प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०८०-०५-०४

  • A
  • A-
  • A+
Share

 काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८०” को विमोचन समेत गर्नुभयो । 

उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले विगत लामो समयदेखि आँखा उपचार र मोतिविन्दुको शल्यक्रिया गरी आफूलाई पूर्ण रूपमा आँखा उपचारको क्षेत्रमा समर्पित राखी विश्वसामु अन्धोपन निवारणमा नेपाललाई अव्वल स्थान दिलाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका संस्थापक एवम् कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रूइतलाई सम्मानपत्र प्रदान गर्नुभयो । 

सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती संघले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरी संगठनलाई अझ प्रभावकारी बनाई प्रहरी अधिकृत तथा जवानहरूको मनोवल उच्च राख्न संघको समेत सक्रिय भूमिका रहने हुँदा त्यसतर्फ सशक्त रूपमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । विभिन्न क्षेत्रमा समाज सेवामा भूमिका निर्वाह गर्ने सवै संस्थालाई एकिकृत गर्दै आपसी सहयोगका साथै ज्ञान, सीपको प्रयोग गरेर सम्वृद्ध समाज निर्माण गर्ने नीति तय गर्दै सकारात्मक कदम चाल्नेतर्फ छलफल भइरहेको उहाँले बताउनुभयो । 

समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यौनजन्य हिंसा, जवरजस्ती करणीका पीडित तथा प्रभावितलाई उद्धार, संरक्षण र पुनर्स्थापनाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने रक्षा नेपालका अध्यक्ष मेनुका थापा एवम् सामाजिक सेवाको क्षेत्रमा सराहनीय तथा प्रशंसनीय कार्यको उच्च कदर गर्दै नेपाल स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेल, मेरूदण्ड पक्षघात समूह नेपाल माकलवारी काठमाडौंका संस्थापक अध्यक्ष ऋषिराम ढकाल र प्राणनाथ माईती वृद्धाआश्रम पनौती काभ्रेपलाञ्चोकको संस्थापक अध्यक्ष रघुनाथ तिमल्सिनालाई सम्मानपत्र प्रदान गर्नुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रसेवकको सहचरीका रूपमा सहधर्मिणीहरुको एकताको प्रतिक र संगमस्थलको रूपमा संघले थप ऊर्जाशील भएर सेवाका नवीन क्षेत्रको पहिचान गरी आफ्नो दायरा अझ फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी श्रीमती संघले सोही प्रकृतिका अन्य संघहरुबाट भएका असल अभ्यासहरुको आदान-प्रदान गरी कल्याणका कार्यक्रमलाई अझ वृहत र प्रभावकारी बनाउन जरूरी रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल प्रहरीका परिवारको लागि थप कल्याणकारी क्षेत्रको पहिचान गरी कार्यक्रमलाई कार्ययोजनामा समावेश गरेर कार्यान्वयनमा ल्याउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । 

समारोहमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले संघले सामाजिक क्षेत्रमा पुर्‍याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा संघले प्रवाह गर्ने सेवालाई अझ फराकिलो बनाउदै समाजलाई सुदृढ रूपमा अगाडि बढाउन संघको क्रियाशील भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । महिलाको सहभागिता अर्थपूर्ण हुनुपर्ने उल्लेख गर्दै काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी श्रीमती संघसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।  

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवं उल्लेखनीय कार्यको उच्च कदर गर्दै सपनाको चाहना, समृद्ध नेपाल संस्थाकी अध्यक्ष सपना रोका मगर, स्टार हस्पिटल प्रालिका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत दिपक घिमिरे, कलेज अफ विजनेस म्यानेजमेन्टका संचालक एवं प्रधानाध्यापक सि.ए. सुमन न्यौपाने, नेपाल पुलिस स्कुल गरुडा रौतहटकातर्फबाट प्रधानाध्यक विना झालाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले २०७९ सालको एसईई परीक्षामा प्रहरी विद्यालयहरूबाट सर्वोत्कृष्ट अंक ल्याउन सफल नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकमा अध्ययनरत छात्र ईमोन गौतम नेपाल र नेपाल प्रहरी स्कुल धरान सुनसरीमा अध्ययनरत छात्र आभुषण तिम्सिनालाई प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । 

समारोहमा संघकी अध्यक्ष कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघलाई आजको अवस्थासम्म पुर्‍याउन विभिन्न माध्यमहरुद्वारा सहयोग उपलब्ध गराउनुहुने महानुभावहरु, संघ संस्थाहरु तथा सम्पूर्ण सहयोगी हातहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो । आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको निरन्तरताको अपेक्षा रहेको उल्लेख गर्दै संघले सेवाको क्षेत्र विस्तार गरी प्रहरी परिवार तथा सन्ततीहरूको हितका साथै सामाजिक, मानव कल्याणकारी एवं परोपकारी सेवाको क्षेत्रमा अझ नवीन कार्यहरू संचालन गरी सेवा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रिनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो ।  सो अवसरमा संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । 

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, संघका संस्थापक अध्यक्ष बसुन्धारा लामा, गृह मन्त्रालय तथा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सैनिक श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत तीन वटै संघका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०८२-०३-०९

काठमाडौं, लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा सोमबार केन्द्रमा आयोजित कार्यक्रममा सोही केन्द्रकी अध्यक्ष श्रीमती रूपा थापाले प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो । केन्द्रकी अध्यक्ष थापाले ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरूपयोग विरूद्ध ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । लागूऔषधको असर र यसको प्रभावबारे आम जनसमुदायमा अभियानमूलक सचेतना विकास गर्नु र वास्तविकतबारे सबैलाई जानकारी गराई लागूऔषध  नियन्त्रणमा समुदायको भूमिकालाई बढाउन अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।  केन्द्रकी सचिव श्रीमती शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण
२०८२-०२-३०

काठमाडौं, ३० जेठ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा भट्टले विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । सो अवसरमा भट्टले विपद्को समयमा नेपाल प्रहरीले खेलेको भूमिका सह्रानीय रहेको चर्चा गर्दै विपद्‍को समयमा आम नागरिकको उद्दार तथा राहत कार्यमा अग्रसर एवम् क्रियाशील भई कार्य गर्नुपर्ने बताउनुभयो । विपद् व्यवस्थापन कार्यमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणले थप सहयोग र समन्वय गर्ने उहाँले उल्लेख गर्नुभयो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणका सहसचिव बन्धु प्रसाद बास्तोलाले विपद्का सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै नेपाल प्रहरीमा विपद् व्यवस्थापन कार्यालयको स्थापना तथा उद्देश्य सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो । निरीक्षण कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठ, उपसचिव सुरेश सुनार, उपसचिव निशान राज गौतम लगायतका प्राधिकरणका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

१६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान
२०८२-०२-२७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले १६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम पाँचौ समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।    तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।      कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २ जना गरी जम्मा १६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीद्वारा २२ वटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण
२०८२-०२-२५

काठमाडौं, विभिन्न मितिमा चोरी भएका २२ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १० वटा मोटरसाइकल र १२ वटा स्कुटर गरी २२ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्‍वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण
२०८२-०२-२२

काठमाडौं, विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफतलापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याउनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा ओढाई सम्मान समेत गर्नुभएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे २९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनु भएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।   

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे
२०८२-०२-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक घिमिरेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  साथै सोही सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह-प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको उक्त सचिवालयले जनाएको छ ।