिए ।   गृह सचिव दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, गृहमन्त्रालयका महाशाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।  

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा योग विज्ञान शिविर तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
२०८०-०३-०४

काठमाडौं, नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार एक दिवसीय योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अंगको रूपमा लिँदै आएको चर्चा गर्नुभयो । योग अभ्यासलाई जीवनको अभिन्न अंग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्तिलाई स्वच्छ एवम् समाजलाई पनि अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  योग भनेको योग अभ्यास मात्र नभई यसको महत्वलाई आत्मसात गर्दै आफू र समाजलाई समेत अभ्यास गराउनुपर्ने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “योग अभ्यास एवम् ध्यानले शरीरिक एवम् मानसिक रूपले स्वच्छ बनाउन, जागरूक, संतुलित बनाउन र आफूलाई रूपान्तरण गर्ने प्रकृयामा योगदान पुर्‍याउँछ ।” सरकारको नीति तथा कार्यक्रममा योग र ध्यानलाई संस्थागत रूपमा नै अगाडि बनाउन प्रोत्साहित गर्न आफूले पहल गरेको चर्चा गर्दै उहाँले गृहमन्त्रालय मार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, प्रशासनिक क्षेत्र एवम् कारागार समेतमा योग शिविर संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीले गर्दै आएका कामप्रति गर्व गर्दै आगामी दिनमा अझ बढी गर्व एवम् प्रतिष्ठा स्थापित गर्न सम्पूर्ण प्रहरी कर्माचारीहरूले कर्तव्यबोधका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरता एवम् यसबाट लाभग्राही हुने अवसरको लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।  निश्चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न सकिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “योग व्यक्तिको शरीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकोले स्वस्थ व्यक्ति र सुखी समाजको निर्माण योगबाट सम्भव छ । योग गर्ने व्यक्तिमा सकारात्मक सोच विकास भई नकारात्मकतालाई न्यूनीकरण गर्ने र सकारात्मक सोचले रिस द्वेष एवम् प्रतिशोधको भावनालाई समेत कम गर्दछ, फलस्वरूप यसको प्रभावबाट समाजमा हुने अपराधहरूमा पनि कमी ल्याउन मद्दत गर्दछ ।” शान्त, धैर्यवान भई निर्णय गर्नुपर्ने प्रहरी अधिकृत तथा जवानहरूको मन एवम् मस्तिष्क स्थिर हुन जरूरी रहेको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीमा नियमित योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने लक्ष्यसहित नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।  सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह-केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो भने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो ।  पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षा बारेमा मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।   संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा विश्वभर मनाउन थालिएपछि यस वर्ष पतंजली योग समिति नेपालको तत्वावधान र नेपाल प्रहरीको आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।  कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही नेपाल प्रहरीका कर्मचारी सम्मानित
२०८०-०२-१९

काठमाडौं, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवस शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाईरेक्टर मिङ्‍मा डेविड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गर्नुभयो । साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गर्नुभयो । उक्त झण्डा प्रहरी महानिरीक्षकमार्फत इन्टरपोल हेड अफ एनसिबिको आगामी बैठकमा इन्टरपोल प्रमुखलाई हस्तान्तरण गरिने छ भने अन्य सामग्री नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी संग्राहलयमा राखिने छ ।  समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा पनि प्रहरी सेवामा रहेर यसै प्रकारले राष्ट्र र संगठनको गौरव स्थापना गर्ने कार्यमा सफलता प्राप्तिको लागि शुभकामना व्यक्त गर्नुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रण, तस्करी नियन्त्रण लगायत हरेक क्षेत्रमा राष्ट्रले दिएको जिम्मेवारी नेपाल प्रहरीले सफलता पूर्वक गौरवका साथ पूरा गर्दै आएको चर्चा गर्दै उहाँले नेपाल सरकार सदैव नेपाल प्रहरीको भूमिकाप्रति अत्यन्तै प्रसन्नताका साथ प्रोत्साहित गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।  सरकारको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीले देश र जनताको सेवालाई केन्द्रबिन्दुमा राखेर आफ्नो गौरव र प्रतिष्ठा कायम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत आफ्नो कार्यसम्पादनलाई गम्भीरतापूर्वक वहन गरी आफूलाई रूपान्तरण गर्ने संकल्प गर्न उहाँले अनुरोध गर्नुभयो ।   सो अवसरमा आभार सहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यस आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापहरू विरुद्ध ऐक्यवद्ध रहेको सकारात्मक सन्देश दिन सफल भएको चर्चा गर्नुभयो । साथै उहाँले समयको विकासक्रमसँगै सिर्जित अपराधका नौलो आयामहरूले प्रहरी समक्ष ल्याएका थप चुनौतीहरूको नियन्त्रणका लागि प्रहरीलाई विभिन्न तरिकाले सक्षम बनाउन इन्टरपोलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख    गर्नुभयो । नेपाल प्रहरीको उपस्थितिले विश्वभरिका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति वृद्धि हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन एवम् अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । आरोहणको लागि सहयोग पुर्‍याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागलगायत अन्य संघ संस्था तथा सरोकारवाला निकायप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य तथा इन्टरपोल र सम्मान कार्यक्रमका बारेमा जानकारी दिनुभएको उक्त समारोहमा वि.सं. २०३३ सालमा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै टुकुचे हिमाल सफलतापूर्वक आरोहण गर्ने ९ सदस्यीय टोलीमध्येका अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक कमल भण्डारी र सर्वोच्च शिखर सगरमाथा आरोही प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले आरोहण गर्दाको आ-आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा आरोहण सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो ।  सम्मान समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिवहरू, पर्यटन विभागका महानिर्देशक, विभिन्न मन्त्रालय एवम् पर्यटन तथा आरोहणसँग सम्बन्धित संघ संस्थाका आमान्त्रित अतिथिहरू लगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।